विभिन्न घटनामा चारको मृत्यु

हुम्ला, १२ साउन । घर नजिकै पहिरो खसेर चोट लाग्दा हुम्ला जिल्लामा एक बालिकाको मृत्यु भएको छ ।
दार गाविस वडा नम्वर २ बस्ने हंसबहादुर सिंहको घर छेउमा आज विहान ७ बजे माथिबाट पहिरो आउँदा उनकी ८ वर्षीया छोरी भैरा सिंहको टाउकोमा चोट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले सिंहको घरको माथिल्लो तल्लामा सामान्य क्षति समेत पुराएको छ ।
यता, काठमाडौंको पशुपतिस्थित गुरु मन्दिर परिसरमा एक व्यक्ति मृत्त अवस्थामा फेला परेका छन् । ठेगाना नखुलेका अन्दाजी ३८ वर्षीय बिक्रम कार्की आज विहान ३ बजे मृत्त अबस्थामा फेला परेका हुन् ।
उता, चितवनमा मादक पदार्थ सेवनबाट एक जनाको मृत्यु भएको छ । साउन–७ गते मादक पदार्थ सेवन गरी अचेत अवस्थामा फेला परेका जगतपुर–१ घर भई मंगलपुरस्थित तुलबहादुर दराईको घरमा गोठालो काम गर्ने ४२ बर्षीय पटहित दराईको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आज विहान पौने दुई बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसै गरेर, बझाङ जिल्लाको दौलीचौर–७, दोघडीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
दौलीचौर–९ बस्ने २९ वर्षीय बीरबहादुर बोहरालाई चैनपुरबाट पसलको सामान ल्याएर आउने क्रममा स्थानीय रङलाल बोहरालगायत ७ जनाले कुटपिट गरेर हत्या गरेका हुन् । कुटपिटबाट घाईते बीरबहादुरको सदरमुकामस्थित अस्पतालमा उपचारका क्रममा आज पौने बाह्र बजे मृत्यु भएको हो ।
घटनापछि फरार सात जनालाई खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया