प्रधानमन्त्री र मन्त्रीहरुका कार्यक्रममा अवरोध गर्ने

काठमाडौं, १३ साउन । एमाले निकट यूवा संघ नेपालले सरकारले पूर्व पदाधिकारीहरुलाई दिएको सुविधाको गाडी कब्जा गर्ने चेतावनी दिएको छ ।
संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सुविधाका सवारी साधन कब्जा गर्ने जनाएको हो । उसले सरकार विरुद्ध १० दिने आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।
कार्यक्रम अनुसार साउन १४ गते उपत्यका भेला, साउन १६ र १७ गते बानेश्वरमा ४ बजे आधा घण्टा चक्का जाम गर्ने, साउन १८, १९ र २० गते ७५ जिल्लामै ४ बजेपछि आधा घण्टा चक्का जाम गर्ने, २० गते साँझ मसाल जुलुस, साउन २१ र २२ गते विहान ६ बजेदेखि १० बजेसम्म उपत्यका बन्द गर्ने लगायतका रहेका छन् ।
साउन २३ र २४ गते विहान ६ देखि १० बजेसम्म नेपाल बन्द र बर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरुको कार्यक्रममा अवरोध पुराउने तथा कालो झण्डा देखाए बहिस्कार गर्ने संघले जनाएको छ ।
अध्यक्ष महेश बस्नेतले राजनीतिक दलहरुवीच सहमतिको सम्भावना क्षीण बन्दै गएको भन्दै सरकार नसुध्रिए प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने बताए ।
नेपालका आईएनजीओले वैदेशिक हस्तक्षेप बढाएको दावी गर्दै बस्नेतले उनीहरुका क्रियाकलाप र गतिविधिका विषयमा संघले हस्तक्षेपकारी अभियान अगाडि बढाउने बताए । त्यसका लागि उपाध्यक्ष हीराबहादुर केसीको संयोजकत्वमा समिति गठन गरेको उनले जनाए ।

प्रतिक्रिया