बिजुलीको कथा

काभ्रेको सबैभन्दा विकट क्षेत्र डाँडापारी । डाँडापारीको पनि डाँडापारि हो–भाङ्टारबेँसी । डाँडागाउँ गाविसको भाङ्टारबेँसी पुगेर फर्कनेहरूलाई धेरै दिनसम्म लाग्न सक्छ– धन्न बाँचेर फर्किएँ । भाङ्टारबेँसीसम्म पुग्ने उकालोको बाटो एउटा लामो सिन्दुरे धर्कोर्ेजस्तो देखिन्छ । त्यो धर्को ठूलो भीर हो, जहाँ मान्छेको हिँडाइ बडो सकसपूर्ण हुन्छ तर पनि नियति यस्तो छ कि हिँड्नैपर्छ । प्रकृतिको चर्को यातना त छँदै छ, त्यसमाथि दयनीय गरिबी त्यही कालो पहाडजस्तै ठिंग उभिएको छ भाङ्टारबेँसीमा । त्यहाँ यदाकदा झुल्किने सरकारी, गैरसरकारी संघसंस्थाका विकासले माखो मार्न सकेको छैन ।
जंगल पुगेर दाउरा ल्याउनुपर्ने, दियालो बाल्नुपर्ने अनि एक लिटर मट्टितेलका लागि त्यो कहालीलाग्दो भीरलाई पार गरेर यातायात सुविधाले कतै नछोएको डाँडापारीका धेरै गाउँ पार गर्दै दुई दिन लगाएर सदरमुकाम धुलिखेल पुग्नुपर्ने बाध्यता पनि उनीहरूका लागि कम्ती पीडादायी थिएन । अरू गाउँ बिजुलीले झलमल्ल भएको देख्दा भाङ्टारवासी आफ्नो गाउँमा बिजुली बलेको कल्पना गर्थे ।
गोकुलेलगायत छिमेकी गाविसमा सहर पुगेर बिजुली माग्दा गाउँ नै उज्यालो भएको थाहा पाएपछि भाङ्टारवासी बिजुली खोज्दै सदरमुकाम पुगे । विभिन्न सरकारी निकाय, गैरसरकारी संघसंस्था धाउन थाले तर कसले सुन्ने उनीहरूलाई ?
०६० सालतिर गाउँलेहरू ‘वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र’को धुलिखेल शाखा पुगे, गाउँ अँध्यारोमै बाँचेको सुनाए । केन्द्रले गाउँमा बत्ती बालिदिने आश्वासन दियो । प्रवद्र्धन केन्द्रको सहयोगमा जिल्ला ऊर्जा शाखाले रिमरेकको समुदाय परिचालनमा चाउखोला लघु जलविद्युत् आयोजना बनाउनका लागि सर्भे टोली गाउँ पुगेपछि थोरैलाई नयाँ आशा जाग्यो । यातायात, सञ्चार, विद्युत्, स्वास्थ्य, शिक्षाजस्ता आधारभूत पूर्वाधार पनि नपुगेको गाउँमा अक्सर कोही पनि जाँदैनन् । ‘आयोजना अघि बढाउन जाँदा धेरैले ज्यान जोगाएर भाङ्टारबेँसी पुग्न र फर्कन पनि गाह्रो छ भनेका थिए, बाटो पनि त्यस्तै कठिन रहेछ,’ रिमरेकका समुदाय परिचालन संयोजक महेन्द्र भट्टराईले सम्झिए ।
विकटवासीले बिजुली बाल्ने योजना पनि बनाए, ऊर्जाले साथ पनि दियो, साह्रै गरिब गाउँलेले आयोजनाका लागि सुरुमा एक/एक हजार रुपियाँ उठाए । तर, ज्यानको बाजी थापेर टर्वाइन, जेनेरेटर, एलसी बोर्डलगायत विद्युत् सामग्री गाउँँसम्म पुर्‍याउन सक्ने अवस्थै थिएन ।
अनेक विकल्पको खोजी गरियो । कि गाउँमा बाटै खनेर सामान लैजाने ? त्यो डरलाग्दो भीरमा बाटो खन्ने हिम्मत उनीहरूले गरे । तर, सुरुवाती काममात्रै भयो । बाटो खन्ने अभियानले मूर्त रूप पाउन सकेन । लामो छलफलपछि उनीहरू हेलिकोप्टर रिजर्भबाहेकको अर्को कुनै उपाय नभएको निष्कर्षमा पुगे । हेलिकोप्टर त रिजर्भ गर्ने तर गरिब गाउँलेसँग पैसा उठाएर हेलिकोप्टर रिर्जभ गर्नु असम्भवजस्तै थियो । ‘गाउँलेलाई जम्मा गरेर सबै कुरा बताएपछि पहिले उनीहरू तयार भएनन् । तर, गाउँमा बिजुली बल्छ भने ऋण खोजेर भए पनि हेलिकोप्टर रिजर्भ गर्न तयार छाँै भनेर सहमति जनाएपछि हामी हेलिकोप्टर रिजर्भ गर्ने अवस्थामा पुग्याँै,’ चाउखोला दोस्रो लघु जलविद्युत् आयोजनाका अध्यक्ष बुद्धिलाल जिम्बाले सम्झिए– ‘अहिले गाउँ झिलिमिली छ, धुलिखेलदेखि मट्टितेल किन्नुपर्ने र दियालो बाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।’
