झाडापखालाबाट मर्ने नौ पुगे

कैलाली, १६ साउन । डोटीमा डेढ महिनाअघि फैलिएको झाडापखालाको प्रकोपबाट मर्नेको संख्या नौ पुगेको छ । सोमबार खातिवाडा–८ दल्लेककी ६ वर्षीया गंगा नागरीको मृत्युसँगै मर्नेको संख्या नौ पुगेको हो ।

झाडापखालाबाट शनिबार राति वासुदेवी–६ झिँगाबस्तीकी १२ वर्षीया पद्मा कुँवर पनि मृत्यु भएको थियो । खातिवाडामा ६ र वासुदेवीमा २० जना झाडापखालाका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । बिरामीको संख्या बढेपछि कार्यालयले औषधीसहित स्वास्थ्यकर्मीको टोली पठाएको स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए ।
गत जेठको अन्तिम सातादेखि जिल्लाको काँडामाडौं, बगलेकलगायत गाविसबाट फैलिएको झाडापखालाले ३२ जेठमा बगलेक–१ का ७५ वर्षीय अबि सावद र सोही ठाउँका पाँच वर्षीया गेडी कामीको मृत्यु भएको थियो । पखालाबाटै असारमा बगलेक–८ की ११ वर्षीया पित्तेउली सावद, कलेना–४ की ६५ वर्षीया खिन्तु आउजी, दीपायलसिलगढी नगरपालिका ८ की १६ वर्षीया लक्ष्मी भण्डारीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
साउन सुरु भएपछि सानागाउँ–८ का २ वर्षीय सुरेश भुल र काँडामाडौं–३ की ७० वर्षीया शारदा सावदको पनि पखालाबाट मृत्यु भएको छ । सरकारले डोटी, बझाङ, अछाम, कैलालीलगायत केही जिल्लालाई झाडापखालाको उच्च जोखिममा रहेको घोषणा गरे पनि समयमै जनचेतना र स्वास्थ्यकर्मी तथा औषधि उपलब्ध गराउन नसक्दा पखालाबाट ज्यान गुमाउनेको संख्या बढेर गएको छ । जिल्लाभरिमा करिब पाँच सय झाडापखालाबाट प्रभावित भएका छन् ।

प्रतिक्रिया