नेपालको ओलम्पिक कहानी

काठमाडौं, १२ साउन । ओलम्पिक केवल खेलकुद मात्र अथवा केवल खेलकुद आयोजना मात्र होइन, यसमा जित वा हार मात्र पनि सबैथोक होइन । खासमा ओलम्पिक त एक भावना हो, एक संवेदना हो, एक लक्ष्य हो, एक अभीष्ट हो र हो मानव इतिहासको एक लामो विरासत । कुनै पनि खेलाडीको एउटै सपना हुन्छ– जीवनमा एकपटक मात्र भए पनि ओलम्पिकमा सहभागी हुनु । त्यसैले भनिन्छ, ओलम्पिक खेलकुदमा जित्नु ठूलो कुरा होइन, बरु त्यसमा सहभागिता नै आपैँmमा ठूलो कुरा हो । यही कुरालाई ओलम्पिक चार्टरले ‘ओलम्पिक स्पिरिट’ को संज्ञा दिएको छ । यसले मानवीयता, सहिष्णुता, सहनशीलता, धैर्य, संयम, साहस र चुनौतीहरूको सामना गर्ने दुर्दम्य प्रवृत्तिहरूको उद्बोधन गरिरहेको हुन्छ ।
यो अनुकरणीय मानवीय खेलभावनाको शृंखला प्राचीनकालदेखि नै अगाडि बढ्दै आएको हो । प्राचीन एथेन्समा ईसापूर्व ७७६ मा ओलम्पिक खेलकुद सुरु भएको थियो । अर्थात्, त्यस बेला जतिखेर आज अस्तित्ववान् धेरैजसो देशको नामनिशान नै थिए । पछि, ग्रीक साम्राज्यको पतन प्रारम्भ भएसँगै ओलम्पिक खेलकुद बन्द भयो ।
बीचमा धेरै शताब्दी बिते । विश्व इतिहासको मध्ययुगीन कालरात्रि पनि क्रमश: समयको अँध्यारोभित्र हराउँदै गयो । कृषियुगको विकासतिर पुँजीवादको उदय भयो जसले औँद्योगिक र प्राविधिक क्षेत्रमा अभूतपूर्व परिवर्तनको ढोका उघारिदियो । यही अवधिमा फ्रान्सेली नागरिक पियरे डे कुबर्टिनले खेलकुदमा नयाँ चरणबाट सोच्नुपर्ने अवधारणा विश्वसामु राखे । र, मूलत: उनकै पहल र विशेष प्रयासमा सन् १८९६ देखि आधुनिक ओलम्पिक खेलकुदको सुरुआत भयो । त्यसपछि प्रत्येक चार–चार वर्षमा फरक देश र फरक सहरमा यसको आयोजना हुने सहमति पारित भयो । यसरी कुबर्टिन आधुनिक ओलम्पिक आन्दोलनका जन्मदाता बन्न पुगे ।
दुई विश्वयुद्धले गर्दा सन् १९४० र १९४४ मा दुईपटक ओलम्पिक खेलकुद आयोजना हुन सकेन । ती दुई अवसरबाहेक शुक्रबारदेखि लन्डनमा सुरु भएको संस्करण ३०औँँ ओलम्पिक ओजना हो । अहिलेसम्म सबै संस्करणमा सहभागी केवल तीन राष्ट्र छन्– अमेरिका, अस्ट्रेलिया र स्विट्जरल्यान्ड । कहाँ छ त नेपाल ओलम्पिक सहभागिता र सफलताको दौडमा ?
सन् १९५० मा मात्र राणाकालीन बन्द समाजबाट निस्केर विश्व चियाउन थालेको नेपालले सन् १९६४ को टोक्यो ओलम्पिकबाट मात्र यसमा सहभागिता दर्साउन थालेको हो । अन्य पदाधिकारीको लर्कोलाई एकातिर पन्छाउने हो भने दुईजना धावक गंगाबहादुर थापा र भूपेन्द्र सिलवाल र चारजना बक्सर नामसिंह थापा, ओमप्रसाद पुन, रामप्रसाद गुरुंग र भीमप्रसाद थापा गरी ६ जना खेलाडीले नेपालका प्रथम ओलम्पियन बन्ने सौभाग्य पाए ।
सन् १९६८ को मेक्सिको ओलम्पिकमा भने नेपालले आर्थिक अभाव देखाउँदै सहभागिता जनाएन । तर, त्यसपछिका सबै ओलम्पिकमा भने नेपालले लगातार भाग लिँदै आइरहेको छ । यसमा, सहभागिताका लागि सहभागिता नेपालको मूलमन्त्र रहिआएको छ भने अधिकतम लक्ष्य राष्ट्रिय कीर्तिमानमा सुधार ल्याउनु भनिँदै आएको छ अर्थात्– पदक प्राप्तिको त सोचाइ पनि सायद क्षितिज पारी मात्र छ ।
खोज्छन्, आमखेलप्रेमी जो सफलता भनी त्यो कहाँ छ ? कम्तीमा, सामाजिक इतिहासको विरासतका रूपमा प्राप्त सामन्तवादी संस्कार अँगालेका र खेलकुदलाई मागी खाने भाँडो बनाउन पल्केका खेलपदाधिकारीले यसको जवाफ दिने साहस गर्न सक्दैनन् । स्पष्ट छ, ओलम्पिक पदकको सपना पूरा गर्न अहिलेको स्थापित सोचाइका साथै धेरै परिवर्तनका सगरमाथा छिचोल्न सक्नुपर्छ ।

