धेरै पदक जितेपछि चीनको सफलताप्रति आशंका

लन्डन, १९ साउन । जारी लन्डन ओलम्पिक खेलकुदमा चीनले पदकतालिकामा आफ्नो अग्रता कायमै राखेको छ । यसबीचमा पदक जितेर मात्र होइन डोपिङ, कोड अफ कन्डक्टको खुला उल्लंघन गरेको आदि आरोप लगाई खासगरी पश्चिमी सञ्चार र पश्चिमी देशबाट चीनलाई विवादमा लगातार तान्ने काम भइरहेको छ । त्यसैकारण चीनबारे विवादका यी समाचार केही दिनयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाइरहेका छन् ।
आफ्ना खेलाडीलाई अनावश्यक विवादमा तानेको भन्दै चीनले पश्चिमा सञ्चारमाध्यमविरुद्ध आक्रोश व्यक्त गरेको छ । अप्रत्यासित नतिजा निकाल्दै स्वर्ण जितेपछि चिनियाँ खेलाडी अहिले चर्चाको शिखरमा छन् । तर यसबीचमा डोपिङ र आचारसंहितको प्रसंग पनि उनीहरूविरुद्ध उठिरहेको छ, भलै प्राय: चीनले सफाइ पाएको छ । चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले अनावश्यकरूपमा चिनियाँ खेलाडीलाई विवादमा तानेको भन्दै पश्चिमा सञ्चारमाध्यमविरुद्ध आक्रोश पोखेको हो । ‘अनावश्यक प्रसंग निकालेर पश्चिमा सञ्चारमाध्यमले चिनियाँ खेलाडीविरुद्ध पूर्वाग्रही ढंगले आक्रोश पोखिरहेका छन् ।’ सरकारद्वारा सञ्चालित समाचार एजेन्सी सिन्ह्वा तब आक्रोशित बन्यो जब १६ वर्षीय किशोरी यी सिवेनले पौडीमा दुई स्वर्णपदक जितेपछि उनीमाथि डोपिङको आशंका गरियो र यो विषय एकाएक विश्वभर फैलियो ।
सिन्ह्वाका अनुसार सिवेनले धेरैवटा डोपिङ परीक्षण पार गरे पनि यसरी उनीविरुद्ध डोपिङको आशंका हुनु चिनियाँ खेलाडीविरुद्ध एकमुष्टरूपमा आक्रोश हो । ‘सबै कुरा जान्दाजान्दै पश्चिमा सञ्चारमाध्यमले आँखा बन्द गरेर चिनियाँ खेलाडीविरुद्ध लागिरहेका छन्,’ सिन्ह्वाले भनेको छ ।
चीनकै अर्को तर पार्टी पत्रिका पिपुल्स डेलीले गहिरो रूपमा गाडिएको पूर्वाग्रहका कारण पश्चिमा सञ्चारमाध्यमले अन्धो भएर बेवास्ता गरिरहेको आरोप लगाएको छ । ‘चिनियाँ खेलाडीको क्षमतामाथि आशंका गरेर उनीहरू (पश्चिमा सञ्चारमाध्यमले हाम्रा खेलाडीको प्रदर्शनलाई प्रभाव पार्न खोजिरहेका छन् । तर चिनियाँ खेलाडीको मोरालिटी गिर्नेछैन,’ पिपुल्स डेलीले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ । ‘वर्षौंदेखिको कडा मिहिनेत र परिश्रमका कारण पदक जितेका चिनियाँ खेलाडीविरुद्ध धावा बोल्नु पश्चिमा सञ्चारमाध्यमको गैरजिम्मेवारीपन हो,’ सिन्ह्वाले भनेको छ ।

