राजा महेन्द्रसझ्ग सिकार खेल्न जाझ्दा…

रेडियो नेपालको सैनिक कार्यक्रममा नाटक खेलेर आफ्ना आवाजलाई गाउँगाउँसम्म पुर्‍याउने मेजर भीमबहादुर थापा कलाक्षेत्रमा अधिकांश नेपालीको प्रिय नाम हो । तर उनको परिचय कलाक्षेत्रमा मात्र सीमित छैन । दोस्रो विश्वयुद्धमा बर्मा फ्रन्टमा लडेका थापा २००२ सालमा तत्कालीन राणाजीको चौबीस पल्टनबाट नेपाली सेनामा प्रवेश गरेका थिए । बर्मामा हुँदा सिपाही रहेका उनी यता आएपछि लान्सनायक भए । सैनिक जीवनमा धेरै प्रकारका राजनीतिक व्यवस्था भोगेका थापाले जीवनमा चार राजाको शासन हेरे, राणाशासनदेखि बाबुराम शासनसम्म भोग्दै छन् । हँसिला र रौसिला स्वभावका थापा अरूलाई हँसाउन पाउँदा निकै आनन्द मान्छन् । उनी सैनिक जीवनमा सधैँ दरबारका नजिक रहे तर राजा महेन्द्रसँग उनको बढी नै निकटता थियो । यसै सेरोफेरोमा प्रस्तुत छ उनको संस्मरण :
०२ सालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले विश्वयुद्धबाट फर्केका सैनिकलाई राणाजीको चौबीस पल्टनमा एक तह थपेर दिने घोषणा गरे । मलाई पनि नेपालमै काम गर्ने मन थियो, चौबीस पल्टनमा भर्ना भएँ । लान्सनायक बनाइएँ । उति बेलैदेखि मलाई कथा–चुट्किला भनेर मान्छेलाई मनोरञ्जन दिँदा आनन्द लाग्थ्यो । सैनिक जीवनमा मेरा जिम्मेवारीसँगै नेपालको राजनीतिक व्यवस्था पनि परिवर्तन हुँदै गए ।
राजा त्रिभुवनकै पालादेखि सेनामा चाडबाडका बेला सांस्कृतिक कार्यक्रम हुन्थ्यो । म पनि सहभागी हुन्थेँ । मेरो भूमिकाचाहिँ सबैलाई हँसाउनु हुन्थ्यो । त्यही बेलादेखि म राजपरिवारसँग नजिकिएँ । महेन्द्र सरकार राजा भएको दुई वर्षजति पछाडि उनले नियम बनाए– प्रत्येक माघ–फागुनको समयमा हप्ता–पन्ध्र दिन सिकार खेल्न जाने । त्यसका लागि महिनौँअघिदेखि पूर्वतयारी हुन्थ्यो । सरकारी र साहू–महाजनका गरी तीस–पैँतीसवटा हात्ती तयार गरिन्थ्यो । राजासँग सिकारमा को–को जाने भन्ने कौतूहल हुन्थ्यो ।
सिकारको आवश्यक प्रबन्ध पिपागोस्वारा पल्टनले मिलाउँथ्यो । पिपाको काम सिकार खेल्ने ठाउँ निधो गरेर जंगल फाँडफुँड गर्ने, सरसफाइ गर्ने र सिकारमा परेका जनावरलाई क्याम्पसम्म ल्याउने हुन्थ्यो ।  पच्चीस–तीस जनाको टोली र हात्ती पहिले नै जान्थे । दश पन्ध्र दिन त जंगलमा नारायणहिटीमै जस्तो रमाइलो वातावरण हुन्थ्यो । जेनेरेटर लगेर झिलिमिली बत्ती बालिएको र पाल सजाइएको हुन्थ्यो । बाजाको झ्याइँझ्याइँ–झुइँझुइँ, साह्रै रमाइलो । मैले राजा महेन्द्रसँग सात पटक सिकार खेल्न जाने अवसर पाएँ  ।
सिकार धेरैजसो चारकोसे झाडीको बाघमारावरिपरि हुन्थ्यो । जरायो, हरिण, मृग, खरायो, बँदेलजस्ता जनावर मारिँदैनथे । पाएँ भन्दैमा गोली हानिहाल्ने पनि होइन, यसो खानका लागि एउटा मार्ने न हो । बाघ र गैँडाको सिकार बढी हुन्थ्यो । बाघ पनि भेट्नेबित्तिकै हान्दैनथे ।  पहिले त्यसको आकार कत्रो छ भनेर नापजाँच हुन्थ्यो, टाढैबाट । यसपालि कति फिटको बाघ मर्‍यो भनेर रेकर्ड राख्ने चलन पनि थियो ।
