सिरिया आपत्कालमा : रुस

मस्का : सिरियाको दोस्रो ठूलो सहर अलेप्पोमा सरकारी सैनिक र विद्रोहीबीच लडाइँ जारी रहेकै बेला रुसले मंगलबार सिरियामा ‘आपत्कालीन अवस्था’ सिर्जना भएको ठहर गरेको छ । यसअघि रुसले सिरियामा जारी अवस्था ‘जटिल’ रहेको जनाउँदै आएको थियो । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले सिरियालाई ‘आपत्कालीन अवस्था’ भएको मुलुकको सूचीमा राख्ने दस्तावेजमा मंगलबार हस्ताक्षर गरेका छन् । सिरियासहित श्रीलंकालाई पनि रुसले ‘जटिल अवस्था भएको मुलुक’ को सूचीबाट हटाएको छ । सो सूचीमा भारत र केन्याको नाम थपिएको चाइना डेलीमा प्रकाशित समाचारमा जनाइएको छ ।
रुसको नयाँ सूचीमा सिरियालाई ‘आपत्कालीन अवस्था अथवा द्वन्द्वग्रस्त मुलुक’ को सूचीमा राखिएको छ । यसबाट सिरियामा सशस्त्र द्वन्द्व आरम्भ भएको निष्कर्षमा रुस आधिकारिक रूपमा पुगेको चाइना डेलीले जनाएको छ । सिरियामा जारी द्वन्द्वमा रुसले सिरियाली राष्ट्रपति बासर अल असदको पक्ष लिँदै आएको छ । अमेरिका अन्य युरोपेली मुलुकले सिरियाली राष्ट्रपतिले मुलुकभित्र नरसंहार मच्चाएको भन्दै सिरियाविरुद्ध नाकाबन्दी लगाउनुपर्ने प्रस्ताव सुरक्षा परिषद्मा ल्याएका थिए । तर, सुरक्षापरिषद्मा भिटो शक्ति भएको अर्को राष्ट्र चीनसँग मिलेर रुसले सो प्रस्ताव पारित हुन दिएको थिएन । राष्ट्रसंघले सिरियामाथि नाकाबन्दी लगाए अन्य राष्ट्रहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने सिद्धान्तको उल्लंघन हुने रुसले जनाएको थियो । रुस र सिरिया पुराना साझेदार हुन् । शीतयुद्धताका मध्यपूर्वमा रुसको दरिलो साझेदारका रूपमा सिरियाले हैसियत निर्माण गरेको थियो । त्यसयता रुसले सिरियालाई हतियारलगायत सहयोग उपलब्ध गराउँदै आएको छ । सिरियाप्रति अधिकांश मुलुकले असहयोगको नीति लिए पनि रुसले सिरियालाई अझै हातहतियार उपलब्ध गराउँदै आएको बताइन्छ ।
गत महिना विमान ध्वस्त गर्ने र पानीजाहज डुबाउने क्षमतायुक्त क्षेप्यास्त्र निरोधक प्रणाली सिरियालाई उपलब्ध गराउने घोषणा रुसले गरेको थियो । पेन्टसिर–एस १ नामक रार्डरजडित क्षेप्यास्त्र, बुक–एम २ नामक विमानभेदी क्षेप्यास्त्र र जमिनमा राखी प्रहार गरिने बास्टियोन पानीजाहजभेदी क्षेप्यास्त्र दिने तयारी भएको रुसले जनाएको थियो । त्यसको एक साताअघि हतियारले भरिएका पानीजाहज सिरिया पुगेको विभिन्न सञ्चारमाध्यमले जनाएका थिए । (एजेन्सी)

प्रतिक्रिया