शिष्यो वदेन्यं भवदेव रूपं
ज्ञानं सदा श्री वदैव तुल्यं
आत्मोन्नतं पूर्व मदैव सिन्धुं
पूर्णत्वरूपं भव शिष्य श्रेयं
यो वाल्मिकी रामायणको प्रथम काण्डको श्लोक हो । वाल्मीकिको जीवनको आधा भाग मानिसलाई लुटपाट गर्दैमा व्यतीत भयो । जसरी मैले भन्ने गर्दछु– ठक्कर लाग्छ भने एक सेकेन्डमै लाग्छ । जीवन परिवर्तन हुन्छ भने सेकेन्डभरमै परिवर्तन हुन्छ । नभए जीवनभरमा पनि हुँदैन ।
एकपल्ट नारद बाटोमा ‘नारायण नारायण’ भन्दै हिँडिरहेका थिए । वाल्मीकिले उनलाई समाते । साथमा जे छ, आफूलाई दिन दबाब दिए । नारदले भने, मसँग त केही पनि छैन । यही एउटा तंबुरु हो जसबाट म ‘नारायण नारायण’ ध्वनि निकाल्ने गर्छु । वाल्मीकिले भने– ठीक छ तंबुरु नै भए पनि देऊ । बिहानदेखि केही पाएको छैन । नारदसँग अरू केही थिएन । वाल्मीकिले सोचे– अपशकुन भयो, बिहान–बिहानै यो कस्तो मान्छे भेटियो । नारदले सोधे– तिमी गर्छौ के ? वाल्मीकिले भने– म मानिसलाई लुट्छु र आफ्नो परिवार चलाउँछु । नारदले फेरि सोधे– तिमी कसका लागि गर्छौ यो सब, किन गर्छौ ? वाल्मीकिले जवाफ दिए– मलाई आफ्नो परिवारको पालनपोषण गर्नुछ । मेरी पत्नी छे, पुत्र छ, बच्चा छ, मातापिता छन् । ती सबैलाई भोजन जुटाउनुपर्छ ।
नारदले भने– अर्कालाई लुट्नु, कुटपिट गर्नु, हत्या गुर्न के यो सब उचित हो ? पाप हो कि पुण्य हो ? वाल्मीकिले भने– म पनि बुझ्छु यो पाप हो, यसका लागि मैले जीवनमा दु:ख भोग्नै पर्छ ।
किनभने, हामी जे पाप गर्छौं यसै जीवनमा भोग्नुपर्छ । मृत्युपछि कुनै पाप–पुण्य या स्वर्ग–नरकजस्तो कुनै वस्तु छैन । मरेपछि मानिस स्वर्ग जान्छ भन्ने एउटा कल्पना हो । मानिसले जे–जे भोग्छ यसै जीवनमा भोग्छ– नरक भोग्नु छ भने पनि यसै जीवनमा भोग्छ । जब नरक हेर्न मन लाग्छ अस्पतालमा गएर हेरे हुन्छ । स्वर्ग हेर्न मन लाग्छ भने कुनै मन्दिर या हरिद्वारा गंगाजस्ता राम्रा पवित्र स्थानमा गएर हेर्दा हुन्छ । दुवै अवस्था यही नै छ । यदि अलिकति पनि पाप कर्म गर्यो भने यसै जीवनमा भोगेर पार पाउनुपर्छ । अन्त्यमा अपजस नै मिल्छ । पापी छ भने मरेपछि पनि सबैले भन्छन्– दुष्टात्मा थियो, धूर्त मान्छे थियो, बदमास छली मान्छे थियो मरेर गयो । नारदले सोधे– तिमीलाई पाप गरिरहेको छु भन्ने थाहा हुँदाहुँदै किन फेरि यही काम गरिरहन्छौ त ? यो पाप तिमीले भोग्नै पर्छ, हातखुट्टा शिथिल हुन्छन् । बिरामी हुनेछौ, अशक्त–असहाय हुनेछौ, अपजसको भागी हुनेछौ ।
वाल्मीकिले भने– यस्तो पनि कहीँ हुन्छ । मैले पाप–धर्म जे गरे पनि त्यसको भागी पत्नी पनि हुन्छे, आधा फल त उसैलाई मिल्छ । नारदले दोहर्याए– तिमीले जेजस्तो गर्छौं, त्यसको फल तिमीलाई नै प्राप्त हुन्छ, तिम्री पत्नी, तिम्रा सन्तान, आमाबा भागीदार हुँदैनन् ।
नारदले एउटा सानो चिन्तन वाल्मीकिलाई दिए । तर, वाल्मीकिले ठाने– साधु गफ मार्दै छ । यी साधुहरूको काम नै यही हो । नारदले फेरि भने– तिमीलाई विश्वास छैन भने पत्नीसँग सोधेर आऊ ।
