तीन महिनामा ६१ सहकारी दर्ता

काठमाडौं, १२ साउन । तीन महिनामा काठमाडौंमा ६१ वटा सहकारीको दर्ता भएको छ । मापदण्ड जारी हुनभन्दा पहिला मासिक ५० भन्दा बढी संस्था दर्ता हुने डिभिजन सहकारी कार्यालय काठमाडौंमा हाल मासिक २० वटा संस्था मात्र दर्ता हुने गरेको जानकारी कार्यालयका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले दिए ।
सरकारले मापदण्ड जारी गरी कार्यक्षेत्रको सीमा तथा सेयर सदस्यको संख्या तोकिदिएपछि दर्ता हुने क्रम घटेको शर्मा बताउँछन् । ‘विगतका वर्षमा सहकारीको संख्यात्मक वृद्धि भएको छ,’ सहकारी अधिकृत शर्माले भने, ‘दर्ता कडाइका साथै सहकारीको गुणात्मक विकास हुनु आवश्यक छ ।’ सहरी क्षेत्रमा घरैपिच्छे सहकारी स्थापना भएको र लक्षित वर्गसम्म पुग्न नसकेको उनले बताए ।
‘सहर केन्द्रित सहकारी दर्ता निरुत्साहित गर्न आवश्यक छ,’ शर्माले भने, ‘अब सहकारी संस्था पनि मर्जरमा जानुपर्छ ।’ सहकारीलाई मर्ज गर्न दुई वा सोभन्दा बढी संस्थाको साधारणसभाले पारित गरेमा सहजै हुने मापदण्ड छ । सहकारी मापदण्डमा बचत तथा ऋण सहकारी दर्ता गर्दा उपत्यकाका महानगरपालिका तथा उपमहानगरपालिका भए एक–एक वडा कार्यक्षेत्र, नगरपालिका भए दुईवटा वडा तथा गाविसका हकमा एकै गाविसका स्थानीय २५ सेयर सदस्य हुनुपर्ने प्रावधान छ । अन्य सहकारीको हकमा पाँचओटासम्म कार्यक्षेत्र लिन सकिने प्रावधान भए पनि प्रत्येक वडाबाट २५ सदस्यका दरले एकसय २५ जना सेयर सदस्य भएपछि मात्रै संस्था दर्ता हुने प्रावधान छ ।
त्यस्तै, सहकारी खोल्न त्यस कार्यक्षेत्रभित्रका परिवारबाहेकका २५ जना स्थानीय नागरिक तथा जग्गाजमिनको लालपुर्जा भएका सेयर सदस्य हुनुपर्ने प्रावधान छ । स्थानीय एउटै वडाका २५ जना सेयर सदस्य तथा तीनवटा कार्यक्षेत्र भएकाले ७५ जना सेयर सदस्य जम्मा पार्न कठिन भएकाले दर्तामा कमी आएको कार्यालयको भनाइ छ ।
आथिर्क वर्ष ०६८/६९ मा काठमाडौंमा दुई सय आठवटा सहकारी संस्था दर्ता भएका छन् । सो दर्ता अघिल्लो आवको तुलनामा ७५ प्रतिशत कमी हो । करिब चार हजार सहकारी दर्ता भए पनि करिब २५ सयको हाराहारीमा सञ्चालनमा रहेको अनुमान डिभिजन कार्यालयको छ । सो दर्ता संख्यामध्ये तीन हजार बचत तथा ऋण सहकारी रहेका छन् । सबैभन्दा बढी सहकारी दर्ता र सञ्चालन काठमाडौं जिल्लामा रहेको छ । ती संस्थामा वार्षिक एक खर्ब रुपियाँ कारोबार र १० अर्बको सेयर पुँजी रहेको कार्यालयले जनाएको छ । जसमा करिब पाँच लाख सदस्य आबद्ध छन् ।

प्रतिक्रिया