काठमाडौं, १४ साउन । गत आर्थिक वर्षमा उद्योगव्यवसाय सञ्चालनका लागि व्यावसायिक फर्म दर्ता गर्नेको संख्यामा अत्यधिक वृद्धि भएको छ ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका अनुसार आर्थिक वर्ष ०६८/६९ मा सात हजार एक सय ६ वटा रासन, फलफूल, मदिरा, सागसब्जी, किराना पसललगायत व्यावसायिक फर्मले सञ्चालनको अनुमति लिएका छन् ।
विभागमा दर्ता भएका ती कम्पनीबाट सरकारलाई ६ करोड ३० लाख ३७ हजार राजस्व प्राप्त भएको विभागका निर्देशक शंकरप्रसाद पौडेलले बताए । बजार अनुगमनमा भएको वृद्धिसँगै व्यवसाय दर्ता गर्नेको संख्यामा पनि उल्लेख्य बढोत्तरी भएको दाबी गर्दै उनले अघिल्लो आवमा निजी व्यवसाय गर्न ६ हजार आठ सय २१ जनाले अनुमति लिएका जानकारी दिए ।
बजार अनुगमन टोलीले सबैभन्दा पहिले व्यवसाय सञ्चालनको अनुमतिपत्र माग गर्ने भएकाले उद्यमी जागरुक भएका हुन् । विभागले बजार अनुगमनलाई व्यापक बनाएपछि व्यवसाय नवीकरण गर्नेको संख्या बढेको हो । गत आवमा आठ हजार सात सय ४८ व्यवसायीले आख्नो फर्म नवीकरण गराएका निर्देशक पौडेलले बताए ।
सोही आवमा विभागले साझेदारीका दुई सय ८५ व्यावसायिक फर्म दर्ता गर्नुका साथै तीन सय ८० वटाको नवीकरण गरेको छ । त्यस्तै विदेशी कम्पनीका ५० एजेन्सीले व्यवसाय दर्ता गरेका छन् । विभागले पाँच हजार चार सय दुई साना आयातकर्ता कम्पनीलाई आयातको अनुमति दिएको जनाएको छ । विभागले २५ हजार अमेरिकी डलरसम्मको आयात गर्ने कम्पनीलाई आयातको अनुमति दिने गरेको छ ।
साना आयातकर्ताले भारत र चीनबाट वस्तु तथा सेवाको आयात गर्दै आएका छन् । विभागको अभिलेखअनुसार बितेका केही दिनयता चीनबाट आयात हुने वस्तुको मात्रा अत्यधिक बढेको छ । विभागले बजार अनुगमनलाई तीव्र रूपमा अघि बढाए पनि काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका करिब ४० प्रतिशत व्यवसाय विभागमा दर्ता नभई सञ्चालन भएको अनुमान गरिएको छ । व्यवसाय दर्ता ऐनअनुसार निजी फर्महरू नगरपालिका वा गाविस अथवा विभागका कार्यालयमा दर्ता हुनैपर्छ । १० लाखभन्दा बढीको पुँजीमा सञ्चालन हुने ठूला उद्योगले भने कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुनुपर्ने कानुनी प्रावधान छ ।
प्रतिक्रिया