अमेरिकाको आशंका
अमेरिकी पौडी प्रशिक्षक संघका कार्यकारी निर्देशक तथा विश्व पौडी महासंघका प्राविधिक सल्लाहकार जोन लिओनार्दले कीर्तिमानी पौडीवाज चिनियाँ यी सिवेनप्रति आशंका व्यक्त गरेका छन् । ४ सय मिटर इन्डिभिजुअल मेड्लेमा विश्व कीर्तिमानी समयसहित स्वर्णपदक जितेकी सिवेनले शक्तिवद्र्धक औषधि प्रयोग गरेको हुन सक्नेप्रति आशंका गरेका हुन् । यस विषयमा आइओसीले सिवेनलाई सफाइ दिइसकेको छ । शक्तिवद्र्धक औषधि प्रयोग गरेको खेलाडी जसरी सिवेनले प्रदर्शन गरेको भन्दै लिओनार्दले उनको प्रदर्शन प्राकृतिक रूपमा असम्भव भएको बताएका छन् । पौडीमा रहेको अमेरिकाको बलियो प्रभावलाई चीनले यसपटक नराम्रोसँग झड्का दिएको छ ।

छानबिन गर्न तीनवटै देशलाई निर्देशन
अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) ले अनुकूल ड्रका लागि खेल हार्न प्रयास गरेको अभियोगमा एक दिनअघि निष्कासन गरिएका तीन देशका चार जोडी महिला ब्याडमिन्टन खेलाडीका प्रशिक्षकमाथि अनुसन्धान गर्न सम्बन्धित देशका ओलम्पिक कमिटीलाई निर्देशन दिएको छ ।
आइओसी प्रवक्ता मार्क एडम्सले भने, ‘हामी चीन, दक्षिण कोरिया र इन्डोनेसिया तीनवटै राष्ट्रका ओलम्पिक कमिटीलाई आ–आफ्नो देशका प्रशिक्षकमाथि अनुसन्धान थाल्ने निर्देशन दिएका छौँ ।’ टिम प्रशिक्षक र अफिसियल दोषी छन्/छैनन् भन्ने विषयमा सुस्पष्ट हुने उनीहरूलाई आइओसीले यस्तो निर्देशन दिएको हो । दक्षिण कोरियाको दुई तथा चीन र इन्डोनेसियाको समान एक जोडीलाई अनुसन्धानपछि अयोग्य घोषणा गरेको थियो ।
यसैबीच विश्व ब्याडमिन्टन महासंघले ब्याडमिन्टनतर्फ महिला युगलका सबै राउन्ड रोविन खेलको अध्ययन गर्ने भएको छ । ‘हामीसँग सम्पूर्ण खेलको भिडिओ प्राप्त भएको छ,’ महासंघ उपाध्यक्ष पैसान रेङसिकिट्फोले भने, ‘प्रतियोगिता सकिएपछि यसबारे अध्ययन हुनेछ ।’

