स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ

जाजरकोट, १७ साउन । जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत एक प्रहरी अधिकृतले निर्दाेष व्यक्तिलाई कुटपिट गरेको विरोधमा स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन् ।

असई विशाल रानाले पत्नी सुनितालाई स्थानीय युवाले जिस्क्याएको आरोपमा सोमबार राति खलंगा–२, सिमलगैरीका दर्जन बढी युवालाई कुटपिट गरेका थिए । स्वास्थ्य कार्यालयमा कार्यरत असई रानाकी पत्नी सुनिता ड्युटी सकेर फर्कने क्रममा सिमलगैरीमा स्थानीय पुष्पराज गौतमले चुइगम चपाएर शरीरमा फ्याँक्दै जिस्क्याएपछि घटनाले ठूलो रूप लिएको हो ।
सुनिताले फोन गरेपछि सादा पोसाकमा गएका असई रानाले अपशब्द प्रयोग गर्दै कुटपिट गरेको स्थानीय लंकबहादुर मल्लले बताए । कुटपिटपछि दुई युवालाई जिप्रका लगेर थुनिएको छ । थुनिएकाको परिचय प्रहरीले दिएको छैन । स्थानीयका अनुसार थुनिनेमा नेपाल प्रेस युनियन जाजरकोटका सदस्य गणेश बानियाँ र एसएलसी पूरक परीक्षार्थी रोकायगाउँ–९ का वीरबहादुर नेपाली हुन् ।
उनीहरूलाई सोमबार राति ११ बजे होटलमा सुतिरहेको अवस्थामा समातेर जिप्रका लगिएको हो । असई रानाले नजिकै रहेको बाग्लुङ होटलमा बसेका वातावरण मन्त्रालयअन्तर्गतको रूपान्तरण नेपालका रेशम भण्डारीलगायत समूहलाई पनि दुव्र्यवहार गरेको बताएका छन् ।
घटनाबारे बुझ्न गएका सञ्चारकर्मीलाई पनि असई कर्ण चन्दले प्रवेशमा रोक लगाएका थिए । घटनाका विषयमा बुझ्न गएका उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कमानबहादुर खड्काका अनुसार थुनिएका बानियाँ र विकलाई घटनामा संलग्न भएको भनी जबर्जस्ती स्वीकार गर्न दबाब दिएका छन् । तर, उनीहरूले आरोप अस्वीकार गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।
घटनास्थल खलंगा–२ मा रहेको अस्थायी प्रहरी पोस्टभन्दा करिब दुई सय मिटर अगाडि छ तर प्रहरी झन्डै दुई घन्टापछि मात्र त्यहाँ पुगेको थियो । कुटपिट गर्ने असई राना एमाओवादी क्षेत्र नम्बर २ जाजरकोटका पूर्वसभासद् भक्तबहादुर शाहका ज्वाइँ हुन् ।

प्रतिक्रिया