मृत ठानिएका फर्किए

ढाका : मोस्लेमुद्दिन सरकार नाम गरेका बंगलादेशी नागरिक जीवित छन् भन्ने उनको परिवारले पनि सोचेको थिएन । वर्षांैअघि बेपत्ता भएका उनको जीवन समाप्त भइसकेको अनुमान धेरैले गरेका थिए । २३ वर्षसम्म घरपरिवारको सम्पर्कबाहिर रहेका व्यक्तिको आश कसले पो गर्ला र † तर, यतिका वर्षपछि सरकार अचानक गाउँ पुग्दा सबै तीनछक परे ।
गाउँ टेक्नासाथ ५२ वर्षीय सरकारका आँखा रसाएका थिए । घर पुग्नसाथ उनले भक्कानिँदै व्यथा सुनाए । पछिल्लो १५ वर्ष पाकिस्तानको जेलमा कष्टकर जीवन बिताएको प्रसंग उनले झिकेपछि छेउमा रहेका सबैका आँखा रसाएका थिए ।
सन् १९८९ मा उनी आवश्यक कागजाद नबोकी भारत प्रवेश गरेका थिए, घरका कसैलाई जानकारी नदिई । भारतमा करिब आठ वर्ष बसेपछि उनलाई पाकिस्तान जान मन लाग्यो । सन् १९९७ मा पाकिस्तान प्रवेश गर्दा उनीसँग प्रवेशाज्ञालगायतका आवश्यक कागजात थिएनन् । उनी पक्राउ परे । आफू पक्राउ पर्दाको क्षण सम्झँदै बंगाली र उर्दू मिश्रित लवजमा उनले सुनाए, ‘मनग्गे कमाइ गर्न सकिएला भनेर पाकिस्तान हिँडेको थिएँ । तर, उनीहरूले (सीमा सुरक्षा टोली) मलाई पक्राउ गरे । थिलथिलो हुनेगरी मलाई बेस्सरी कुटे । वर्षौंसम्म जेल हाले ।’ जेलबाट गाउँको ठेगानामा कैयाँै चिठ्ठी लेखे पनि पठाउन नसकेको उनले सुनाए । ‘मेरो पनि घर फर्किने दिन आउला’ भन्ने आशा मरेको सम्झँदै उनले भने, ‘तर यतिका वर्षपछि घर फर्किंदा आमालाई जीवित देख्न पाएँ, साह्रै राम्रो लागेको छ ।’
रेडक्रसको अन्तर्राष्ट्रिय समितिले उनलाई घर फर्काएको हो । पाकिस्तानको जेलमा सरकार थुनिएको जानकारी पाएपछि उनको घर फिर्तिका लागि गरिएको पहल सफल भएको भन्दै रेडक्रसका प्रवक्ता ओन्सिता सडम्यानले प्रसन्नता व्यक्त गरे ।
‘उनलाई वर्षांैसम्म खोज्यौँ, र अन्त्यमा समुद्रमा डुबेर आत्महत्या गरेको टुंगोमा पुगको थियौँ,’ दाजु घर फर्किएपछि खुसी भएका भाइ जुल्हस उद्दिनले सुनाए । (डेलिमेल)

प्रतिक्रिया