एपिएफ महिला फुटबल च्याम्पियन

वीरगन्ज, १४ साउन । नेपाल पुलिसलाई २–१ ले पराजित गर्दै एपिएफले १४औँ एनसेल राष्ट्रिय महिला फुटबलको उपाधि रक्षा गरेको छ । गत वर्ष नवलपरासीमा भएको फाइनल भिडन्तामा पनि एपिएफले पुलिसलाई नै
१–० ले पराजित गरेको थियो । १४ औँ संस्करणसँगै एपिएफले राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि पाँचौँपटक आफ्नो कब्जामा पार्न सफल भएको हो । पछिल्लोपटक पुलिसले ०५५ मा पोखरामा भएको आठौँ संस्करणको उपाधि जितेको थियो । शनिबार भएको फाइनल खेलमा एपिएफका लागि कप्तान जमुना गुरुङ र अनु लामाले एक/एक गोल गरेका हुन् । पुलिसका लागि पनि कप्तान चन्द्रा भण्डारीले गोल गरेकी हुन् ।
खेलको १६ औँ मिनेटमा निरू थापाको पासमा कप्तान चन्द्रा भण्डारीले गोल गरेर पुलिसलाई १–० को अग्रता दिलाएकी थिइन् । ४३ औँ मिनेटमा एपिएफकी अनु लामाको पासमा कप्तान जमुना गुरुङले गोल गरेर खेललाई मध्यान्तरअघि एक/एकको बराबरीमा पुर्‍याउन सफल भएकी थिइन् । मध्यान्तरअघिसम्म एक/एक गोलको बराबरी रहेको खेलमा मध्यान्तर ७५औँ मिनेटमा एपिएफकी अनु लामाले निर्णायक गोल गरेर एपिएफलाइ उपाधि दिलाउन सफल भएकी हुन् । मध्यान्तरपछिको २० आँै मिनेटमा मैदानको मध्यभागबाट निरू थापाले लगेर डिबक्स भित्रबाटै प्रहार गरेको बल एफिएफकी गोलरक्षक चन्द्रादेवी दाहालले रोक्न सफल भएपछि पुलिसका लागि सबैभन्दा ठूलो दुर्भाग्य साबित भएको थियो । पुलिसकी कप्तान चन्द्रा र निरूले एकअर्कासँग तालमेल मिलाउँदै एपिएफको गोल पोस्टमा करिब आधा दर्जन प्रहार गरे पनि गोल रक्षक चन्द्रादेवी दाहालले आकर्षक बचाउ गरेकी थिइन् । त्यस्तै एपिएफका खेलाडीले गरेका तीन सशक्त प्रहार पनि पुलिसकी गोल रक्षक नमिता दलीले बिफल तुल्याएकी थिइन् । पहिलो गोलको अग्रता लिएसम्मको अवधिमा पुलिसका खेलाडी एपिएफका खेलाडी माथि हाबी भएका थिए । तर, एपिएफले गोल फर्काएर बराबरी गरेपछि भने एपिएफका खेलाडी पुलिसमाथि हाबी भएका थिए ।
एपिएफका प्रशिक्षक मिलन राईले आफ्ना टिमका खेलाडीले छोटोछोटो पास खेलेकाले नतिजा आफ्नो पक्षमा आएको प्रतिक्रिया दिए । उनले आफूले अपेक्षा गरेभन्दा बढी नै पुलिसले चुनौती दिएको बताए । ‘पुलिसका खेलाडीहरू बलपासमा कमजोर देखिए,’ सौर्यसँगको कुराकानीमा उनले भने । यसैगरी उपविजेता पुलिसका प्रशिक्षक सन्देश श्रेष्ठले आफ्नो टिमको प्रदर्शन सन्तोषजनक रहेको बताए । मध्यान्तरपछिको खेलमा निरूले गरेको गल्तीले नतिजा विपक्षीको हातमा गयो । एपिएफको टिममा राष्ट्रिय टोलीका १० तथा पुलिसमा तीनजना थिए । पुलिसकी कप्तान चन्द्रा भण्डारीले पनि आफ्ना खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताइन् ।
उपाधिसँगै विजेता एपिएफले तीन लाख तथा उपविजेता पुलिसले एक लाख ५० हजार रुपियाँ पुरस्कार पायो । यसैगरी सेमिफाइनलमा पुग्ने अरू दुई टोली कैलाली र नेपाल आर्मी क्लबले ५०/५० हजार रुपियाँ पाए ।
प्रतियोगितमा सर्वाधिक १२ गोल गर्न सफल एपिएफकी अनु लामा उत्कृष्ट खेलाडीको उपाधि पाएकी छन् । उनले उत्कृष्ट खेलाडीको उपाधिसँगै स्कुटी हात पारेकी छन् । यसैगरी प्रतियोगितामा १२ गोल नै गर्न सफल पुलिसकी कप्तान चन्द्राले बेस्ट फर्वाडको उपाधि पाएकी छन् । बेस्ट गोल किपरको उपाधि एपिएफकी गोलकिपर चन्द्रादेवी दाहाल, बेस्ट मिड फिल्डरको उपाधि एपिएफकै सजना राणा र बेस्ट डिफेन्डरको उपाधि पनि एपिएफकै भगवती थापाले पाउन सफल भएकी छन् । उनीहरू सबैले २५/२५ हजार रुपियाँ पुरस्कार पाएका छन् ।

प्रतिक्रिया