डाँडागाउँ गाविसमा नौ महिनाभन्दा बढी खान पुग्ने परिवार भेट्न मुस्किल छ । तर, उनीहरूले प्रतिघर १/१ हजार रुपियाँ उठाएर ०६४ साल असार २९ गते एक लाख ८० हजार रुपियाँमा मनाङ एयरलाइन्सको हेलिकोप्टर रिजर्ब गरेर टर्वाइन, जेनेरेटर, एलसी बोर्डलगायत विद्युत् उपकरण पुर्‍याए । लगत्तै एक वर्षपछिदेखि गाउँ झिलिमिली बन्यो ।
०००
मोटरसमेत देख्न नपाएका अधिकांश गाउँलेका लागि आँगनमा हेलिकप्टर आउनुभन्दा अरू खुसी के हुन सक्छ ? गाउँ झिलिमिली पार्न गाउँमा हेलिकोप्टरबाट विद्युत् सामग्री आउने थाहा पाएपछि सयौँ गाउँले डाँडागाउँको भाङ्टारबेँसीमा भेला भए । गाउँमा पहिलोपटक पुगेको हेलिकोप्टरलाई उनीहरूले पूजाआजासमेत गरे । सबैभन्दा बढी खुसी त ७० वर्षीया वृद्धा मनकुमारी दंगाल भइन् । भन्दैथिइन्– ‘मर्ने बेलामा पहिलोपटक हेलिकोप्टर देख्न पाइयो ।’
ऊर्जा शाखाका अनुसार विश्व बैंक, नर्वे, डेनमार्कलगायतको आर्थिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा ऊर्जा शाखामार्फत् सञ्चालित आयोजनाबाट २४ किलोवाट विद्युत् उत्पादन भई डाँडागाउँ गाविस– २, ४ र ५ तथा गोकुले गाविस–५ का दुई सय आठ घरधुरीमा बिजुली बलेको छ । विद्युत्ले गाउँ झिलिमिली भएपछि सबै खुसीले गद्गद् छन् । ‘यति दु:ख गरेर गाउँमा विद्युत् बल्दा हाम्रो खुसीको सीमा छैन,’ स्थानीयवासी भन्छन्– ‘हेलिकोप्टर पनि देख्न पाइयो, गाउँमा पनि बिजुली बल्यो, दियालो लिनका लागि जंगल जानुपर्ने अवस्थाको अन्त्य पनि भयो ।’
देशभरिमा ५५ जिल्लामा ६ सय ९१ लघु जलविद्युत् आयोजनामार्फत् ८५ हजार घरधुरीमा लघु जलविद्युत्मार्फत बिजुली बालिएको छ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन नपुगेका विकट गाउँमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत लघु जलविद्युत्मार्फत बिजुली बालिएको हो । हिँड्ने बाटो पनि नभएको गाउँमा हेलिकोप्टरमार्फत् उपकरण लगेर बिजुली बालिएको थोरै आयोजनामध्ये एउटा आयोजना हो–चाउखोला दोस्रो । ‘हेलिकोप्टरबाट उपकरण लगेर लघु जलविद्युत् आयोजना निर्माण गरिएको घटना कमै छन्,’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र लघु जलविद्युत् कार्यक्रमका प्रबन्धक देवेन्द्र अधिकारीले भने ।
बिजुली बाल्नका लागि ४७ लाख ६६ हजार ५ सय ६७ रुपियाँ खर्च भएको छ । ऊर्जा विकासले २० लाख ४० हजार, जिविस काभ्रेले दुई लाख ३१ हजार र गाविसको ६ लाख र नेपाल स्कुल प्रोजेक्टबाट तीन लाख सहयोग पाएका स्थानीयवासीले १३ लाख ४९ हजार रुपियाँ जनश्रमदान गरेका छन् । ५ वर्षअघिसम्म गाउँ अँध्यारो भएको चिन्तामा बसेका, दियालो लिन जंगल र मट्टितेल लिन दुईदिनसम्म हिँडेर सदरमुकाम धाउँदाका पीडामा बाँचेका यहाँका बासिन्दा अहिले सहरवासीलाई भनिरहेका छन्– ‘तिमीहरू लोडसेडिङको चपेटामा छौ, कहिल्यै बिजुली नगएको गाउँ हेर्ने भए आऊ, सहरको मट्टितेल हामीलाई चाहिँदैन ।’

प्रतिक्रिया