हात्तीहरू लगाएर करिब छ–सात किलोमिटरजति एरिया घेरा हालिन्थ्यो । हात्तीमा बस्नेहरू है…है गर्दै कराउँथे । हात्तीहरू अघि बढ्दा घेरा साँघुरो हुँदै जान्थ्यो, घेरिएका जनावर एकै ठाउँमा जम्मा हुन्थे । नैनासुतको पच्चीस–तीस थान सेतो कपडा पनि सँगै लगिएको हुन्थ्यो । घेरिएका जनावरलाई फेरि त्यो सेतो कपडाले घेरिन्थ्यो । अचम्म– अरू सबै दुब्ला जनावरचाहिँ त्यो कपडा नाघेर वा छिरेर भाग्न सक्थे, बाघचाहिँ अलमल्ल पथ्र्यो । कपडा नाघेर जानै सक्दैनथ्यो । दौडेर भाग्न खोज्छ, सेतो कपडा देख्नासाथ फेरि फर्किहाल्छ । घेरामा कहिलेकाहीँ त पाँच सातवटासम्म पनि बाघ हुन्थे । सानो, दुब्लो, बूढो छ भने छोडिदिने, ठूलो अनि खाइलाग्दो बाघलाई मात्र हान्ने ।
राजासँग प्राय: उनका हजुरिया, गोस्वाराको पाल टाँग्नेहरू वा उच्च हाकिम मात्र जान पाउँथे । तर, म सुबेदार मात्र भएर पनि जान पाउँथेँ । राजा महेन्द्रले उर्दी जारी गरेका थिए– ‘म चारभन्ज्याङ काटेर जाने जुनसुकै कार्यक्रममा भीमबहादुरको नाम पनि नछुटाउनू’ भनेर । कारण– एउटै थियो, म रमाइलो गरेर सबैलाई हँसाउथेँ ।
जंगलमा छँदा बिहान आठ–नौ बजेसम्म पूजापाठ गर्ने अनि दस बजे सिकारमा निस्कने रुटिन थियो मेरो । राजाको हात्तीमा विशेष गद्दी राखिएको हुन्थ्यो । कहिलेकाहीँ त ठूलाठूला बाघ झम्टिएर माथिसम्मै आउँथे । राजासँग एक हजुरिया पनि साथैमा हुन्थ्यो । तर, सिकारचाहिँ राजा आफँैले गर्थे, अरूले गोली हान्न पाउँदैनथे । गैँडाको सिकार गर्दा भने भरसक बूढो र रोगी हेरिन्थ्यो । सिकारभरि एउटा मात्र गैँडा ढालिन्थ्यो, भेटेजति सबैलाई हानिँदैनथ्यो ।
साँझमा महेन्द्रसँगै उनका हजुरिया र केही नजिकका मान्छे बसेर खाई–पिई रमाइलो गरिन्थ्यो । यस्तो बेलामा मेरो विशेष खोजी हुन्थ्यो, राजालाई कथा–उखान सुनाएर रमाइलो गराउनुपथ्र्यो । राजा मैले सकेसम्म रमाइलो गराओस् भनेर बढीभन्दा बढी रक्सी पियाएर उत्तेजित बनाउन खोज्थे । तर, म थोरै खान्थेँ अनि धेरै लागेको जस्तो गर्थें, बढी लट्ठिएजस्तो व्यवहार देखाउँथेँ । एक बोतल विदेशी रक्सी हुन्थ्यो । मलाई थाहा थियो– राजाहरूका अगाडि सम्हालिनुपर्छ । राजाका अगाडि कथा भन्नचाहिँ सजिलो थियो किनकि उनीहरूलाई ग्रामीण वातावरणका कुरा थाहा हुँदैनथे । धामी, झाँक्री, बोक्सीका प्रसंग सधैं नयाँ लाग्थे उनीहरूलाई । गाउँमा धामी कसरी काम्छ, झाँक्रीले के गर्छ, बोक्सीका नाममा कस्ता किस्सा घट्छन्, यस्ता कुरालाई म कथाजसरी नै सुनाइदिन्थेँ । राजा मक्ख पर्थे । मेरो अर्को कामचाहिँ मरेको बाघको जुँगा उखेल्ने हुन्थ्यो । त्यो जुँगा धेरै कुराको औषधि हुन्छ भन्थे । सिकारमा जाँदा बाघबारे मैले बुझेको अर्को कुरा– बाघको अगाडिको खुट्टामा पाताभन्दा तल एउटा बाजु भन्ने हुन्छ । त्यो हड्डी र मासुको बीचमा हुन्छ र बाघले झम्टिँदा त्यो तलमाथि गरिरहन्छ । त्यसैलाई बाघको झम्टने शक्ति मानिन्छ ।
