नाटकमा नारी पात्र

२०५० असोजको कुरा हो । उदयपुर, कटारीको ‘ज्योतिपुञ्ज नाटय समूह’बाट नयाँ नाटक ‘मृतसहर’ देखाउने तयारी भइरहेको थियो । यस समूहबाट नाटक तयार गर्नु पर्दा साथीहरू मलाई नै नाटक लेख्ने र निर्देशन गर्ने जिम्मा दिन्थे । त्यो बेलासम्म पनि मैले नाटक र रंगमञ्चको औपचारिक प्रशिक्षण कतैबाट लिएको थिइनँ ।
उदयपुरको कटारीबजार मेरो जन्मथलो हो । यहीँको माटोसँग खेल्दै र उकाली ओराली गर्दै मैले रंगमञ्चमा पाइला चाल्न जानेको हुँ । उदयपुरको प्रमुख व्यापारिक केन्द्र समेत भएकाले यहाँ उदयपुर, सिंधुली, ओखलढुंगा, सोलुखुम्बु, सिरहा, सप्तरीसम्म मानिसहरूको आउजाउको थलो बनेको थियो । महाभारत पर्वत र चुरे पहाडको बीचमा रहेको कटारीबजार सानो उपत्यका जस्तो ठाउँ हो । मेरा रंगमञ्चीय यात्राका प्रारम्भिक दिनका धेरै रमाइला क्षण कटारीसँगै जोडिएका छन् ।
२०१५ सालअघिसम्म पनि अहिलेको बजार रहेको ठाउँ वरिपरि घना जंगल थियो भन्ने कुरा मैले सानैमा बुबाको मुखबाट सुनेको थिएँ । यहाँका आदिवासी दनुवार र मुसहर नै हुन् । पछि ठाउँको विकाससँगै बीसको दशकदेखि यहाँ पहाड र मधेसबाट मानिसहरू बसाइँ सराइ गरी आउन थाले । यसरी धुलिखेलबाट व्यापार गर्ने सिलसिलामा आएका नेवार समुदायका मानिस र मधेसबाट व्यापारको सिलसिलामा नै आएका मधेसी मूलका मानिसको बाहुल्य पनि बढ्दै गयो । मलाई तीसको दशकको अन्तयदेखि पातलो सम्झना छ– कटारीमा विभिन्न समुदायका स्थानीय वासिन्दाले महिनाँै लगाएर नाटकको तयारी तथा प्रदर्शन गर्ने गर्थे । कटारीमा तीस र चालीसको दशकमा मञ्चित नेपाली, नेवारी, हिन्दी र मैथिली भाषाका नाटकको पूर्वाभ्यास र प्रदर्शनी हेरेर नै मैले नाटक गर्ने ज्ञान पाएको हुँ ।
त्यो बेला सानैमा नाटकका लागि राम्रो कथा र अभिनयमा रुचि भएका साथी चाहिन्छ भन्ने बुझेँ । त्यसैले पनि २०४८ सालमा ‘ज्योतिपुञ्ज’को स्थापना गरी यही कुराको अभ्यास थालेका थियौँ । कटारीमा २०४४ सालतिरै साझा प्रकाशनको शाखा कार्यालय खुलिसकेको थियो
(द्वन्द्वकालमा साझा हटाइयो) । साझा प्रकाशनबाट मैले समजी, भीमनिधि तिवारी, सरूभक्त, विजय मल्लले लेखेका पाएजति नाटकका पुस्तक किनेर घरमा ‘मिनी लाइब्रेरी’ बनाएको थिएँ । पुस्तक किन्नका लागि घरबाट सजिलै पैसा पाइन्थ्यो । मेरो दाजु पनि साहित्यिक पुस्तक खुबै पढ्ने गर्नुहुन्थ्यो । सायद यसले पनि लेखनतर्फ मेरो झुकाव बढ्यो ।
