सिडिओविरुद्ध कर्मचारी सडकमा

वीरगन्ज, १५ साउन । पर्साका सिडिओ शम्भु कोइरालाको विरोधमा वीरगन्ज उपमहानगरपालिका कार्यालयका कर्मचारी सडकमा निस्केका छन् । आइतबार उपमहानगरपालिकाका कर्मचारीले सडकमै जुलुस निकाले ।

सिडिओ कोइरालाले सवारी कर असुलीमा रोक लगाएपछि उपमहानगरपालिकाका कर्मचारीले आन्दोलन सुरु गरेका हुन् । आदर्शनगरस्थित उपमहानगरपालिकाको कार्यालयबाट निस्किएको कर्मचारीको विरोधजुलुस नगर परिक्रमापछि कार्यालय परिसरमै पुगेर समापन भएको थियो । जुलुसमा सहभागी कार्यालयका कर्मचारीले सरसफाइ औजारसमेत प्रदर्शन गरेका थिए ।
सिडिओ कोइरालाको विरोधमा नेपाल नगरपालिका कर्मचारी एसोसिएसन र स्थानीय निकाय कर्मचारी संघको संयुक्त आह्वानमा कर्मचारी शुक्रबारदेखि कामकाज ठप्प पारेर अनिश्चितकालीन हडतालमा उत्रिएका हुन् । कर्मचारी हडतालमा उत्रिएपछि कार्यालयको कामकाज शुक्रबारदेखि नै ठप्प छ । कर्मचारीको हडतालका कारण सबैभन्दा बढी नगरको सरसफाइ प्रभावित भएको छ ।
नगरमा गत शुक्रबारदेखि फोहोर उठ्नसकेको छैन । तीन दिनदेखि नगरको फोहोर नउठाएका कारण नगर दुर्गन्धित बनेको छ । आदर्शनगर, माईस्थान चोक, मीना बजार, घन्टाघर चोक, घडीअर्वा, गहवा, बिपी उद्यानस्थित तरकारी बजारलगायत स्थानमा फोहोर थुप्रिएको छ । कार्यालयका सरसफाइ शाखा अधिकृत लालबाबु राउत गदीका अनुसार नगरबाट दैनिक साढे ६ मेट्रिकटन फोहोर उठ्ने गरेकामा कर्मचारी आन्दोलित भएपछि फोहोर नउठेको हो । कर्मचारी हडतालका कारण कार्यालयले प्रदान गर्ने विवाह, जन्म तथा मृत्यु दर्ता, नक्सा सिफारिसलगायत सेवासमेत रोकिएपछि सेवाग्राही मारमा परेका छन् ।
कर्मचारीले सोमबारदेखि थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विरोध जुलुसपछि आइतबार अपराह्न कार्यालयको सभाकक्षमा पत्रकार सम्मेलन गरेर कर्मचारीले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन् । सोमबार बिहान ११ बजे कार्यालयको ट्रिपर, ट्रयाक्टरलगायत सवारीसाधनको जुलुस निकालिने नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इकाई समितिका कार्यवाहक अध्यक्ष किशोरसिंह राजपुतले जानकारी दिए ।
सिडिओ कोइरालाले असुरक्षाको कारण देखाउँदै वीरगन्ज भन्सार कार्यालयनजिकै रहेको शंकराचार्य प्रवेशद्वारमा सवारी कर असुलीमा ७ साउनदेखि रोक लगाएका थिए । स्थानीय प्रशासनले शंकराचार्य प्रवेशद्वारमा कर संकलनमा रोक लगाएपछि कर संकलनको ठेक्का सकारेको सुशील ठेक्कापट्टा कम्पनीले ७ साउनदेखि नै सबै ठाउँमा कर संकलन बन्द गरेको छ । ठेक्का कम्पनीले सवारी कर ठेक्का खारेजीको माग गर्दै उपमहानगरपालिका कार्यालयमा निवेदनसमेत दिएको छ । कार्यालयले चालु आर्थिक वर्षका लागि तीन करोड २५ लाख ५१ रुपियाँमा सवारी कर ठेक्का लगाएको थियो । स्थानीय स्वायत्त शासन ऐन– ०५५ र स्थानीय स्वायत्त शासन नियमावली– ०५६ अनुसार सवारी कर संकलनको ठेक्का लगाएको उपमहानगरपालिकाले जनाएको छ ।
सिडिओ कोइराला, एसपी पीताम्बर अधिकारी र ट्राफिक प्रहरीसमेतसँगको छलफल र स्थलगत निरीक्षणपछि सवारी कर संकलनका स्थान निर्धारण गरिएको नगरपालिका कर्मचारी एसोसिएसनका कार्यवाहक अध्यक्ष सिंहले बताए । सिडिओ कोइरालाले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर सवारी कर संकलनमा हस्तक्षेप गरेको कर्मचारीको भनाइ छ । सिडिओको अनावश्यक हस्तक्षेपले नगरको समग्र विकास, सरसफाइ, स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युतीकरणमा प्रतिकूल असर परेको कर्मचारीले बताए । कर संकलन रोकिँदा कार्यालयलाई दैनिक एक लाख रुपियाँ नोक्सानी भइरहेको छ ।
कर संकलन रोक लगाउनुको कारणबारे लिखित रूपमा पटकपटक जानकारी माग्दासमेत सिडिओ कोइरालाले आनाकानी गर्दै आएको स्थानीय निकाय कर्मचारी संघका अध्यक्ष मुकेश गुप्ताले बताए । उनले सिडिओको नियत बुुझ्न नसकेकाले आन्दोलित हुनुपरेको बताए ।
सिडिओ कोइरालाले जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार शंकराचार्य प्रवेशद्वारमा कर संकलनमा रोक लगाएको बताए । सिडिओ कोइरालाको मौखिक आदेशमा ७ साउनदेखि नै कर संकलनमा रोक लगाइए पनि जिल्ला सुरक्षा समितिको बैठक ९ साउनमा बसेको थियो । जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकृत लुकबहादुर क्षेत्रीले सुरुका केही दिन मौखिक आदेशबाटै रोक लगाइएको भए पनि ९ साउनमा सुरक्षा समितिको बैठक बसेर सवारी कर असुलीमा रोक लगाइएको बताए ।
सिडिओ कोइरालाले भन्सार क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले उपमहानगरपालिका कार्यालयलाई वैकल्पिक स्थानबाट कर असुली गर्न निर्देशन दिँदै भन्सार क्षेत्रबाट सवारी कर असुली गर्न रोक लगाएको बताए । उनले जिल्ला सुरक्षा समितिको निर्णयविरुद्ध हडतालमा उत्रिएको उपमहानगरपालिकाका कर्मचारी युनियनका पदाधिकारीविरुद्ध कानुनी कारबाही गर्ने चेतावनीसमेत दिए  ।

प्रतिक्रिया