राष्ट्रप्रेमी बिपी

भाइबहिनीहरू, नेपाल यो अवस्थासम्म आइपुग्नुमा धेरै महान् मानिसको योगदान छ । मुलुकलाई राणाशासनको अन्धकार युगबाट प्रजातन्त्रको उज्यालोसम्म ल्याइपुर्‍याउन धेरै मानिसले योगदान गरेका छन् । उनीहरूलाई आज पनि हामी उत्तिकै सम्झने गर्छांै । नेपालको इतिहासमा बेला–बेलामा निमोठिएको प्रजातन्त्रलाई ब्युँताएर जनतालाई जागरुक र सार्वभौम बनाउन पनि महापुरुषहरूले निकै योगदान गरेका छन् । त्यस्तै, महापुरुषमा गनिन्छन् बिपी कोइराला । उनको खास नाम विश्वेश्वरप्रसाद कोइराला हो । साहित्यमा यिनी विश्वेश्वरका नामले चिनिन्छन् भने राजनीतिमा बिपीले ।
बिपीको जन्म वि.सं. १९७१ भदौ २४ गते भएको थियो । उनी कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाका सन्तान थिए । उनको परिवारलाई तत्कालीन राणा सरकारले देशनिकाला गरेको थियो । त्यसैले उनी आºनो परिवारसँगै भारतको बनारसमा बस्थे । वि.सं. १९८६ मा राणा प्रधानमन्त्री चन्द्रशमशेरको निधनपछि कोइराला परिवार स्वदेश फर्केको थियो । वि.सं. १९९२ मा ‘शारदा’ पत्रिकामा ‘चन्द्रवदन’ नामको कथा प्रकाशन गरेर उनले नेपाली साहित्ययात्रा प्रारम्भ गरेका थिए ।
उनी प्रजातन्त्रका लागि आन्दोलनमा होमिए । त्यस क्रममा पटक–पटक जेल पनि परे । भारतमा चलिरहेको स्वतन्त्रता संग्राममा पनि यिनको संग्लग्नता रह्यो । टंकप्रसाद आचार्यसँग मिलेर बिपीले नेपाली राष्ट्रिय कांग्रेस पार्टी स्थापना गरे । उनी पटक–पटक त्यस पार्टीका सभापति पनि रहे । ०१५ सालमा नेपालमा आमचुनाव भयो । त्यसबाट उनी प्रधानमन्त्री बने । उनलाई नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भनिन्छ । तर, ०१७ सालमा फेरि राजा महेन्द्रले सत्ताको बागडोर सबै आफूमा लिई दलहरूमाथि प्रतिबन्ध लगाए । त्यसबेला बिपीलाई जेल हालियो । ०२५ सालमा जेलमुक्त भएपछि उनी फेरि निर्वासित जीवन बिताउन गए । मेलमिलापको नीति लिएर पुन: स्वदेश फर्कंदा उनलाई निरंकुश पञ्चायत सत्ताले जेल हाल्यो । अन्तत: ०३६ सालमा भएको जनमत संग्रहमा सुधारिएको पञ्चायतले जित्यो । यद्यपि, पूर्ण प्रजातन्त्र भने आइसकेको थिएन । उनलाई रोगले च्यापिरहेको थियो । र, ०३९ साउन ६ गते उनको निधन भयो ।
नेपाली साहित्यमा उनको विशिष्ट देन छ । उनले तीन घुम्ती, नरेन्द्र दाइ, सुम्नीमा, मोदिआइन, हिटलर र यहुदीलगायत उत्कृष्ट कृति रचना गरेका छन् । उनलाई सुन्दरीजलको जेलमा राखिएको थियो । उनले अधिकांश कृति जेलमै लेखेका थिए । उनले लेखेको जेल जर्नेल उत्तिकै चर्चित छ । बिपी नेपाली समाजको आमूल परिवर्तन गर्न चाहन्थे । आºनो प्रधानमन्त्रीत्वकालमा उनले थुप्रै सुधारवादी काम गरेका थिए । उनी विदेशमा पनि उत्तिकै प्रिय मानिन्थे । उनलाई आज पनि नेपाली राजनीति र साहित्यमा महत्त्वपूर्ण हिसाबले सम्झिने गरिन्छ । उनको व्यक्तित्व र जीवनलाई हेरेर कसै–कसैले महामानवको संज्ञा पनि दिएका छन् ।

प्रतिक्रिया