मलाई सरूभक्तका नाटक मन पथ्र्यो । तर सुरुमा उनका नाटक मञ्चन गरिनँ किनभने हाम्रो नाटय समूहमा नारी पात्रको भूमिकामा खेल्ने महिला कलाकार थिएनन् । त्यसैले पनि धेरैजसो नाटक लेख्दा पुरुष पात्र भएको नाटक मात्र लेखियो । मेरो पहिलो नाटक ‘चिसोबस्ती’ (२०४७) पनि महिला पात्रविहीन नाटक थियो । हाम्रो नाटय समूहमा त्यो बेला धनुषराजु राई ‘राशी’, नवीन खड्का, दिवाना क्याम्पा, सञ्जय श्रेष्ठ, अमृत रेग्मीलगायतका रंगकर्मी साथी थिए । हामी नाटक लिएर उदयपुरका विभिन्न ठाउँ पुग्थ्यौँ । सिंधुली र ओखलढुंगाका धेरै ठाउँ नाटककै सिलसिलामा गइन्थ्यो । हामी सडक नाटक वा प्रायोजित नाटक नभई विशुद्ध स्टेज नाटक लिएर विभिन्न ठाउँमा जान्थ्यौँ । विभिन्न जिल्लाका युवाक्लब र स्थानीय समूहका साथीको निम्तो आउँथ्यो अनि हामी नाटक देखाउन जान्थ्यौँ ।
प्रसंग २०५० सालकै जोड्न चाहन्छु । ज्योतिपुञ्जको नाटक ‘मृतसहर’ कटारी बजारमा टिकटसोमा देखाउने तयारी भइरहेको थियो । नाटकको आलेख तयार भयो । यस पटक भने नाटकमा मैले महिला पात्र राखेको थिएँ । तर, समस्या थियो, अब कसलाई यो भूमिकामा खेलाउने ?
‘नायिका बन्न त धनुषराजुलाई पनि सुहाउँछ नि †’ एकजना साथीले कुरा निकाल्यो । धनुषराजु राई अलि पछि हटे, ‘धत् † हुँदैन । कुनै केटी नै पो खोज्नु पर्छ त ।’
तर, कहाँबाट खोज्ने ? सबै रनभुल्लमा परे । मैले धनुषराजुलाई हेरेँ । मेरो नाटकको नायिकाका लागि उनको रूप र जिउडाल सुहाउँने खालकै थियो । महिलाको भूमिका गर्न सबैले जोड गर्‍यौँ । अनि, बल्ल राजु तयार भए नायिका बन्न । अरू साथी नवीन खड्का, सञ्जय श्रेष्ठ, सञ्जय थापा, दिवाना क्याम्पाहरू पनि नाटकका विभिन्न भूमिकामा छानिए । नाटकको रिहर्सल सुरु भयो । त्रिवेणी हाइस्कुलको कौसी हाम्रो नाटकको रिहर्सल गर्ने ठाउँ हुन्थ्यो । बिहान, दिउँसो र बेलुका सबै साथी तन–मनले लागे । आफ्नो क्षमताले भ्याएसम्म मिहिनेत गरे । नाटक प्रदर्शन भयो । नाटक तीन दिन राम्रोसँग चल्यो । टिकट काटेरै दर्शक नाटक हेर्न ओइरिए । धेरैले राजु (केटा) नै नाटकमा केटी बनेको कुरा चालै पाएनन् । धनुषराजुले धेरै मिहिनेत गरी संवाद पनि केटीकै जस्तो आवाजमा बोलेका थिए ।
‘मृतसहर’ देखाउनु धेरै अघिदेखि नै त्यस भेगमा देखाइने नाटकमा महिला कलाकारको अभाव थियो । २०३८ सालमा देखाइएको नाटक ‘दानवीर कर्ण’को अलिअलि सम्झना छ मलाई । यो नाटकका लागि चालिसभन्दा बढी कलाकारले दुई महिनासम्म पूर्वाभ्यास गरेका थिए । नाटकमा भव्य सेट, वेषभुषा, गहना र मञ्च बनाइएको थियो । राधेश्याम श्रेष्ठ, पूर्णकाजी श्रेष्ठ, लिला श्रेष्ठ, नरेश श्रेष्ठ, इच्छाराज तामाङहरूले अभिनय गरेका थिए नाटकमा । नाटकको मूल नायिका द्रौपदीको