बर्थ डे म्यासेजको ओइरो

काठमाडौं, १२ साउन । नायिका बेनिसा हमाल बुधबार दिनभरि निकै रमाइलो मुडमा थिइन् । अनि, रातको १२ बजेसम्म पनि त्यो रमाइलो साथीभाइसँग सेयर गरिन् । कारण थियो– उनको बर्थ डे । मंगलबार बेलुकी १२ बजेर तीन मिनेट जाँदा यी जवान नायिका २१औँ वर्ष पूरा गरेर २२औँ वर्षमा उक्लिइन् । छोरी जन्मेको समय ठ्याक्कै पारेर उनका बुबाले पहिले विस गरे, ‘ह्याप्पी बर्थ डे छोरी ।’ बुबाको यो विससँगै सुरु भएको जन्मोत्सवको उमंग दिनैभर कायम रह्यो ।
बिहानै पशुपति गएर पूजाआजा गरी वृद्धवृद्धालाई फलफूल पनि बाँड्न भ्याइछन् यी नायिकाले । अनि, घर फर्किएर ११ बजेतिर परिवारका साथ केक काटिन् । ‘सबैभन्दा पहिले मामालाई खुवाएँ,’ उनले भनिन् । ‘त्यसपछि सपिङ गर्न गयौँ, ममी र म,’ उनी सुनाउँदै छिन्, ‘बाबाले सपिङ गर्न पैसा दिनुभयो, त्यसपछि ममीलाई साथै लिएर आफू अभिनीत ज्यान हाजिर छ हेरेँ ।’
फेसबुकमा चार सयभन्दा बढीको बर्थ डे म्यासेज र मोबालइमा पनि ५० जनाभन्दा बढीको फोन र ६० वटा मेसेज आएको उनले सुनाइन् । फोटो पत्रकार रविन श्रेष्ठले पठाएको मेसेज उनलाई सबैभन्दा बढी मन परेछ । भनिन्, ‘केही दिनअगाडि सुट भएको फोटोमाथि ह्याप्पी बर्थ डे भनेर मेरो वालमा लगाइदिनुभएको रहेछ ।’ बुधबार बिर्सिएका २० जना जतिले बिहीबार विस गरेछन् । नजिककी साथी रीमा विश्वकर्माले विस नगरेकोमा भने बेनिसालाई खट्किएछ ।
बेलुकी ९ बजे उनी साथीहरूसाथ नक्सालस्थित तामाज रेस्टुरेन्ट पुगिन् । ९ देखि मध्यराति १२ बजेसम्म चल्यो बर्थ डे सेलिब्रेसन । साथीहरूले ड्रिंस गरे पनि बेनिसाले गरिनन् रे † पार्टीमा कलाकार भने कसैलाई पनि बोलाइनछिन् । यस वर्षको बर्थ डे सबैभन्दा अविस्मरणीय रहेको सुनाउँदै थिइन् यी नायिका । ‘किनकि विगतमा यति धेरै मान्छेले विस गरेकै थिएनन्,’ उनले कारण खोलिन् । नयाँ विचारको थालनी र पुराना गल्ती कमजोरी महसुस गर्न जन्मदिनमा सान्दर्भिक हुने भएकाले बर्थ डे मनाउनुपर्छ भन्ने उनलाई लाग्दो रहेछ । जन्मदिनले बढ्दो उमेरसँगै कर्तव्य अनि जिम्मेवारीबारे पनि बोध गराउने उनले सुनाइन् । उनको विश्वास रहेछ– जन्मदिनमा गरिएका ‘विस’ पूरा हुन्छन् ।

प्रतिक्रिया