निकालिएपछि सन्न्यास लिइन् यु याङले
अनुकूल ड्रका लागि खेल हार्न प्रयास गरेको अभियोगमा अघिल्लो दिन निष्कासित ब्याडमिन्टनतर्फ चिनियाँ महिला युगल जोडीमध्येकी एक खेलाडी यु याङले सन्न्यासको घोषणा गरेकी छन् । विश्व ब्याडमिन्टन महासंघले साविक विजेतासमेत रहेको याङको चिनियाँ जोडीसहित तीन देशका चार महिला युगल जोडीलाई अयोग्य घोषित गरेको थियो । घटनालगत्तै चिनियाँ सरकारी अधिकारीले लन्डन ओलम्पिक टिम लिडर र निष्कासित आफ्ना खेलाडीलाई सार्वजनिक रूपमा माफी माग्न निर्देशन दिएको थियो ।
‘यो मेरो अन्तिम प्रतियोगिता हो । गुडवाई विश्व ब्याडमिन्टन महासंघ अनि गुडवाई मेरो प्रिय ब्याडमिन्टन’ याङले आफ्नो ब्लगमा लेखेकी छन्, ‘तपार्इंहरूले हाम्रो सपनामाथि प्रहार गर्नुभएको छ । साँच्ची भन्ने हो भने म कहिले पनि बिर्सन सक्नेछैन ।’ वाङ जिआवलीसँग मिलेर याङ शीर्ष वरीयताप्राप्त जोडीका रूपमा यस प्रतियोगितामा सहभागी थिइन् ।
टेबलटेनिसमा चीनको प्रभाव कायमै
टेबलटेनिसमा चीनले आफ्नो प्रभाव कायमै राखेको छ । महिला र पुरुष दुवैको एकल स्पर्धामा चीनका खेलाडीले स्वर्ण र रजतपदक जित्ने पक्का भएको छ ।
पुरुषतर्फ बिहीबार विश्व च्याम्पियन झाङ जाइक र वाङ हाओले फाइनल यात्रा तय गरे । सेमिफाइनलमा झाङले जर्मन दिमित्रिज ओभ्टकेरोभलाई ४–१ ले हराए भने वाङले ताइवानका चुहाङ ची–युआनलाई ४–१ ले पराजित गरे । ‘म विश्वास दिलाउँछु, फाइनलमा हामी निकै राम्रो खेल्नेछौँ,’ सेमिफाइनल जितेपछि फाइनलमा आफ्नै देशका खेलाडीसँगको भिडन्तबारे झाङले भने । झाङ विश्व नम्बर–१ पनि हुन् । उदीयमान खेलाडी २४ वर्षीय झाङले गत वर्ष भएको विश्व च्याम्पियनसिपमा वाङलाई पराजित गरी उपाधि जितेका थिए ।
वाङ र झाङबीचका पछिल्ला चार भिडन्तमा झाङ सबैमा विजयी भएका छन् । २८ वर्षीय वाङ पछिल्ला दुई ओलम्पिकमा फाइनल पुगे पनि दुवैमा रजतपदकमा सीमित भएका थिए । सन् २००४ को एथेन्स ओलम्पिकमा दक्षिण कोरियाका र्‍यु सेङ मिन र २००८ को बेइजिङ ओलम्पिकमा आफ्नै देशका मिन लिनसँग पराजित भएका थिए । ‘म स्वर्णपदक जित्न चाहन्छु । किनभने रजतपदक त पहिला नै जितिसकेको छु,’ वाङले भने । टेबलटेनिसमा चीनले बुधबार मात्र महिला एकलतर्फ स्वर्ण र रजत दुवै पदक जितेको थियो । उक्त स्पर्धाको फाइनलमा पनि दुवै खेलाडी चीनकै पुगेका हुन् । ली जिआआ जिआले डिङ निङलाई हराएर स्वर्ण जितिन् ।
सन् १९८८ को सोल ओलम्पिकमा पहिलोपटक टेबलटेनिस राखिएयता चीनले यस खेलमा २५ मध्येका २१ स्वर्णपदक जितेको छ । यसबीचमा महिला एकलतर्फ चीनले स्वर्णपदक गुमाउनुपरेको छैन भने पुरुष एकलतर्फ ६ स्वर्णपदकमध्ये तीनवटा मात्र उसले जितेको छ । एजेन्सी

प्रसिद्धजंग ४९औँ स्थानमा
लन्डन : नेपालका पौडीवाज प्रसिद्धजंग शाहले लन्डन ओलम्पिक्सको ५० मिटर फ्रिस्टाइल पुरुष स्पर्धामा सहभागी ५८ जनामध्ये ४७औँ स्थान प्राप्त गरेका छन् । उनले २६.९३ सेकेन्डमा दूरी तय गरे । सबैभन्दा छिटो समयमा पौडिएका ट्रिनिडाड एन्ड टोबागोका जर्ज रिचार्ड वाभेलले २१.७७ सेकेन्डमा उक्त दूरी तय गरे । प्रसिद्धको भन्दा जर्जको समय २५ प्रतिशतजति कम रहेको छ । डिफेन्डिङ च्याम्पियन ब्राजिलका सिजर फेलोले २१.८० सेकेन्डमा रेस पूरा गरे । उक्त दूरी पूरा गर्न अस्ट्रेलियाका जेम्स म्याग्नसनले २२.११ सेकेन्ड समय लगाए । उनी हिटमा १०आँै स्थानमा रहे ।
कुनै समयमा स्टार अस्ट्रेलियाली पौडीवाज माइकल सुलेभान २२.२७ मा दूरी तय गर्दै हिटमा १६औँ हुँदै सेमिफाइनल प्रवेश गरेका थिए । (एजेन्सी)

