मल अनियमितताविरुद्ध किसान आन्दोलित

दाङ, १२ साउन । सहुलियतको रासायनिक मलको अवैध कारोबार भएको भन्दै देउखुरीका किसान सडकमा उत्रिएका छन् । कृषि सामग्री संस्थानले उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थामार्फत किसानलाई दिने सहुलियत मल बजारका एग्रोभेट पसलबाट चर्को मूल्यमा किसानलाई बिक्री गरेको सार्वजनिक भएपछि उनीहरू आन्दोलित भएका हुन् । मल नपाएको झोकमा उनीहरूले कृषि सामग्री संस्थानको गोदामा राखिएको रासायनिक मल सडकभरि छरिदिएका छन् ।

गोदाममा रहेका एक हजार ६९ बोरा युरिया मलमध्ये ९१ वटा बोरा बाटोमा फ्याँकिएको कार्यालय प्रमुख विष्णु केसीले जानकारी दिए । गत आइतबार सो सहकारीबाट ब्रोइलरलाई खुवाउने दानाको बोरामा १२ बोरा युरिया मल लुकाई–छिपाई एग्रोभेट पसलमा लैजाँदै गर्दा किसानले रंगेहात समातेका थिए ।
नियन्त्रणमा रहेको मल सोमबार इलाका प्रहरी कार्यालयका प्रतिनिधिको रोहबरमा किसानलाई नि:शुल्क वितरण गरिएको संगम स्मिृति सहकारी संस्थाका अध्यक्ष दिलकुमार श्रेष्ठले बताए । सहुलियतको रासायनिक मल किसानलाई उपलब्ध गराउने भनिए पनि उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाबाटै लमही बजारको देउराली एग्रोभेट पसलबाट बिक्री गर्नका लागि लैजाँदै गरेको अवस्थामा संगम स्मृति सहकारी संस्थाका पदाधिकारीले मल नियन्त्रणमा लिएका थिए ।
आक्रोशित किसानले उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा पुगी बुधबार तालाबन्दीसमेत गरेका छन् । संस्थाबाट बिक्रीका लागि देउराली एग्रोभेटमा सहुलियतको मल पुर्‍याइएको भन्दै पसलमा तोडफोडको प्रयाससमेत भएको छ ।
सोही क्रममा आक्राशित किसान र प्रहरीबीच केही बेर सामान्य झडपसमेत भएको थियो । प्रहरीनायब निरीक्षक कृष्णबहादुर खड्काको फुली, नाम प्लेटसमेत भिडमा खोसिएको थियो । किसानले मल लैजान नपाएपछि सडकछेउमा रहेका ढुंगाले हानेर मलका बोरा फुटाएर बाटैभरि छरपस्ट पार्न थालेछि सशस्त्र प्रहरी र किसानबीच झडप भएको थियो । आक्रोशित केही युवाले प्रहरीमाथि नै आक्रमणको प्रयास थालेपछि प्रहरीले चैलाही–३, देउपुरका डण्डीराम चौधरी र चौलाही–६, घुम्नाका दामोदर चौधरीलाई नियन्त्रणमा लिएको छ ।
झडपको स्थिति आएपछि दिनभर लमही बजार तनाबग्रस्त बनेको थियो । यसैबीच, देउखुरी उद्योग वाणिज्य संघले बुधबार दिउँसो लमही बजार बन्द गरायो । अवैध रूपमा मलको कारोबार भएको भन्दै लमहीमा आन्दोलन गर्न आएका किसानको भिडमा रहेको आक्रोशित समूहले एग्रोभेट पसलमा तोडफोडको प्रयास गरेपछि उद्योग वाणिज्य संघले सुरक्षाको माग गर्दै बजार बन्द गराएको हो । पसलमा झुन्ड्याएको हजारी र स्प्रेय तोडफोड गरिएको पसलका सञ्चालक खिमलाल खनालले बताए । आक्रोशित किसानले लमहीमा केही बेर प्रदर्शनसमेत गरे ।
उद्यमशील कारबाहीमा
प्रमुख जिल्ला अधिकारी मधुसूदन बुर्लाकोटीले कृषि सामग्री संस्थानबाट उद्यमशीलमा जाने सहुलियतको मल रोक्का गरेको बताएका छन् । उनले उद्यमशीलले संस्थागत रूपमा कमजोरी गरेको भए संस्थालाई नै कारबाही गर्ने तथा केही कर्मचारीबाट मात्रै गल्ती भएको भए दोषी कर्मचारीलाई कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेशबहादुर ऐरले लमहीको घटनाबारे अनुसन्धान हुने र दोषीलाई कानुनबमोजिम कारबाही गरिने बताए ।
छानबिन समिति गठन
देउखुरी उद्योग वाणिज्य संघको पहलमा छानबिन समिति गठन गरिएको छ । उद्योग वाणिज्य संघको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । समितिमा नेकपा (एमाले)का वीरबहादुर केसी, नेपाली कांग्रेसका ठाकुरप्रसाद पाण्डे, नेकपा (माओवादी)का डिलकुमार श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भक्ति चौधरी, राष्ट्रिय जनमोर्चाका महेश रिजाल र किसान प्रतिनिधि वीरेन्द्र चौधरी रहेका छन् ।

प्रतिक्रिया