करिब ११ वर्ष पहिला बेनुकासँग एउटा कार्यक्रममा पहिलोचोटि भेट भएको थियो । उनी उति बेलै गायिकाका रूपमा परिचित थिइन्, म दर्शकका हिसाबले गएको थिएँ । दुवैजना राई भएकाले पनि हुन सक्छ, हामीबीच परिचयको अवसर जुर्यो । सामान्य कुराकानी पनि भयो । उनी खोटाङकी रहिछन्, मैले आफ्नो घर भोजपुर भनेर परिचय दिएँ । त्यतिबेला ५ घन्टा सँगै भए पनि हामीबीच लामो कुराकानी भने भएन । म २१ वर्षको थिएँ, उनी मभन्दा दुई–तीन वर्ष कान्छी देखिन्थिन् । अहिले त म ३२ वर्ष पुगिसकेँ ।
त्यसको चार महिनापछि फेरि हाम्रो भेट भयो । त्यति बेलाचाहिँ हामीले आ–आफ्नो पेसाबारे धारणा सेयर गर्यौँ । उनी आफ्नो प्रोफेसनमाथि एकदमै इमानदार विचारकी लागिन् । अनि मेरो प्रोफेसन थिएटरको भविष्यबारे पनि सकारात्मक प्रतिक्रिया राखिन् । यिनै कारणले यो दोस्रो भेटमै म उनीसँग निकै प्रभावित हुन पुगेँ । अहिले कल्पन्छु– त्यो दोस्रो भेट हामीलाई थप नजिक्याउनकै लागि दैवले जुराइदिएको रहेछ ।
त्यति बेलै हामीबीच फोन नम्बर पनि साटासाट भयो । तर, पनि खास कारण नभएकाले उनलाई फोन गर्न सकिरहेको थिइनँ । काका–काकी घरमा सँगै हुने भएकाले फोन गर्न अप्ठ्यारो महसुस पनि हुन्थ्यो । एकचोटि बिरामी भएर बेडमा रेस्ट गरिरहेको थिएँ । पत्रिका हेरेँ– उनको इन्टरभ्यु छापिएको रहेछ । पढिरहेको थिएँ, संयोगवश उनको फोन पनि आयो । त्यो इन्टरभ्युमा उनले हामीले सुरुमा भेट्दाका केही प्रसंग पनि बताएकी रहिछन्, त्यही बताउन मलाई फोन गरेकी रहिछन् । म त यस्तो कल्पनामा पो डुबेछु– उनले थाहा नपाए पनि उनको अन्तरात्माले चाहिँ म बिरामी भएको थाहा पायो, फोन गर्न झक्झक्याएछ । यथार्थमा उनले त्यस्तो गहिरो फिलिङ लिएकी थिइनन् होला, तैपनि भनिन्– ‘आफ्नो ख्याल राम्रो गर्नु है ।’ त्यसपछि मलाई पनि अलि आँट आयो । फोन गर्न थालेँ, गफैगफमा प्रसंग मिलाएर मायाका कुरा पनि मिसाउन थालेँ । तर, स्पष्ट भन्न सक्ने आँट पनि कहाँ थियो र ?
मैले एउटा बहाना बनाएँ । भनेँ– ‘म बिरामी भएर भर्खर उठेको छु, भेटौँ न ।’ उनले पनि सहमति जनाइन्–‘भोलि मेरो गीतको रेकर्डिङ हुँदै छ, त्यहीँ भेटौँ न †’ मलाई उनी निकै मन पर्न थालेकी थिइन्, देखिरहन मन लाग्न थालेको थियो । तर, उनले भेट्न सहमति जनाउनुको अर्थ सामान्य भेटघाट मात्र न थियो, मैलेचाहिँ उनलाई मनमै राखिसकेको थिएँ । त्यसैले केही अप्ठ्यारो अनुभूति पनि भइरहेथ्यो । बिहानै उठेँ, साधारण ड्रेसअप गरेँ र उनलाई भेट्न निस्किएँ । ड्रेसअपमा मलाई उति समस्या लाग्दैनथ्यो तर भेटेपछि उनलाई के भन्ने होला भनेरचाहिँ निकै घोत्लिइरहेको थिएँ । म भर्खर बिरामी भएर उठेकाले होला, उनी मलाई केयर पनि निकै नै गरिरहेकी थिइन् । घरी–घरी मनले भन्थ्यो– कति माया गरेकी मलाई † एक किसिमले असहज महसुस पनि गरिरहेको थिएँ– यति साह्रो केयर नगरे पनि हुन्थ्यो नि † तर हामीबीच कुराकानीचाहिँ पहिलाकै जस्तो भइरहेको थियो ।
त्यसपछि केही समयसम्म फोनबाटै हामीबीच वार्तालाप हुन थाल्यो । उनी ललितपुर बस्थिन्, काठमाडौँ आउँदा फोन गरेर भेट्थ्यौँ । म त माया गर्न थालिसकेको थिएँ तर उनको मनमा के छ, अझै थाहा थिएन । करिब एक वर्षपछि एउटा कार्यक्रमको मौका पारेर सोधेँ–‘हाम्रो सम्बन्ध के भइरहेको छ ? कता जाँदै
छ ?’ उनी केही बोलिनन्, तर मीठो मुस्कान छर्दै सकारात्मक संकेत भने गरिन् । उनले बुझिहालिछन्, मेरो मन पनि उज्यालो भएर आयो । अबचाहिँ हाम्रा गफमा दुवैतर्फबाट मायाको सुगन्ध मिसिन थालेको थियो । हामीले एकअर्कालाई कहिल्यै वचनले माया गर्छु भनेनौँ, जरुरी पनि भएन किनकि मलाईजसरी उनलाई पनि मेरो माया लाग्न थालिसकेको रहेछ । एकअर्काको अन्तरात्माले बुझिसकेको थियो । उनले नबोलेरै भनिन्– म पनि माया गर्छु । त्यही एउटा प्रश्नले मलाई छर्लंगै बुझाइदियो । त्यो प्रश्न सोध्नुको उद्देश्य म स्पष्ट हुन चाहन्थेँ– कतै उनी मलाई असल साथी मात्र पो सोचिरहेकी छन् कि ?
दुवैबीच माया झाँगिएको थाहा पाएपछि कुराकानी गर्ने शैलीमा पनि परिवर्तन आउन थाल्यो । अब त हामी बिहे कहिले गर्ने भनेर छलफ गर्ने भएका थियौँ । सानातिना कुरामा पनि एकअर्काको निकै केयरिङ हुन्थ्यो– खाना खाइयो कि खाइएन, खाजा खाइयो कि खाइएन, समयमै घर फर्केको हो कि होइन † उनी कसैसँग हिँड्दा बोल्दा वा म कसैसँग हिँड्दा हामीबीच नकारात्मक विचार पलाउँदैनथ्यो । एकआपसमा गतिलो विश्वास थियो । उनका साथी मेरा पुराना साथी थिए भने मेरा साथी पनि उनका पुराना साथी थिए । त्यस हिसाबमा हाम्रो सम्बन्ध सकारात्मक नै रह्यो । हामी घुम्नचाहिँ कहिल्यै निस्कँदैनथ्यौँ । बरु आफन्त बिरामी पर्दा एकअर्कालाई बोलाउने गथ्र्यौँ । रातभरि सँगै भइन्थ्यो, विभिन्न गफ हुन्थे । हामी एकअर्कालाई सम्मान गथ्र्यौँ, त्यसैले भल्गर गफ कहिल्यै भएन ।
मायामा चंगाजस्तै उडिरहेका थियौँ । विवाह गर्ने मनस्थितिमा पुगियो । दुवै जना राई भए पनि पाछा थाहा थिएन । उनी चाम्लिङ रहिछिन्, म बान्तवा । साइनो लगाउँदै कुटुम्बेरी परिएछ । उनकी दिदी मेरी फुपूको छोराले लगेका कारण साइनोमा उनी सोल्टिनी परिन् । त्यो साइनाले विवाह गर्न बाटो झन् सजिलो पारिदिएको थियो । म उनको घरमा बेला–बेलामा गइरहन्थेँ, उनलाई पनि मिलाएर मेरो परिवारसँग भेटाउँथेँ । कल्चरल्ली हेर्दा उनलाई घर ल्याएपछि विवाह गरेजत्तिकै हुने भएकाले सबै तारतम्मे मिलिनसक्दासम्म उनलाई मेरो परिवारसँग चाहिँ बाहिरै भेटाएँ । उमेर जतिसुकै जवान भए पनि एकअर्कालाई जिस्क्याउने, छेड हान्ने भएन किनकि हामीबीच एकअर्काप्रति सद्भाव थियो, शालीन भावना ।
मैले जुन दिन आफ्नै पाराले परिवारसमक्ष विवाहको कुरो राखेँ, त्यही दिन उनले पनि आफ्नो परिवारमा त्यसै गरिछन् । यो पनि आफैँमा एउटा संयोग परेछ, नत्र यही दिन परिवारमा भन्ने भनेर हामीले कुनै योजना बनाएका थिएनौँ । दुवैतिर ओके भयो । पहिलोचोटि भेटेको सात वर्षपछि मैले आफ्नै संस्कारअनुरूप उनलाई काकाकाकीको घरमा भित्र्याएँ । २०६४ साल फागुन २ गतेका दिन, जति बेला म पुगेको थिएँ २८ वर्ष । पछि गाउँमा बाआमाकहाँ लगेर राईहरूको चुलामा भित्र्याउने भन्छन्, ती चलन पनि पूरा गरेँ । भन्न त मान्छेहरू विवाह पछिका दिन असहज हुन्छन् भन्छन् । तर, मलाई चाहिँ त्यस्तो लागेको छैन, हाम्रो दाम्पत्य सम्बन्ध एकदमै सहज र सरल रूपमा अघि बढिरहेछ । कहिलेकाहीँ सानातिना कुरामा ठाकठुक नपर्ने भने होइन । म चुरोट सेवन गर्छु, उनी यो बानी छोडिदिए हुन्थ्यो भन्ने कामना गर्छिन् । तर यो ठाकठुकमा पनि आफ्नै मिठास छ । त्यसैले कहिलेकाहीँ त मलाई हाम्रो सम्बन्ध दुनियाँका लागि डाहलाग्दो छ कि जस्तो पनि लाग्छ । मलाई गर्व छ उनीप्रति । अहिले हामी सन्तानको प्रतीक्षामा छौँ । दुवै जना छोरी–छोरी भन्छौँ । फेरि एकअर्कालाई सम्झाउँछौँ– जे भए पनि केही छैन, आफ्नै सन्तान त हो नि † हाम्रो मायाको चिनो । हामी दुवैको एउटै मत छ– जे भए पनि उचित शिक्षा दिनु महत्त्वपूर्ण कुरा हो ।
प्रस्तुति : विशाल राई
प्रतिक्रिया