भूमिकामा अभिनय गर्ने इच्छाराज तामाङ पुरुष थिए । तर, उनले नाटकबाट धेरै राम्रो छाप छाडे । इन्जिनियर इच्छाराज तामाङ कटारीकै विद्यार्थी हुन्– जो अहिले सिभिल बैंक, सिभिल होम्सका अध्यक्ष छन् । उनी ऊ बेला सानो ज्यानका र हिस्सी परेका देखिन्थे । त्यसैले उनलाई महिलाको भूमिका दिइएको थियो सायद । ‘दानवीर कर्ण’ नाटक धेरै दिनसम्म चल्यो । त्यसको प्रभाव पनि धेरै वर्षसम्म रहिरह्यो । स्थानीय स्तरमा स्थानीय बासिन्दाकै पहलमा त्यसरी लाखौँ खर्च गरेर कटारीमा देखाइएको त्यो नै पहिलो नाटक थियो । नाटकमा प्रयोग गरिएका पर्दा र भेषभूषा पछिसम्म पनि हामी लगायत अरू नाटयसमूहले नाटक देखाउँदा प्रयोग गर्ने गर्थे । कटारीमा तीस र चालीसको दशकमा थुप्रै हिन्दी र मैथिली नाटक मञ्चन भए । नाटकमा प्रयोग हुने सामग्री र भेषभूषामा खर्च गर्न कुनै कन्जुस्याइँ गरिदैनथ्यो । नाटकका कतिपय सामान कटारीमै बनाउथेँ भने कतिपय जयनगरबाट ल्याउने गर्थेँ । तर, ती नाटकमा महिला पात्रको भूमिकामा भने पुरुषले नै अभिनय गरेको मैले धेरै पटक देखेँ । त्यो अभाव हाम्रो प्रारम्भिक अवस्थासम्म रहीरह्यो ।
काठमाडौँ आएपछि मैले धेरै समय त्यो समस्या भोग्नु परेन । २०५६ सालमा राष्ट्रिय नाटक महोत्सवमा साथी हेमन्त गौतमसँग मिलेर खोजिएको विप्लव ढकालको नाटक ‘निलाम्बरको आकाशयुद्ध’ नै महिला कलाकार नराखिएको मेरो अहिलेसम्मको अन्तिम नाटक बन्यो । यसपछि म सम्झन्छु– दिपावली शर्मा (मान्छे–मान्छेहरू), कृष्णा गौतम (पत्थरको कथा), प्रिया पाण्डे (हारेका मान्छेहरू), रोजिना श्रेष्ठ (आवाजहीन आवाज), लक्ष्मी पाण्डे (कोलाज), रिता थापा (क्रमश: नायिकाहरू), दिपा पाण्डे बस्नेत (विस्थापन), उत्साह जोशी (आवरण–अनावरण), गुञ्जन खड्का (अतिरिक्त यात्रा), रश्मी अमात्य (मौन आवाज) आदिले मेरा दर्जनौँ नाटकमा निकै प्रभावशाली अभिनय गरेका थिए । उनीहरूको रंगमञ्चीय यात्रामा यी नाटकहरूले निकै सघाउ पनि पुर्‍यायो ।
नाटकमा महिला कलाकार नपाउने समस्या पहिलेजस्तो अहिले छैन । पचासको दशकका मध्यसम्म पनि रंगमञ्चमा महिला कलाकारको अभाव देखिन्थ्यो र पनि नेपाली रंगमञ्चमा लामो समयसम्म रंगकर्म गर्ने महिला कलाकार भेट्न अझै पनि मोफसलमा हम्मेहम्मे नै पर्छ । नाटकमा टेलिभिजन र चलचित्रमा जस्तो व्यावसायिकता, चमकदमक र चर्चा–परिचर्चा हुँदैन । त्यसैले पनि यो स्थिति देखिएको हो । वास्तवमा शकुन्तला गुरुङ, निशा शर्मा, सरिता गिरीजस्ता रंगमञ्चमा समर्पित कलाकारको अझै पनि धेरै खाँचो छ नेपाली रंगमञ्चमा ।
ककक

प्रतिक्रिया