महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो सुप्रसिद्ध रचना मुनामदनमा भनेका छन् : ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।’ हो, त्यसैगरी, पार्टी ठूलो पनि विचारले हुन्छ, हुलले हुँदैन । कुनै पार्टी जबसम्म जीवित रहन्छ त्यस अवधिसम्म तिनको विचार अस्तित्वमा रहन्छ । त्यसका लागि कुनै भिडको आवश्यकता पर्दैन । जब कुनै पार्टी विचारले निर्देशित रहन्छ जतिसुकै ठूलो भए पनि स्वभावैले अनुशासित हुन्छन् तर जब भिडतन्त्रलाई अँगाल्छ तब त्यसमा अराजकता तथा विभाजन आउँछ ।
नेपालको सन्दर्भमा बिपी कोइराला कहिले पनि भिडतन्त्रप्रति आकर्षित भएनन्, भिड जतासुकै बहकिए पनि निरन्तर आफ्नो विचार राख्ने व्यक्तित्व रहेको कुरा उनलाई नजिकबाट नियाल्नेहरूले बताउने गरेका छन् । पुष्पलाल पनि आफ्नो विचारलाई नै प्राथमिकता दिएकै कारण भिडबाट धेरै टाढा रहे । त्यसैले मृत्यु हुने बेलामा उनको पार्टीमा थोरै मात्र कार्यकर्ता थिए । उनको संगठनको कुनै ठाउँमा राम्रो प्रभाव थिएन । निर्मल लामाले पनि विचारलाई मर्न नदिनका लागि सानो संगठनमा नै आफ्नो मृत्यु स्वीकार गरे । त्यसैले होला, अहिले नेपालका सबै कम्युनिस्ट पार्टीले उनीहरू दुवैको सम्मान गरेको पाइन्छ । यद्यपि त्यो ढोंँग मात्र हो कि भन्ने आशंका पनि छ । किनकि कम्युनिस्ट नेताहरू अहिले आएर जता ताली उतै हाजिर भएको कुरा सबैमा जगजाहेर नै छ । त्यसैले पार्टी सञ्चालन गर्ने भनेको विचारले हो, कुनै जमातले होइन । जस्तै रूस, चीनमा समाजवाद (यद्यपि अहिले छैन) स्थापना गर्न कार्लमाक्र्स आएका थिएनन् । केवल माक्र्सवादी सिद्धान्त मात्र पालना गरिएको थियो । नेपालमा पनि कम्युनिष्ट पार्टीको स्थापना गर्न माक्र्स, लेनिन, माओ कुनै पनि आएका होइनन् ।
एसियाका तारा भनी चिनिने गौतम बुद्धको एउटा भनाइ छ कि ‘ब्राम्हणी आमाको कोखबाट जन्मँदैमा ब्राम्हण हुँ नभन्नु कर्मको ब्राम्हण हुनु ।’ यो भनाइ आजको परिस्थितिमा पनि उत्तिकै महत्त्वपूर्ण छ । कोही मान्छे कुनै राजनीतिक संगठनमा लाग्यो भन्दैमा ऊ राजनीतिज्ञ हुन सक्दैन । राजनीतिज्ञ नभएपछि सबै राजनीतिक संकटको निकास दिन सकिँदैन । मुखले लोकतन्त्र जप्दैमा लोकतन्त्रवादी भइँदैन । लोकसम्मत शासन सञ्चालन गर्ने क्षमता ती व्यक्तिसँग नहुन पनि सक्छ । कम्युनिस्ट नेतासँग चिनजान हँुदैमा ऊ कम्युनिस्ट पनि हुँदैन । त्यागी नेता निर्मल लामाको संगठनमा प्रकाशजस्ता, बिपीको संगठनमा तुल्सी गिरीजस्ता, पुष्पलालको संगठनमा रायमाझीजस्ता पात्र पनि जन्मिए । त्यसैले गौतम बुद्धको यो भनाइ मननयोग्य छ ।
