कृषि उपकरण वितरण

वीरगन्ज, १२ साउन । जिल्ला कृषि विकास कार्यालय पर्साले नौ थान आधुनिक कृषि उपकरण किसानलाई अनुदानमा उपलब्ध गराएको छ । कार्यालयले कृषकलाई आठ लाख ८९ हजार नौ सय ८५ रुपियाँ मूल्यबराबरको कृषि उपकरण किसानलाई प्रदान गरेको हो ।
धान दाइँ गर्ने थ्रेसर दुई थान, जोत्ने र बिउ छर्ने रोटरभेटर एक थान, माटो सम्याउने लेभलर चार थान, खेत जोत्ने हैरो एक थान र कल्टिभेटर एक थानसहित कुल नौ थान उपकरण किसानलाई उपलब्ध गराइएको कार्यालयले जनाएको छ । करिब नौ लाख रुपियाँ बराबरको उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको कार्यालय प्रमुख विजय श्रीवास्तवले बताए । नारायणी सिँचाइ प्रणाली जलउपभोक्ता संस्थाको तदर्थ समितिमार्फत नौजना किसानलाई नौ थान उपकरण उपलब्ध गराइएको हो । उपकरण पाउनेमा रामशरण साह, रामपूजनप्रसाद कुर्मी, राजकिशोर प्रसाद, पवनकिशोर चौरसिया, श्यामसुन्दरप्रसाद चौहान, शर्मा दास तत्वा, महेन्द्रप्रसाद चौरसिया र पारसप्रसाद चौरसिया रहेका छन् । समितिमा नौ गाविसका करिब आठ सय ४० किसान आबद्ध छन् । उपकरण नौ किसानलाई उपलब्ध गराइए पनि यसबाट नौवटै गाविसका करिब ३५ हजार किसान लाभान्वित हुने कार्यालय प्रमुख विजय श्रीवास्तव बताउँछन् ।
जिल्ला कृषि विकास कार्यालय, पर्साले एक कार्यक्रम आयोजना गरी कृषि उपकरण किसानलाई हस्तान्तरण गरेको हो । प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले समितिका संयोजक श्यामसुन्दर चौहानलाई उपकरण हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया