कैलाली, १७ साउन । नेकपा (एमाले) बाजुराले बूढीनन्दा तालमा बैठक गरेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण तथा विश्वकै सबैभन्दा बढी उचाइमा रहे पनि उचित प्रचार–प्रसार गर्न नसकेर ओझेलमा परेकाले प्रचार–प्रसारका बूढीनन्दा ताल परिसरमा एमालेको जिल्ला कमिटी बैठक गरिएको बताइएको छ ।
दुर्गम जिल्ला बाजुरामा रहेको बूढीनन्दा तालको उचाइ प्रमाणित नहुँदा हालसम्म प्रसिद्ध एवं धार्मिक तालको संरक्षण र प्रवद्र्धन हुन नसकेको तथा जिल्लाको पर्यटन विकासमा असर परेको एमालेको ठहर छ ।
विश्वमा सबैभन्दा उचाइमा बूढीनन्दा ताल रहेको भए पनि विनानाप र अनुसन्धान मनाङस्थित तिलिचो ताल विश्वको उचाइमा रहेको भनेर उल्लेख भएकाले बूढीनन्दा ताल र त्यस क्षेत्रको संरक्षण, प्रचार–प्रसार एवं पर्यटन विकासका पहल गरिने एमाले बाजुराले जनाएको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको कोल्टी गाविसस्थित बूढीनन्दा सदरमुकाम मार्तडीबाट तीन दिनको पैदल बाटोमा पर्छ । बूढीनन्दा क्षेत्रमा दह, ठूला पाटन, वन्यजन्तु, जडीबुटीलगायत प्राकृतिक मनोरमले भरिपूर्ण छ ।
विश्वको सबैभन्दा बढी उचाइमा रहेको तिलिचो तालभन्दा बूढीनन्दा ताल ५६ मिटर बढी उचाइमा रहेको बताइएको छ । विभिन्न सञ्चारमाध्यममा बूढीनन्दा ताल सबैभन्दा बढी उचाइमा रहेको खबर सार्वजनिक भएपछि पर्यटन विकास र संरक्षण गर्न टेवा पुगोस् भनेर बूढीनन्दा तालमा पार्टीको बैठक गरिएको एमाले बाजुराका सचिव बलदेव रेग्मीले बताए ।
सबैभन्दा उचाइमा रहेको तिलिचो ताल ४ हजार ९ सय १९ मिटरमा रहे पनि बूढीनन्दा ताल ४ हजार ९ सय ७५ मिटर उचाइमा छ । बूढीनन्दा तालको उचाइ हालसम्म आधिकारिक प्रमाणित नभएर ओझेलमा परेको एमाले बाजुराका प्रचार–प्रसार विभाग प्रमुख जनककुमार बोहराले बताए । उनले पार्टी अध्यक्ष प्रकाश शाहको अध्यक्षतामा भएको बैठकमा २५ जनाभन्दा बढी सदस्यको उपस्थिति रहेको बताए ।
प्रत्येक वर्ष बूढीनन्दा मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन पूजाआजा हुने गर्छ । पूजाआजा र प्राकृतिक मनोरमको अवलोकन गर्न ठूलो समूहमा भक्तजन र तीर्थयात्री बूढीनन्दा जाने गर्छन् ।
बूढीनन्दामा पुगेर पूजाआजा गरेपछि सोचेको वरदान प्राप्त हुने विश्वास रहिआएको र पछिल्लो समय बूढीनन्दा ताल प्रमुख शक्तिपीठका रूपमा स्थापित भएको भक्तजनको भनाइ छ ।
यहाँका चढीदह र बूढीनन्दा ताल मुख्य आकर्षक स्थल हुन् । अहिलेसम्म दलित समुदायका कोही पनि व्यक्ति बूढीनन्दा क्षेत्रमा नगए पनि एमालेले त्यस क्षेत्रमा पार्टीको बैठक राखेपछि पहिलोपटक दलित समुदायका व्यक्ति पनि त्यहाँ पुगेका छन् ।
पार्टी बैठकको अवसर पारेर एमाले जिल्ला कमिटी सदस्य धनबहादुर विक र अनेरास्ववियु जिल्ला अध्यक्ष जंग विक बूढीनन्दा पुगेका हुन् ।
प्रतिक्रिया