पंक्तिकारले यो कुरा किन उठाउन खोजेको हो भने मिति ०६९ साउन ६ गते राति बिबिसीबाट प्रसारित कार्यक्रममा तीनजना युवा नेताले वर्तमान संकटलाई हल गर्ने अचुक विधि छ भनेर जिकिर गरेका थिए । यो पंक्तिकार पञ्चायतकालदेखि नै बिबिसीको नियमित श्राोता हुँ । त्यो दिन पनि सुनियो । उक्त दिन ती तीन युवानेताले अचुक विधिको महावाणी बताइरहँदा यो पंक्तिकारलाई मात्र होइन कि कुनै पनि राजनीतिको चरणविन्दु थाहा हुने स्रोतालाई आक्रोश र लाज भयो होला । ती युवानेता थिए गगन थापा (द्रोणाचार्य), रवीन्द्र अधिकारी (भीष्मपितामह) र हेमराज भण्डारी (अस्वस्थामा) । (माफ गर्नुहोला, ती नेताहरूको प्रवृत्तिलाई प्रस्ट पार्नका निम्ति मात्र तिनीहरूको नामको पछाडि उपनाम राखिएको हो, यसमा यो पंक्तिकार उनीहरूको निजी जीवनमा असर नहोस् भन्ने कुरामा सचेत छ । राजनीतिमा भने चिरफार गर्नुपर्छ) । ती नेताहरूलाई महाभारतको कौरव वंशको त्यतिखेरको सत्तासीन वर्गहरूको पदवीले किन सम्बोधन गरिएको भने तिनीहरू आफू असक्षम भएका कारण हस्तिनापुर राज्य गुमाउने पात्र हुन् ।
अहिले मुलुकमा राजनीतिक गतिरोध पैदा हुनुमा नेपाली कांग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)का नेता नै जिम्मेवार छन् । अनि त्यही असक्षमताको आहालमा पौडेर शरीर नै गन्हाउने पारेर हिँड्ने तीन युवानेताले वर्तमान राजनीतिक गतिरोधको निवारण गर्छौं भन्नु फागुन–चैतको तुवाँलोलाई बादल ठानेर वर्षाद्को आशा गर्नुजस्तै होइन र ? किनकि संविधानसभा विघटनसम्म पुर्याउने विषय भनेको राज्यको पुनर्संरचना समितिले ल्याएको प्रतिवेदनलाई उनीहरूले अस्वीकार गर्नु नै हो । यसबारेमा तीन युवा नेताको के सहमति भयो र फरक फरक नर्ककुण्डबाट एउटै निर्मल पोखरी बनाउँछु भन्ने निश्कर्ष निस्क्यो ? तीन युवा नेताको वाहियात बकवास मात्र हो भन्ने कुरा ४ वर्षसम्म संविधान निर्माण थलोमा यी तीन नेता र ती पार्टीका सभासदहरूको उपस्थितिले देखाउँछ ।
संसारको सार्वभौम संसदीय व्यवस्थामा सर्वाेच्च अंग भनेको फ्लोर नै हुन्छ । यी तीन युवाले फ्लोरको अधिकारलाई चिलले चल्ला टिपेजस्तो गरेर होटल र्याडिसन, गोदावरी, गोकर्ण, हात्तीवनतिर लाने बेलामा हरेक बाधा फुकाउने अधिकार हामी सभासद्हरूको हो भनेर किन भनेनन् ? अविलम्ब फ्लोर चलाउनुपर्यो भनेर अधिकार सुरक्षाको लडाइँको बेलामा बोइलर कुखुराले बिजुली बत्तीलाई वाल्ल परेर हेरेजस्तो गरेर बसेको हो कि होइन ? अहिलेचाहिँ राजनीतिक गतिरोधको गाँठो फुकाउने अचुक मन्त्र हामी तीनजनासँग छ भन्दा दुनियाँमा कसले पत्याउने ? यदि यस्तो अचुक मन्त्र थियो भने आ–आफ्नै पार्टीका नेतालाई ऐन मौकामै