मानसाग्निको मिसन

अनेक स्वार्थहरूको एउटै कोलाज हो, मान्छे । स्वार्थको केन्द्र एउटै हुन्छ– आफ्नै सर्वोपरि हित । स्वार्थको पोखरीमा पौडनेहरूको जीवनको लक्ष्य र परिधि सानो हुन्छ । निजी स्वार्थमा अल्झिनेहरूको छुट्टै कथा छ यहाँ । तर, यो समाज यस्तो छ, निजी स्वार्थको व्यापक घोडदौडमा सवारहरूलाई नै आफ्नो आदर्श मान्छ । निजी स्वार्थलाई गौण मानेर जीवनको लक्ष्य नै ‘जनहित’ ठान्नेहरू साह्रै थोरै हुन्छन् । तिनै थोरैमध्ये पर्छन्– डा. हरिप्रसाद अर्थात् मानसाग्नि । चिनारी यत्तिमै सीमित छैन, फराकिलो संसार चियाउने हैसियत राख्छन् उनी । संसारसागर तर्दै अरूलाई पनि तर्ने उपाय सिकाइरहेका छन् । त्यस सिकाइको पाठशाला बनेको छ– उनको बृहत् ज्ञान, जीवनदर्शन र स्वधर्म ।
विसं. २०२० चैत २२ गते पाल्पाको तानसेनमा जन्मिएका हुन् मानसाग्नि । बाल्यकाल त्यतै बित्यो । सानैदेखि प्रकृतिप्रेमी थिए अनि एकान्तप्रेमी पनि । उनका बाल्यकालीन प्रकृतिप्रेमका संस्मरण रोचक छन् । आफूसँगैका ठिटाहरूले चरालाई गुलेली ताक्दा उनी धपाइदिन्थे । चराका बचेराहरू ल्याएर साथीहरू पोल्न खोज्थे तर उनी त्यसभन्दा पहिले नै ती चरा खरिद गर्थे । बचेराको जीवनरक्षाका लागि आफ्ना किताब, कलम, कपडा सबै साथीहरूलाई दिन्थे रे † आफ्ना कपडा साथीहरूलाई दिँदादिँदा एक दिन उनको शरीरमा कट्टु मात्र रह्यो । अनि उनका हातमा थिए, भर्खरै साथीहरूको भोजन हुनबाट जोगिएका पखेटा नउम्रिएका सातवटा बचेरा । मानसाग्निको मुहारमा प्राणीरक्षाको सन्तुष्टि थियो ।
त्यति बेला हरिप्रसादको उमेर १३ वर्षजति थियो । घरमा मासु पाकिरहन्थ्यो, उनी पनि खान्थे । शिवरात्रिको समयमा गाउँमा मेला थियो । मेलामा हात्ती आयो । त्यो बेलाको बालमस्तिष्कले सोधेछ, ‘हात्तीले के खान्छ ?’ उत्तर आयो, ‘जंगली घाँसपात मात्र ।’ उत्तरले बालक हरिप्रसादको मनमा भुइँचालो ल्याइदियो । घाँस मात्र खाएर हात्तीजस्तो विशाल प्राणी बाँचिरहेको छ, बलियो छ भने मानिसले मासु किन खाने ? त्यही बेलादेखि उनले मासु खान त छोडे नै, त्यसपछिका लगातार १४ वर्षसम्म फलाहार मात्र गरे । अनि करिब दुई वर्षसम्म घाँस र जडिबुटी मात्र खाए । यी प्राकृतिक वनस्पतिको आहारले उनको शरीरमा जाज्वल्य आभाले बास पायो । नसाहरूमा सुस्वास्थ्यको ऊर्जा दौडियो । अनि भोजनजस्तै सात्विक हुँदै गयो उनको विचार पनि । विचार पनि शरीरजत्तिकै चुस्त भइरह्यो । गाउँमा आइरहने योगी, साधुहरूबाट प्रभावित थिए उनी । योगीहरूको चमत्कारी आख्यानले बालमस्तिष्कमा छुट्टै छाप बनाइसकेको थियो । अन्तत: फलामे गेट मानिएको एसएलसीको तयारी गर्नुपर्ने जिम्मेवारी बोकेको ठिटो सुनको रत्नजडित ढोका खोज्न घर छोड्न पुग्यो । र, यात्रा मोडियो भारततिर ।