वाल्मीकिले भने– तिमीले साँच्चै भाग्ने दाउ खोजेको हो ? त्यसैले मलाई उक्साइरहेका छौ । नारदले थपे– तिमी मलाई यो रूखमा बाँध र घरमा गएर बुझेर आऊ ।
वाल्मीकिले नारदलाई रूखमा बाँधेर राखे अनि घर गएर पत्नीसँग सोधे– हेर् † मैले तँलाई सुनका सिक्री ल्याएर दिएको छु । एक धार्नी सुनको सिक्री तँसँग होला । तँलाई थाहा छ, त्यो सब मैले कहाँबाट ल्याएँ ? पत्नीले जवाफ दिई– लुटमार त गर्छौ नि, अरू के गर्छौ र † वाल्मीकिले भने– एकजना साधु भेट भयो, उसले त भन्दै थियो, यो पाप हो ।
पत्नीले जवाफ दिई– निश्चित रूपले यो पाप नै हो । बिहान सबेरै उठ्नु भगवान्को पूजा–भजन गर्नु, क्षमा माग्नु र सत्मार्गमा हिँडाउन प्रार्थना गर्नु पो पुण्य हो । वाल्मीकिले भने– तँ मेरी पत्नी होस्, जुन पाप मैले गरिरहेको छु, त्यसको आधा फल त तैँले भोग्नै पर्छ । आधा म भोगुँला ।
पत्नीले जवाफ दिई– आधा फल भोग्न म तिमीसित आएको होइन । पाप गर्छौ भने त्यसको फल तिमी आफैँले भोग्नुपर्छ, म भागीदार कसरी हुन्छ † मलाई भोजन गराउनु नगराउनु तिम्रो कर्तव्य हो । म तिम्रो पापमा भागीदार छैन । ठूलो झड्का लाग्यो, वाल्मीकिलाई मेरी पत्नी जसका लागि म यो सबथोक गरिरहेको छु ऊ पाप बाँड्न अस्वीकार गरिरहेकी छे । वाल्मीकि आमा कहाँ पुगे, ‘आमा म जीवनको यो अवस्थासम्म अत्यन्त मसुर डाँका बनेँ । रोज आठ/दशजनाको त ज्यानै लिन्छु, मलाई पाप लाग्छ ?’ उनले सोधे । आमाले भनिन्– तैँले खुब भोग्छस्, वृद्धावस्थामा ज्यादै दु:ख पाउँछस्, यत्ति ठूलो दु:ख कि मर्न खोज्दा पनि मर्न सक्दैनस् । यो पाप हो, घोर पाप हो । वाल्मीकिले भने– तिमी मेरी आमा हौ । म तिम्रो कोखबाट जन्मेको हुँ । यसको फल तिमीले पनि केही त भोग्नै पर्छ ।
आमाले अस्वीकार गर्दै भनिन्– म तेरो आमा पक्कै हुँ तर तेरो पापको हिस्सेदार होइन । तँ यदि खान दिन्छस् भने खान्छु । मेरो काम यत्ति हो । यसले वाल्मीकिलाई ठूलो दु:ख र आघात पुर्यायो । यति गहिरो आघात पुग्यो कि पहिलोपल्ट उनका आँखाबाट आँसु आयो । उनी फर्केर गए र नारदलाई बन्धनबाट मुक्त गरे अनि नारदका चरणमा पर्दै भने– म ठूलो भुलमा थिएँ । मलाई लाग्थ्यो– पत्नी, छोरा मेरा हुन्, आमा मेरी हुन् तर आज मलाई थाहा भयो यिनीहरू कोही मेरा होइनन् । यी सब स्वार्थले बाँधिएका छन् । यो स्वार्थ टुट्ने हो भने यिनीहरू एकएक गरेर पाखा लाग्नेछन् । नारदले सम्झाए– मैले त पहिल्यै भनेको थिएँ तिमी एक्लै आयौ, एक्लै जानेछौ, केही कमाउँछौ भने आफैँ कमाउँछौ, फल पनि तिमी आफैँलाई मिल्छ । पुण्य गर्यौ भने तिमी नै धनवान् प्रतिष्ठावान्, ऐश्वर्यवान्, सौभाग्यवान् बन्नेछौ । पाप गर्यौ भने तिमी आफैँले भोग्ने हो ।
वाल्मीकिले भने– आजदेखि तपाईंलाई आफ्नो गुरु मान्छु । मलाई यस्तो गुरुमन्त्र दिनुहोस् जसका माध्यमबाट पापको प्रायश्चित्त गर्न सकूँ ।
अनुवाद–शिव ढकाल
(मन्त्र–तन्त्र–यन्त्र विज्ञान पत्रिकाबाट)
प्रतिक्रिया