म्याग्नसन पनि हारे, पौडीमा अस्ट्रेलियाको साख ध्वस्त
एजेन्सी
लन्डन, १९ साउन । पौडीमा अमेरिकाले आशा गरेका थुप्रै स्वर्णपदक गुमाएको यसपटकको ओलम्पिक अस्ट्रेलियाका लागि झनै खराब रहयो । अस्ट्रेलियाको पौडी टोलीले २० वर्षयताको सबैभन्दा खराब प्रदर्शन गरिरहेको छ । बुधबार राति भएको एक सय मिटर फ्रिस्टाइलको स्पर्धामा उपाधिका प्रबल दाबेदार जेसन म्याग्नसन पनि रजतपदकमा सीमित रहे । केही मिटरअघिसम्म अग्रता कायम गरेका म्याग्नसनलाई पराजित गर्दै उत्कृष्ट फिनिसिङसहित अमेरिकाका नाथान एड्रियनले स्वर्णपदक जिते । एड्रियनले ४७.५२ तथा म्याग्नसनले ४७.५३ सेकेन्डमा रेस पूरा गरे । क्यानाडाका ब्रेन्ड हेडन तेस्रो भए ।
यसैगरी अमेरिका र अस्ट्रेलियालाई आश्चर्यमा पार्दै फ्रान्सले चारगुणा सय मिटर रिलेको स्वर्ण जितिसकेको छ । तीन दिन बाँकी रहँदा अस्ट्रेलियाले चारगुणा सय मिटर फ्रिस्टाइल रिलेमा मात्र स्वर्णपदक जितेको छ । यसैगरी महिला चारगुणा दुई सय मिटर रिलेमा अमेरिका पहिलो, अस्ट्रेलिया दोस्रो र फ्रान्स तेस्रो भए ।
यस ओलम्पिकको रोमाञ्चक प्रतिस्पर्धाको रूपमा रहेको उक्त स्पर्धाको पहिलो एक सय मिटरमा मेसी फ्रयान्कलिनले अग्रता लिए पनि दुई सय मिटर सकिँदा चार सय मिटर फ्रिस्टाइलकी स्वर्णविजेता क्यामेली मुफाउटले फ्रान्सलाई अग्रता दिलाइन् भने अस्ट्रेलियाकी ब्रोनेट बगार्ट दोस्रो स्थानमा रहिन् । चार सय मिटर सकिँदा फ्रान्स तेस्रो स्थानमा पुग्यो भने अमेरिकाकी डाना भोल्मरले अस्ट्रेलियाकी मेलिन स्केलेन्जरसँगको दूरी छोटयाइन् । कानस पामरले अमेरिकी सान भ्रिल्यान्डलाई अझ पछि छाडिन् । अमेरिकालाई स्वर्ण जिताउने काम चौथो पौडीवाज एलिसन स्मिटले गरिन् । स्मिटले र अस्ट्रेलियाकी एलिसिया क्राउट्सबीचको दूरी पहिलो ५० मिटरमा बढे पनि त्यसपछिका १ सय ५० मिटरमा स्मिट अग्रणी देखिएकी थिइन् ।
बुधबार राति भएको पुरुषको दुई सय मिटर ब्रेस्ट स्ट्रोकमा हंगेरीका डयानियल गुयटाले २ मिनेट ०७.२८ सेकेन्डको नयाँ विश्व कीर्तिमानसहित स्वर्णपदक जिते । बेलायतका माइकल जेमिसनले रजत तथा जापानका रोइ तातेसीले कांस्यपदक जिते ।
पौडीको महिला दुई सय मिटर बटरफ्लाइमा चीनकी लिउजियांग जाओले स्वर्णपदक जितिन् भने स्पेनकी मारिया मेल्मेन्टो बुर्सियाले रजतपदक प्राप्त गरिन् । उक्त स्पर्धामा जापानकी नातोसी होसीले कांस्यपदक जितिन् ।

