बझाङको दौलीचौरमा एकको हत्या

कैलाली, १४ साउन । पाँच वर्षदेखि दुई गाउँलेबीचको आपसी झगडामा परेर ६ जनाको हत्या भइसकेको बझाङको दौलीचौर–९ घोगाडामा थप एकको हत्या भएको छ ।

घोगाडाका ३५ वर्षीय वीरबहादुर बोहराको बिहीबार बेलुका सोही गाउँका ६ जनाको एक समूहको कुटपिटबाट हत्या भएको हो । बिहीबार बिहान सदरमुकाम चैनपुरबाट खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य सामग्री लिएर बोहरा र उनका आफन्त घर गइरहेका बेला दौलीचौर गाविसको डोगडीमा धारिलो हतियार प्रयोग गरी कुटपिटमा परेका हुन् ।
कुटपिटपछि गम्भीर घाइते बोहरालाई शुक्रबार बिहान जिल्ला अस्पतालमा उपचारका लागि ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । मृतकका आफन्तले सोही ठाउँका रंगलाल बोहरासहितको टोलीले कुटपिट गरेर हत्या गरेको जाहेरी प्रहरी कार्यालयमा दिएको डिएसपी सागर बोहराले बताए । हत्याका आरोपित रंगलाल गत वर्ष यार्सागुम्बा संकलन गर्न गएका सोही गाउँका १८ वर्षीय सत्यराज बोहरालाई कुटपिट गरी हत्या गरेको अभियोगमा थुनामा परेका व्यक्ति हुन् । उनलाई पुनरावेदन अदालत डोटीका मुख्य न्यायाधीश दीपकराज जोशीले जिल्ला भ्रमण गर्न आएका बेला गत फागुनमा दुई लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।
हत्याको अभियोगमा थुनामा परेका व्यक्तिलाई पुनरावेदन अदालतका मुख्य न्यायाधीश जोशीले रंगलालबाट घुस खाएर धरौटीमा रिहा गर्दा उनले फेरि अर्कोलाई मारेको भन्दै आक्रोशित वीरबहादुरका आफन्तजनले शुक्रबार दिउँसो जिल्ला अदालत बझाङमा ढुंगामुढा र अदालतविरुद्ध चर्का नाराबाजीसमेत गरेका छन् ।
घोगडामा पुजारा र नायक परिवारको पाँच वर्षदेखि झगडा हुँदै आएको छ । एक सय ५० घरपरिवार रहेको यो गाउँमा हत्याका घटना भइरहँदा पनि प्रहरी प्रशासनले चासो नदिएकाले अपराधीले प्रश्रय पाएर घटना दोहोरिने गरेको नागरिक समाजका अगुवा धर्मजंग सिंहले बताए । बारम्बार घटना भइरहने गाउँको झगडामा राजनीतीकरण भएको छ । पुजारा परिवार एमाले समर्थक हुन् भने नायक परिवार कांग्रेस समर्थक हुन् ।

प्रतिक्रिया