सुझाव दिएको भए राम्रै हुन्थ्यो । नेताहरूले नमानेमा लेखेर, बोलेर जनतासामु पुर्याएको भए पनि हुन्थ्यो । अनि यस्तालाई वाहियात नभने कसलाई भन्ने ? बरु यी तीनजनाको मत सल्लाहमा ठूलो आशंकाचाहिँ उब्जेको छ । किनकि इन्द्रबहादुर गुरुङ, अशोक राई, पृथ्वी सुब्बा, परि थापा, सुरेश आले, जिपछिरिङ लामा, डा. ओम गुरुङ, रामबहादुर थापा, राजेन्द्र श्रेष्ठ, भीमबहादुर तामाङलगायत धेरै जनजाति अगुवा सल्बलाउन थालेका छन् । त्यसैले उनीहरूको हातमा राज्यको बागडोर पुग्छ कि भन्ने आफ्नै मनोचिन्ताले ती तीन युवा नेतालाई सताइरहेका त छै्रन ? शंका गर्ने पर्याप्त ठाउँ छ । होइन भने यी तीनजनाभन्दा विधि, विधान, दर्शन बुझ्ने र वर्तमान राजनीतिक गतिरोधलाई अन्त्य गर्न सक्ने युवा, वृद्ध नेता स्थापित पार्टीमा धेरै छन् ।
यिनीहरू हस्तिनापुरको पात्र कसरी भए भन्ने कुराको खुल्दुली पढ्नेलाई लाग्न सक्छ । राष्ट्रघात गर्नुु र हस्तिनापुर गुमाउनुमा के फरक छ ? कांग्रेसबाट पनि भारतलाई कोसी, गण्डकी र महाकाली बुझाएकै हो । कुनै दिन बिबिसीसँग कुरा गर्ने सन्दर्भमा भारतको हेपाहा प्रवृत्तिको विरोध गर्नुको साटो यिनै गगन थापाले त झन् भारतीय ‘विस्तारवाद मुर्दावाद’ भन्ने कुरा लेख्न पनि भारतसँगै रङ किन्नुपर्छ भनेकै हुन् । एमालेबाट प्याकेज डिल भनेर नेपाललाई २१ अर्ब आउँछ भनी पञ्चेश्वर सम्झौता भएकै हो । माओवादीबाट दुवै राष्ट्रमा दुवै राष्ट्रका आ–आफ्ना देशमा भएका लगानी सुरक्षा गर्न भनी बिप्पा गरे । नेपालको अथवा नेपालीबाट लगानी गरेका कम्पनी भारतमा कहाँ छ र ? अनि यी सन्धि सम्झौताले नेपाल भन्ने नाम मात्र बाँकी राखेर गुदी गुमाएकोमा हस्तिनापुरसँग तुलना गर्नु ठिकै हो । बरू अहिलेको राजनीतिक गतिरोध हुनुमा पौराणिक दैत्यगणका विद्वान्ले भनेको जस्तो त होइन ? जसमा उल्लेख गरिएको छ कि ‘अपुज्यानाम पुज्याते पुज्यानाम् चं: व्यतिक्रमे त्रिणी तंत्रे : प्रवतन्ते दुर्भिक्षण मरणम् मयम्’ (जो व्यक्ति पुज्न योग्य छैन त्यस्तो व्यक्तिलाई आदर मानसम्मान गरेपछि समाजमा हिंसा, भय र र्दुिर्भक्ष हुन्छ) । अहिले पनि यी तीन पार्टीलाई चुनेको र सम्मान गरेको कारणले यो गतिरोधको सिर्जना भएको हो । जानेर या नजानेर जनताले यही गल्ती गरे । सायद अब दोहोरिन्न होला । अब आउने दिनमा संघीय राज्य–राज्यबीचमा प्रतिस्पर्धात्मक नमुनालायक विकासको गतिलाई हाँक्नुपर्छ । त्यो अवस्थामा जुन राज्यमा जे स्रोत छ त्यसैलाई उपयोग गरेर मानिस जातिलाई सुखमय शिखरमा पुर्याउनुपर्छ ।
(लेखक नेकपा एकीकृतका केन्द्रीय सदस्य तथा काभ्रेका पूर्व उपसभापति हुन् ।)
प्रतिक्रिया