न्युजिल्यान्डलाई सेलिङको स्वर्ण
लन्डन : न्युजिल्यान्डले सेलिङको मेन्स डबल्स स्कल्सको स्वर्णपदक जितेको छ । कोलेन र सुलभोनको जोडीले ६ मिनेट ३१.६७ सेकेन्डको ओलम्पिक कीर्तिमानसहित स्वर्णपदक जितेको हो । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाका डेविड क्रस र स्कट ब्रेनाना तथा जर्मनीका हान्स क्रुने र स्टेफन क्रगेर सेमिफाइनलबाटै बाहिरिएका थिए । उक्त स्पर्धामा इटालीले रजत तथा स्लोभेनियाले कांस्यपदक जिते ।

न्युजिल्यान्डलाई सेलिङको स्वर्ण
लन्डन : न्युजिल्यान्डले सेलिङको मेन्स डबल्स स्कल्सको स्वर्णपदक जितेको छ । कोलेन र सुलभोनको जोडीले ६ मिनेट ३१.६७ सेकेन्डको ओलम्पिक कीर्तिमानसहित स्वर्णपदक जितेको हो । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाका डेविड क्रस र स्कट ब्रेनाना तथा जर्मनीका हान्स क्रुने र स्टेफन क्रगेर सेमिफाइनलबाटै बाहिरिएका थिए । उक्त स्पर्धामा इटालीले रजत तथा स्लोभेनियाले कांस्यपदक जिते ।

अलराउन्ड जिम्न्यास्टिकमा जापानलाई स्वर्ण
प्रतीक्षित जिम्न्यास्टिकको पुरुष अलराउन्डमा जापानका कोइउ उचिमिराले स्वर्णपदक जिते । जापानकै कोजी हितो तानाका रजतपदकको नजिक पुगे पनि पामेल हर्सको क्रममा लडेपछि उनी पछि परेका थिए । यसकारण जर्मनीका मार्सेल नागुयनले रजत तथा अमेरिकाका लेभ्याले कांस्यपदक जिते । अमेरिकाले पौडीको रोइङको उमन एटमा लगातार दोस्रो स्वर्णपदक जितेको छ । लाइटवेटको मेन फोरमा दक्षिण अफ्रिकाले पहिलो स्वर्णपदक जितेको छ । जेम्स थोम्सन, म्याथ्यु ब्रिटान, जोन स्मिथ र सिजे नाडल्भु सम्मिलित दक्षिण अफ्रिकाले स्वर्ण जितेको हो । लामो समय अग्रता कायम गरेको डेनमार्कलाई उछिनेको दक्षिण अफ्रिकी टोलीले ६ मिनेट २.८४ सेकेन्डमा दूरी तय गरेको हो । अन्तिम ल्यापमा डेनमार्क बेलायतभन्दा पनि पछि रहँदै कांस्यपदकमा सीमित भयो । (एजेन्सी)
प्रतीक्षित जिम्न्यास्टिकको पुरुष अलराउन्डमा जापानका कोइउ उचिमिराले स्वर्णपदक जिते । जापानकै कोजी हितो तानाका रजतपदकको नजिक पुगे पनि पामेल हर्सको क्रममा लडेपछि उनी पछि परेका थिए । यसकारण जर्मनीका मार्सेल नागुयनले रजत तथा अमेरिकाका लेभ्याले कांस्यपदक जिते । अमेरिकाले पौडीको रोइङको उमन एटमा लगातार दोस्रो स्वर्णपदक जितेको छ । लाइटवेटको मेन फोरमा दक्षिण अफ्रिकाले पहिलो स्वर्णपदक जितेको छ । जेम्स थोम्सन, म्याथ्यु ब्रिटान, जोन स्मिथ र सिजे नाडल्भु सम्मिलित दक्षिण अफ्रिकाले स्वर्ण जितेको हो । लामो समय अग्रता कायम गरेको डेनमार्कलाई उछिनेको दक्षिण अफ्रिकी टोलीले ६ मिनेट २.८४ सेकेन्डमा दूरी तय गरेको हो । अन्तिम ल्यापमा डेनमार्क बेलायतभन्दा पनि पछि रहँदै कांस्यपदकमा सीमित भयो । (एजेन्सी)

प्रतिक्रिया