वर्षमा एकचोटि गैँडा सिकार गर्नुमा पनि कारण थियो । राजपरिवारका पितृपुर्खालाई गँैडाको रगतको तर्पण दिने चलन थियो । यसरी तर्पण दिँदा तिथि पनि पर्खनुपर्दैन भन्ने थियो । मारेको गैँडा क्याम्पमा ल्याएर रगत झिकिन्थ्यो । राजाले तर्पण दिन्थे, दरबारका ब्राह्मण पनि सँगै गएका हुन्थे । अहिले पनि कतिपय ठूलाबडा र राजाका हजुरियाका घरमा खगौतोले तर्पण दिने चलन छ । गैँडाको खाग निकालिएको कचौराजस्तो भागलाई खगौतो भनिन्छ ।
एकपटक राजाका भारतीय आफन्त पनि त्यो सिकारमा गएका थिए । उनले पहिल्यैदेखि आफूलाई पनि गैँडाको रगतबाट पितृतर्पण गर्ने इच्छा रहेको राजा महेन्द्रलाई सुनाएका रहेछन् । उनको इच्छाबमोजिम सिकार गरिएको गैँडा क्याम्पमा ल्याइयो । तर्पणको तारतम्मे मिलाइयो । पाहुनालाई तर्पणका लागि बोलाइयो । तर त्यस दिन बाहुनै पो रहेनछन् । राजा आफैंले तर्पण गर्दा पो दरबारका पण्डित लिएर जान्थे । कसैलाई होसै भएन । वरिपरि जर्नेल, कर्नेल, आर्मीका कमान्ड इन चिफदेखि सबै बसेका छन्, पाहुना तर्पण गर्न ठीक परिसक्यो । फेरि ऊ जे देखे पनि सिकसिको मान्ने रहेछ । राजाले यसो हेरे र भनिहाले– ‘बाहुन खोइ †’ सबै बाहुन–बाहुन भन्न लागे । ल्याएका भए पो हुन् बाहुन † अब राजालाई इज्जतको कुरा भयो, सबै व्यवस्था गरेर पाहुनालाई बाहुन छैनन् भनेर फर्काउने कुरा पनि भएन । बडो अप्ठेरो पर्ने भो । मैले अवस्था बिचारेँ र आर्मी चिफको कानमा गएर फुसफुसाएँ– ‘अब मै गरिदिन्छु बाहुनको काम †’ उनले राजालाई सुटुक्क सुनाए– ‘महाराज बाहुन छैनन्, भीमबहादुर बाहुनको काम मै गरिदिन्छु भन्छ ।’ राजाले मतिर हेरेर अचम्म मान्दै भने, तीनपटक– ‘तिमी बाहुन †’ मैले भनेँ– ‘सरकार म बाहुन त होइन, तर यो इन्डियनलाई के थाहा ? नेपाली बुझ्दैन, म जस्ताको त्यस्तै गरिदिइहाल्छु ।’
हत्तपत्त धोती फेरेर बाहुन भएँ अनि उसलाई बोलाएँ– ‘आइए’ । ऊ घीन मानेर छिटोछिटो सकिए हुन्थ्यो भन्ने सोचिरहेको थियो । म पनि छिटो सकेर उम्काइदिइहाल्न पाए हुन्थ्यो भन्नेमा थिएँ ।  सुरु गरिहालेँ– हरी ॐ तत्सत् तत्सत् चारकोसे झाडी… तसाय… तिम्रा पितृ..ले पाए… आपका बापका नाम सम्झिए… फलानाका नामका स्वाहा… । एक छिन् यस्तै भनेर फतफताएँ, तर्पण सकियो । उसले टीका लगाएर दक्षिणा दियो । खुट्टा पनि छोयो, तथास्तु भनेँ । उति बेलाको सुबेदार मेरो चानचुन तीन सय रुपियाँ तलब थियो । रुखको फेदमा गएर उसले दिएको पैसा गन्न थालेँ । पट्याएर दिएकाले सुरुमा त दसवटा नम्बरी जस्तो लागेको थियो, म त त्यहीँ काम्न पो थालें । पाँचवटा नम्बरी हालेको रहेछ । उताबाट भीमबहादुर भनेर कराउन थाले, राजाले बोलाएका रहेछन् ।
