सुर्खेतको अदुवा युरोपमा

सुर्खेत, १६ साउन । सुर्खेतमा उत्पादित अदुवा युरोपसम्म जाने गरेको छ । नेपाली अदुवा गुणस्तरीय रहेको भन्दै युरोपसम्म निर्यात हुने गरेको हो । अदुवालाई व्यवस्थित पार्न पहिलोपटक अदुवा मसला बाली उत्पादन तथा प्रशोधन केन्द्रसमेत स्थापना गरिएको छ । सरकारले सञ्चालन गरेको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को सहयोगमा उज्जवल बहुउद्देश्यीय सहकारीले वीरेन्द्रनगरमा उज्वल अर्गानिक कृषि उपज प्रशोधन केन्द्र स्थापना गरेको हो ।

जिल्लाका कृषकलाई अदुवा खेतीतर्फ आकर्षित गर्ने, उत्पादित अदुवाको प्रशोधन तथा बजारीकरण गर्ने उद्देश्य केन्द्रले राखेको छ । सुर्खेतमा उत्पादित अदुवाको अन्तर्राष्ट्रिय बजारमा समेत माग बढे पनि प्रशोधन र बजारीकरण व्यवस्थित नहँुदा अदुवा खेतीप्रति कृषकको आकर्षण घट्दै गएको थियो ।
जिल्लामा उत्पादित सबै अदुवा केन्द्रले नै खरिद गरी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बजारीकरण गर्ने भएको छ । सुर्खेतका कुनाथरी, पाम्का, लेखफर्सा, दशरथपुर, साटाखानी, मैनतडालगायतका गाविसमा अदुवा खेती हुने गर्छ । केन्द्र स्थापनाले तीन सय कृषक लाभान्वित हुने उज्जवल बहुउद्देश्यीय सहकारीका अध्यक्ष विष्णुबहादुर शाहीले बताए । उनले सुर्खेतमा उत्पादित अदुवाको युरोपियन मुलुकसम्म जाने गरेको पनि बताए ।
केन्द्रले कृषकलाई अदुवा खेतीतर्फ आकर्षित गर्न नि:शुल्क जेटिए, उन्नत बिउ, व्यावसायिक अदुवा खेतीसम्बन्धी तालिम प्रदान र बजारको ग्यारेन्टी गरेको छ । यसले गर्दा कृषक अदुवा खेतीतर्फ आकर्षित हुनका साथै आर्थिक अवस्थामा समेत सुधार हुने विश्वास लिइएको छ । केन्द्र स्थापनाका लागि कुल ४० लाख ७१ हजार रुपियाँ खर्च भएको छ । जसका लागि १७ लाख ६२ हजार रुपियाँ अनुदान दिइएको छ । अदुवा प्रशोधनका लागि २९ लाख ७४ हजार र बजारीकरणका लागि १० लाख ९७ हजार रुपियाँ खर्च भएको केन्द्रले जनाएको छ । जिल्लामा उत्पादित अदुवा संकलन र प्रशोधन गरी बजारीकरण गर्ने तयारी भइरहेको छ ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक लेखप्रसाद आचार्यले निर्वाहमुखी कृषि प्रणालीको अन्त्य गरी व्यावसायिक प्रणालीको विकास गर्न आवश्यक रहेको बताए । उनले सुर्खेत मसलाबालीका लागि उपयुक्त जिल्ला भएकाले अदुवा र बेसारको व्यावसायिक खेतीका लागि कृषकलाई अग्रसर गराउनुपर्ने बताए । निर्देशक आचार्यले विदेशमा समेत माग रहेकोले कृषकले अब परम्परागत छोडेर आधुनिक प्रांगारिक खेती गर्न किसानलाई सुझाव दिए । मध्यपश्चिममा उत्पादित ९० प्रतिशत अदुवा छिमेकी मुलुक भारतमा खपत हुने गरेको र १० प्रतिशत मात्रै आन्तरिक खपत हुने गरेको छ । सुर्खेतमा उत्पादन भइरहेको बिउ उन्नत जातको नहँुदा लगानी अनुसारको उत्पादन हुन सकेको छैन ।
सहकारीका अध्यक्ष विष्णुबहादुर शाहीले प्रशोधन केन्द्रले सुर्खेतका मात्रै नभएर छिमेकी जिल्लाका अदुवा कृषक पनि प्रत्यक्ष लाभान्वित हुने बताए । अब कृषकले अदुवाका लागि बजार खोज्न नपर्ने भन्दै केन्द्रले नै बजारीकरण गर्ने बताए । जिल्लामा उत्पादित अदुवालाई मुलुकका सबै ठाउँका साथै विदेशमा समेत बजारीकरण गरिने उनले बताए । जिल्लामा अहिले उन्नत जातको बिउ र किटनाशक औषधीको अभाव रहेकाले आवश्यकताअनुसारको उत्पादन हुन सकेको छैन ।

प्रतिक्रिया