ओलम्पिकमा नेपाली खेलाडी
१८औँँ ओलम्पिक खेलकुद, टोक्यो, १९६४
एथलेटिक्स : भूपेन्द्र सिलवाल, गंगाबहादुर थापा
बक्सिङ : नामसिंह थापा, ओमप्रसाद पुन, रामप्रसाद गुरुङ, भीमप्रसाद थापा

२०औँँ ओलम्पिक खेलकुद, म्युनिक, १९७२
एथलेटिक्स : जितबहादुर केसी, भक्तबहादुर सापकोटा

२१औँँ ओलम्पिक खेलकुद, मन्ट्ेरल, १९७६
एथलेटिक्स : बैकुण्ठ मानन्धर

२२औँ ओलम्पिक खेलकुद, मस्को, १९८०
एथलेटिक्स : बैकुण्ठ मानन्धर, नरबहादुर दाहाल
रघुराज वन्त, लक्ष्मण बस्नेत, मुकुन्दहरि श्रेष्ठ
बक्सिङ : उमेश मास्के, रविराज थापा, नरेन्द्र पोमा
पुस्कर शाही , विष्णु मालाकार
भारत्तोलन : अशोककुमार कार्की, राजेन्द्र प्रधान

२३ औँ ओलम्पिक खेलकुद, लस एन्जलस, १९८४
एथलेटिक्स : बैकुण्ठ मानन्धर, अमिरी यादव, अर्जुन पण्डित, पुष्पराज ओझा, जोधा गुरुङ,
बक्सिङ : उमेश मास्के, दलबहादुर रानामगर, प्रविन तुलाधर, मानबहादुर श्रेष्ठ,
भारत्तोलन : सुरेन्द्र हमाल, जगदीश प्रधान

२४औँ ओलम्पिक खेलकुद, सिउल, १९८८
एथलेटिक्स : बैकुण्ठ मानन्धर, राजकुमारी पाण्डे, मेनुका राउत, हरिबहादुर रोकाया, कृष्णबहादुर बस्नेत, टीका बोगटी, डम्बर कुँवर, दलबहादुर रानामगर
बक्सिङ : विष्णुबहादुर सिंह, झपट भुजेल, राम गिरी, डम्बर भाट
जुडो : गंगाबहादुर डंगोल, ऋषिराम प्रधान
सुटिङ : पार्वती थापा
भारत्तोलन : भरत साउद
तेक्वान्दो : विधान लामा, मानबहादुर तामाङ
२५औँ ओलम्पिक खेलकुद, बार्सिलोना, १९९२
एथलेटिक्स : हरिबहादुर रोकाया
सुटिङ : अनिता श्रेष्ठ
तेक्वान्दो : नारायण गुरुङ, प्रमिला थापा, सीता राई

२६औँ ओलम्पिक खेलकुद, एटलान्टा, १९९६
भारत्तोलन : सुनील जोसी
एथलेटिक्स : विमला रानामगर, टीका बोगटी
सुटिङ : विभाश्वरी राई
पौडी : निस्मा गुरुङ, सीताराम शाही

२७औँ ओलम्पिक खेलकुद, सिड्नी, २०००
एथलेटिक्स : ज्ञानबहादुर बोहरा, देवीमाया पनेरु,
चित्रबहादुर गुरुङ
पौडी : रुना प्रधान सुटिङ : भगवती केसी

२८औँ ओलम्पिक खेलकुद, एथेन्स, २००४
एथलेटिक्स : राजेन्द्र भण्डारी, कान्छीमाया कोजू
पौडी : एलिस श्रेष्ठ, नयना शाक्य
सुटिङ : टीकाराम श्रेष्ठ
तेक्वान्दो : संगीना वैद्य

२९औँ ओलम्पिक खेलकुद, बेइजिङ, २००८
एथलेटिक्स : अर्जुन बस्नेत, चन्द्रकला थापा
पौडी : करिस्मा कार्की, प्रसिद्धजंग शाह
जुडो : देवु थापा तेक्वान्दो : दीपक विष्ट
बक्सिङ : दीपक महर्जन
सुटिङ : फुलमाया क्यापथाकी

३०औँ ओलम्पिक खेलकुद, लन्डन, २०१२
एथलेटिक्स : प्रमिला रिजाल, तिलकराम थारू
पौडी : श्रेया धिताल, प्रसिद्धजंग शाह
सुटिङ : स्नेहाराज्यलक्ष्मी शाह
सर्वाधिक सहभागी : बैकुण्ठ मानन्धर (तीनपटक)
– लोकेन्द्र प्रसाईं

प्रतिक्रिया