नौ सय २३ मुद्दा फस्र्योट

काभ्रे, १६ साउन । जिल्ला अदालत काभ्रेले गत वर्षको तुलनामा यस वर्ष धेरै मुद्दा फस्र्योट गरेको छ । अदालतको अभिलेखमा आर्थिक वर्षको अन्त्यसम्म ६२.७० प्रतिशत मुद्दा टुंगो लगाइएको देखिएको छ ।

यो वर्ष नौ सय २३ थान मुद्दा फस्र्योट भएको जिल्ला न्यायाधीश कुमार खत्रीले जानकारी दिए । आर्थिक वर्ष ०६७/६८ का देवानी चार सय ६२ र फौज्दारी तीन सय ८७ गरी आठ सय ४८ मुद्दा रहेकामा देवानी दुई सय ६४, फौज्दारी तीन सय ५४ र रिट थान पाँच गरी ६ सय २३ मुद्दा दर्ता भएका थिए । अदालतबाट पाँच सय ४९ मुद्दाको फस्र्योट हुन बाँकी रहेको न्यायाधीश खत्रीले बताए ।
गत वर्षको तुलनामा यो वर्ष मुद्दा दर्ताको संख्या पनि कम भएको अदालतका स्रेस्तेदार लेखनाथ भट्टराईले जानकारी दिए । फैसला कार्यान्वयनका लागि परेका ९७ निवेदनमध्ये ४६ वटा टुंगो लगाइसकेको अदालतले जानकारी दिएको छ । तीमध्ये एउटा निवदेनमा टुंगो लाग्न बाँकी छ । काभ्रेमा तीन न्यायाधीशको दरबन्दी रहे पनि दुईजना मात्रै कार्यरत रहेकाले सोचेजति मुद्दाको फैसला हुन नसकेको खत्रीले बताए ।
यो आर्थिक वर्षमा न्यायाधीश खत्रीले पाँच सय १९ र दीपेन्द्र अधिकारीले तीन सय ७४ मुद्दा फस्र्योट गरेका थिए । खत्रीले गरेका मुद्दामध्ये ०६३ सालमा परेका चारवटा मुद्दा फस्र्योट भए भने अधिकारीले ०६४ सालका चारवटा मुद्दा टुंग्याएका थिए । बनेपामा निर्माण भई सञ्चालनमा आएको बनेपा नेपाल पोलिटेक्निकल विद्यालयको जग्गासम्बन्धी विवादलाई खत्रीले विद्यालयकै पक्षमा फैसला गरी सार्वजनिक जग्गा र विद्यालयको संरक्षणमा रहेको सम्पत्तिको रक्षा गरिदिएका थिए । केही व्यक्तिले आफ्नो व्यक्तिगत जग्गा रहेको भन्दै विद्यालय, बनेपा नगरपालिकाविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

प्रतिक्रिया