राजाले ठूलो–ठूलो तक्मा दिने बेलामा धाप मार्ने चलन देखेको थिएँ, त्यहाँ पनि राजाले मलाई दुईचोटि धाप मारे र भने– ‘धन्यवाद, तिमीले हाम्रो इज्जत जोगायौ ।’ मेरो छाती गर्वले फुल्यो । कम्ती खुसी भइनँ † त्यहाँ मेरो ठूलै वाहवाही भयो । कमान्डर इन चिफले पनि धन्यवाद दिए । त्यही मौका पारेर मैले राजालाई भनेँ– ‘सरकार मेरा पनि पितृ छन्, यो खागले तर्पण गरे स्वर्ग जान्छ भन्छन्, त्यसैले आजको गैँडाको खागचाहिँ मैले नै पाउन पाए हुन्थ्यो †’ राजाले पनि एकै वचनमा ‘ल आजको खाग तिमीलाई भयो’ भने । तर, म सुबेदार न परेँ, त्यो पनि पहाडको सोझो मान्छे । मलाई खागको के महत्त्व भन्ने लागेछ क्यारे, एक जना जर्नेलले ‘यो खाग राखेर तिमी के गर्छौ, बरु मलाई दुई हजारमा देऊ’ भन्दै लिएर गए । तर त्यो घटनाले मलाई दरबारसँग झन् नजिक बनायो, त्यही साल त्रिशक्तिपट्ट पनि पाएँ ।
राजा महेन्द्रसँग सिकारमा जाँदाका अरू प्रसंग पनि रमाइला लाग्छन्, अहिले सम्झँदा । एक पटकको सिकारमा म राजाको पछाडि हात्तीमा थिएँ । भनेँ– ‘सरकार, आजसम्म सरकारको यो ताबेदारले केही मागेको छैन, एउटा इच्छाचाहिँ पूरा गरिदिनुपर्‍यो ।’ उनले सोधे– ‘के इच्छा ?’ मैले ‘सरकारले मारेको बाघमा घोडा चढेर एउटा फोटो खिचाउन मन छ’ भनेँ । उनले मुसुक्क हाँसेर ‘हुन्छ’ भने । अगाडि जंगी बाघ थियो, राजाले ड्यांग गोली हाने । म हात्तीबाट हामफालेर बाघमाथि घोडा चढ्न दौडिएँ । तर कोखामा गोली लागेको बाघ मरेकै पो रहेनछ, घोडा चढेको त बुरुक्क उफ्रियो । नराम्ररी पछारिएँ, झन् झम्टिन आयो । धन्न अरूले हत्तपत्त मलाई तानेर हात्तीमा चढाइहालेछन्, डरले सातोपुत्लो उडिसकेको थियो, धेरै बेरसम्म केही थाहा पाइनँ । पछि त राजा रिसाए– ‘तिमी अलि बढी उत्ताउलो भयौ †’ मैले ‘माफ पाउँm सरकार’ भनेँ ।  राजाले फेरि अर्को गोली हानेर बाघ मारे ।
सिकारको क्याम्प उठ्ने अघिल्लो दिन राजाले नजिकका हजुरियालाई पाँच–पाँच राउन्ड गोली र एउटा–एउटा बन्दुक दिन्थे र भन्थे– ‘लौ बाघबाहेक जे सक्छौ मार, सिकारको रहर पूरा गर । त्यो तिमीहरूकै हुन्छ ।’
महेन्द्र धेरै नबोल्ने, मुन्टो हल्लाउने र मुसुक्क हाँस्ने स्वभावका राजा थिए । जति गरे पनि खुलेर नहाँस्ने तर वीरेन्द्र भने एकदम रमाइलो गर्ने, हाँस्दा पनि निकै खुल्ने स्वभावका थिए ।   दरबारसँगको त्यही निकटताकै कारण अहिले पनि मलाई त्यहाँबाट ५ हजार रुपियाँ दसैँखर्च आउँछ । अहिले पनि मलाई माया गर्छन् जस्तो लाग्छ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया