बिपी, पिएल र संघीय जनतन्त्र

हाम्रो देश नेपालमा अहिलेसम्म हामी नेपालीले मानेका र संसारले पनि जानेका दुई सिद्धान्तकार देखिए । बिपी र पिएल यी दुवैले आफूलाई नेपालको राजनेता र आफ्नो पार्टीको नेताका रूपमा स्थापना गर्न जीवनभर इतिहासले दिएको अभिभारा पूरा गरेर नयाँ पुस्ताका लागि अथक परिश्रम गरिरहनुभयो । समकालीन राजनीतिक आन्दोलनका समकक्षी राजनेताहरू बिपी र पिएल एउटै दशकमा जन्मेर एउटै दशकमा स्वर्गे हुनु संयोग पनि हो । व्यक्ति, जात, जाति र क्षेत्र, उमेर र लिंग तथा वर्गका सबैले नेपालमा अहिले आफ्नो अधिकार सहितको पहिचानका लागि युद्ध, आन्दोलन, संघर्ष, बहस, छलफल चलाइरहेकै बेला विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको पनि लाभ लिइँदै छ । कसैले यी दुई नेतालाई बाहुन र आदिवासी जनजाति पनि भन्छन् ।
तर, जन्मदा जसले जन्माए हुर्काए पनि यी दुवैलाई सबै क्षेत्र, वर्ग, जात, जाति, लिंग र उमेरका मानिसले आफ्नो प्रिय नेता मानेका थिए, किनभने यी दुवै नेताको सिद्धान्त शोषित, पीडित र अपहेलित मानिसका पक्षमा केन्द्रित थियो । दुवैको पार्टी एउटा नभए पनि उद्देश्य राणा, राजा, शोषक, जाली–फटाहा, सामन्ती शासनलाई समाप्त गरी नेपाललाई शान्त, समृद्ध अनि समानतामूलक, स्वतन्त्र, राष्ट्रिय एकता र सार्वभौमसत्ता सम्पन्न बनाउनु थियो । आरम्भमा दुवैको राजनीतिक पार्टी राणा शासनविरुद्ध संघर्षमा सहिद भएका व्यक्तित्वहरूको प्रेरणा, राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको प्रभावबाट स्थापना भएको राष्ट्रिय कांग्रेस थियो । वि.सं.२००३ माघ १२/१३ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनले “नेपालमा जनतन्त्रको स्थापना गर्ने हाम्रो प्रयत्नमा भारतका राष्ट्रिय संस्था र नेताहरूले पनि यथाशक्य सहयोग सहायता गर्लान्…” भनिएको थियो । त्यस बखत नेपालीलाई शासक राजाका प्रजा राणाका रैती भनिन्थ्यो । अब रैती र प्रजा होइन, जनता बन्नका लागि ‘जनतन्त्र’ चाहिन्छ भन्ने दुवै नेताको बोली र व्यवहार एउटै थियो ।
निश्चय नै बिपी कांग्रेसका नेता हुन्, पिएल कम्युनिस्टका नेता हुन् । तर, संयोग के छ भने बिपी र पिएल एउटै सिक्काका दुई पाटाजस्ता अझ प्रस्ट भन्दा एउटै रथका दुई पांग्राजस्ता भएका छन् । आफूलाई प्यारो लाग्ने साथीहरूले बिपीलाई ‘सान्दाइ’ र पिएललाई ‘माल्दाइ’ भन्ने गर्दथे । तर, दरबारका दलालहरूले ‘अराष्ट्रिय तत्त्व’ र ‘गद्दार’ भनेका छन् । दुवैलाई भारतको एजेन्ट भनेर भ्रम फैलाइयो । नेपाली कांग्रेस र कम्युनिस्टभित्र पठाइएकाहरूले  जनतन्त्र होइन, प्रजातन्त्र भन्न लगाएका रहेछन् र लोकतन्त्र भनाउन पनि सफल भएका रहेछन् । आफ्नो भाषण, लेख–रचनामा ‘जनतन्त्र’ पदावली वा शब्द प्रयोग गर्ने दुई महान् नेपाली राजनेतालाई भावी पुस्ताले पनि श्रद्धापूर्वक सम्झिरहनेछन् । ००७ सालको परिवर्तनले ‘जनतन्त्र’ चाहेको भए पनि प्रतिक्रियावादी, पुनरुत्थानवादी राणा र शाह  शासकहरूले असफल बनाए । ‘जनराज्य’ को संविधान बनाई प्रगतिशील ‘जनतन्त्र’ स्थापना गर्ने बिपी र पिएलका विचार, सिद्धान्त र कार्यक्रम अझै  पनि सफल भएको छैन । बिपी र पिएलको पार्टीको साइनबोर्ड राखेर राजनीतिक जमिनदारी चलाउने नयाँ सामन्ती कांग्रेस र कम्युनिस्टले यी दुवै नेताको अपमान मात्र गरेको देखिन्छ ।
बिपी र पिएल सच्चा जनतन्त्रवादी हुन् । सिद्धान्त, दर्शन, नीति र कार्यक्रम सबै उहाँहरूले जनताकेन्द्रित बनाउनुभयो । त्यसले दुवैलाई राणा, राजा  र प्रतिक्रियावादी पुनरुत्थानवादीले उहाँहरूकै वरिपरि  घुम्दै हैरानी र दु:ख दिने कार्य गराएका हुन् । बिपीले जात, जाति, वर्ग, क्षेत्र, लिंग र उमेर समूहसम्मको समावेशी संगठन र राज्यको प्रयोग गरेका थिए । पार्टी र सरकारका सबै तहमा ब्राह्मण, क्षत्री, वैश्य, शूद्र, महिला, युवा, प्रौढ मधेसी सबैको समानुपातिक समावेशी पद्धतिको आरम्भ गरेको भए पनि उनका स्वघोषित उत्तराधिकारीहरूले त्यो सुरुआतलाई अन्त्यसरह नै गरिदिएका थिए । पिएललाई अन्याय गर्ने राजाका पृष्ठपोषकहरूले नेवारले क्रान्ति गर्दैन भनेर ‘गद्दार पुष्पलाल’ किताबसम्म छापेर बाँडेका थिए । बिपी र पिएललाई पार्टीको गुटबन्दी गरेको दोष लाउनेहरू नै प्रतिक्रियावादीको नुन र सुन लिएर गुटबन्दी गर्दथे । विचार, सिद्धान्त र क्रान्तिकारी कलेवर हालेर ठगी गर्नेहरूलाई के भन्नुु ? बिपी र पिएलको पार्टी फुटाएर क्रान्तिलाई रोक्नेहरू नाङ्गो हुँदै छन् । सानो जनसंख्या, सानो भूभाग, जैविक सांस्कृतिक विविधता, विशाल जलस्रोत, उत्तर दक्षिण भिरालो अवस्थितिले गर्दा नै हरेक दृष्टिले नेपालमा अन्तर्राष्ट्रिय प्रभाव पर्छ । बाह्य प्रभावले गर्दा जटिल भएको हाम्रो अर्थ राजनीति अस्थिर रहेको हुँदा छोटा–बडा सबैले कसैको आडभरोसा लिनुपर्ने बाध्यता भएको छ । संसारलाई आश्चर्यचकित बनाएको शान्तिपूर्ण संयुक्त जनआन्दोलन २०६२/२०६३ ले ल्याएको परिर्वतन भनिएको ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ क्षणिक सपना जस्तो भएको छ । बिपी र पिएलको ‘संयुक्त जनआन्दोलन’ र ‘राष्ट्रिय मेलमिलाप’को सिद्धान्त ‘पुँजीवादी जनवाद’  र ‘प्रजातान्त्रिक समाजवाद’लाई नियालेर हेर्दा नेपाली राजनीतिमा रहेको दुई पांग्राले चलेको रथजस्तो लाग्छ । यी दुई नेताका दर्शन राजनीतिक सिद्धान्तलाई मिलाएर फेरि पनि नयाँ राजनीतिक शक्ति सञ्चय गर्नुपर्ने भएको छ । पुष्पलालको तीन ‘स’ ‘सिद्धान्त, संगठन र संघर्ष’ विश्वेश्वरको ‘अनुशासन, इमानदारी, सादगी र निस्वार्थता’को संयोजन गरेर नयाँ तागत नयाँ बाटो बनाउनुपर्ने भएको छ । परम्परागत सोच र व्यवहारबाट चलेका कम्युनिस्ट र कांग्रेस पार्टी कार्यालयमा माक्र्स, एङ्गेल्स, लेलिन, स्टालिन, माओ, पुष्पलाल, प्रचण्ड, बिपी, गणेशमान, सुवर्ण, कृष्णप्रसाद, गिरिजाप्रसाद, सुशीलका तस्बिर झुन्ड्याएर हँसियाहतौडा र चारतारे  झन्डा हल्लाएर मात्र नयाँ शक्ति निर्माण हुँदैन । यी पार्टीका मठाधीश जिमीदारहरूले आफूलाई परिवर्तन गर्नैपर्छ ।
माओवादी, कांग्रेस, एमाले, मधेसी, जनजाति, दलित, महिला, नामधारी पार्टी सबैले नयाँ चुनौती सामना  गर्न नयाँ सिद्धान्त, दर्शन र राजनीतिक कार्यक्रम चाहिन्छ भनेर बुझ्नै पर्छ । राज्यको पुन:संरचना र शासकीय स्वरूपको विषयमा अल्झिएको हुँदा नयाँ सिद्धान्त र नयाँ सामाजिक जनतन्त्रलाई स्वीकार गर्नुपर्छ । नेपाल संघीय जनतन्त्र धर्म निरपेक्ष स्वतन्त्र सार्वभौम राष्ट्र निर्माण गर्न सबैले तयार हुनुपर्छ । नेपालका सबै जात, जाति, क्षेत्र वर्ग, लिंग, उमेर, समूहका आदिवासी जनजाति, मधेशी, पिछडा वर्ग, महिला, दलित, खस, बाहुन, क्षेत्रीलाई राष्ट्रिय चिन्तन र आत्मसम्मानको शिक्षा दिनुपर्छ । भाला, खुकुरी तरबार, शंख लिएर युद्धको धम्की दिने होइन, अखण्डताको नाममा संघीयता, पहिचान र जनतन्त्रविरोधी केन्द्रमा सामन्त जालीफटाहा, भ्रष्ट, अनैतिक जनविरोधीलाई संगठित गर्नु भएन । नयाँ सामाजिक जनतन्त्र भनेको जनतामा निहीत सार्वभौम राजकीयसत्ता, बहुदलीय व्यवस्था, आवधिक निर्वाचन, राजनीतिक स्वतन्त्रता, आर्थिक समानता, स्वतन्त्र र सक्षम न्यायपालिकालगायत मानवअधिकार हुन् । यदि हामीले यी काम गर्न सक्छौँ भने बिपी र पिएलको सपना साकार हुनेछ ।

प्रतिक्रिया