दूध उत्पादनमा ४ प्रतिशतले वृद्धि

इलाम, १४ साउन । इलाममा दूध उत्पादनमा ६ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ०६८/६९ को असार मसान्तसम्म इलाममा एक लाख पाँच हजार नौ सय ७८ मेट्रिक टन दूध उत्पादन भएको थियो ।

जसमध्ये गाईबाट ९५ हजार एक सय ३२ मेट्रिक टन र भैंसीबाट १० हजार आठ सय ४६ मेट्रिक टन दूध उत्पादन र बिक्री भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ । अघिल्लो आव ०६७/६८ मा इलाममा गाई र भैंसीबाट ९९ हजार पाँच सय १३ मेट्रिक टन दूध उत्पादन भएको थियो । त्यस्तै आव ०६३/६४ मा ६५ हजार एक सय चार मेट्रिक टन, आव ०६४/६५ मा ६५ हजार आठ सय ७६ मेट्रिक टन, आव ०६५/६६ मा ६६ हजार आठ सय ७५ मेट्रिक टन र आव ०६६/६७ मा ६७ हजार आठ सय ९५ मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
आव ०६३/६४ देखि हालसम्मको तथ्यांकलाई तुलना गर्दा व्यावसायिक पशुपालन व्यवसायमा किसानको संख्या बढ्नुका साथै दूध दिने पशुको संख्यामा पनि वृद्धि भएको छ । किसानले उन्नत जातको गाई पाल्न थालेकाले दूधको उत्पादन बढेको जिल्ला पशुसेवा कार्यालय इलामका चिकित्सक डा. कुमारसिंह खत्रीले बताए । आव ०६८/६९ को इलाममा ४२ हजार एक सय १४ दुधालु र उन्नत गाई र छ हजार पाँच सय १८ उन्नत किसिमका भंैसी रहेको पशुसेवा कार्यालयले जनाएको छ ।
यसैबीच आव ०६८/६९ मा दूध बिक्रीबाट इलामका किसानले दुई अर्ब ९६ करोड ७३ लाख ८४ हजार रुपियाँ हात पारेका छन् । किसानले प्रतिलिटर २५ देखि ३० रुपियाँका दरले दूध बिक्री गरेका थिए । ‘मूल्यमा वृद्धि हुनुका साथै पशुमा उन्नत जातको साँढे वा राँगाको प्रयोगले उन्नत गाई–भंैसीका संख्या बढेकाले दूध उत्पादान बढेको हो,’ कार्यालयका चिकित्सक डा. खत्रीले भने, ‘कृत्रिम गर्भाधान सेवामा समेत वृद्धि भएकाले दूध उत्पादन वृद्धिमा सहयोग पुगेको छ ।’
पछिल्लो समयामा विभिन्न नगदेबालीमा देखापरेका रोगका कारण जिल्लाका ५५ हजार बढी किसानले व्यावसायिक गाई पालन सुरु गरेका छन् । जिल्लाको बरबोटे, माईपोखरी, जमुना, पशुपतिनगर, फिक्कल, नयाँबजार, पञ्चकन्या, सुलुबुङ, गोर्खे, सुम्बेक, सोयाङ, कन्याम, श्रीअन्तु, कोलबुङ, लक्ष्मीपुरलगायत दर्जनौँ गाविसका किसानले व्यावसायिक पशुपालन गरी दैनिक पाँचदेखि ४० लिटरसम्म दूध बिक्री गर्दै आएका छन् ।
दुग्ध विकास संस्थान विराटनगरले दूध संकलनका लागि बिब्ल्याँटे, शान्तिडाँडा, पुवाखोला, लक्ष्मीपुर, फिक्कल र कट्टीडाँडामा दुग्ध चिस्यान केन्द्र स्थापना गरेको छ । विभिन्न दुग्ध सहकारीमार्फत ती केन्द्रमा दूध संकलन भएर दैनिक ९० हजार लिटर दूध विराटनगर निकासी हुँदै आएको छ । साथै विभिन्न स्थानमा खुलिएका निजी तथा सहकारी कारखाना, ललिपप उद्योग र निजीस्तरका डेरीले पनि किसानले उत्पादन गरेको दूध खपत गर्दै आएका छन् ।

प्रतिक्रिया