भारतका विभिन्न आश्रम, मठ, मन्दिर आदि धाए हरिप्रसादले । तर, कुनै आश्रमले तान्न सकेन उनको हृदयलाई । त्यस क्रममा विभिन्न आश्रमहरूमा पुगेर उनले योगसाधना गरे । ज्ञान खाजे । अन्तत: प्राप्त ज्ञानले उनको अन्त:स्करणलाई झकझक्यायो– ‘तिम्रो मातृभूमिजत्तिको असल र जीवन्त साधनास्थल अन्त हुन सक्दैन ।’ ज्ञानको भोकमा भौँतारिएका ठिटा आफ्नै गाउँ फर्किए । आफ्नै देश फर्कियो । जहाँका हिमवत्खण्डहरूमा अनादि सत्ताका दिव्यप्रसाद भेटिन्छन्, त्यही प्राप्त भयो डा. हरिप्रासदलाई । अनि उनी साधनाको गहिराइमा ‘मानसाग्नि’ चित्रित भए । मनसाग्निको आफ्नै मिसन छ । आफ्नै धर्म छ । ‘शरीरका साथमा रहेका मानसाग्निले एकदिन शरीर छोड्नेछ र त्यो छुटाइपछि एक सार्वभौम सनातन शरीरको आवश्यकता पर्दछ । त्यो नै मानसाग्नि मिसन हो ।’ उनको मिसन परिभाषा । मानसाग्नि मिसनको मूल अभियान हो रे, स्वधर्म । स्वधर्ममा तीन कुरालाई जोड दिइएको छ । शरीर योग, विश्वयोग र अनादि योग । शरीर ठूलो रहस्यको केन्द्र भएकाले त्यसलाई माया र सम्मान गर्नुपर्ने । अनि विश्व ब्रह्माण्ड, जुन शरीरको पनि हिस्सा हो, त्यसलाई प्राकृतिक राख्नुपर्ने । र, अनादि सत्ताको साधनाद्वारा दर्शन गरी सम्बुद्ध हुने ।
शैली हेर्दा लाग्छ उनी ब्रह्मचर्यमा छन् । समाजोत्थानको मार्गमा हिँडेकाहरूले निजी स्वार्थ र पारिवारिक मोहलाई उति साह्रो महत्त्व दिँदैनन्, उनी पनि दिँदैनन् । उनको संकल्प छ– बिहे नगर्ने, संकीर्ण स्वार्थमा नरुमल्लिने । हल्का कालो दाह्रीका बीचबाट प्रकट भएको उनको मुस्कानले आज पनि कैयौँ मनोरोगी लाभान्वित छन् । शिरदेखि पाउसम्म उस्तै हिउँ रङको पहिरन हेर्दा लाग्छ, उनी हिमवत खण्डको धर्म, शैली अनि सिद्धान्तलाई कलरफुल बनाउँदै छन् । उनी सेवालाई साधनाको मूल हिस्सा मान्छन् । योग र प्राकृतिक चिकित्साको क्षेत्रमा उनको नाम नेपालमा सम्मानसाथ लिइन्छ । संसारका सभ्यताको प्रादुर्भाव कि त समुद्री किनारबाट भयो कि त हिमालबाट । भन्छन्, ‘हाम्रो पूर्वीय दर्शन हिमवत्खण्डको सभ्यताबाट प्रभावित छ ।’ उनलाई लाग्छ, हिमवतखण्डको जीवन्त कला, संस्कृति, धर्म , स्वास्थ्य, शिक्षा, विज्ञान आदिको मूल स्रोत योग हो । यही सोचेर उनले प्राकृतिक स्वास्थ्य र योगका क्षेत्रमा काम गरिरहेका छन् । प्राकृतिक स्वास्थ्य संस्था सर्वोदय सेवाश्रमका संस्थापक हुन् उनी । त्यसबाहेक उनी त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा प्राकृतिक चिकित्सा विभागका प्रथम शिक्षक पनि हुन् । स्वास्थ्य मन्त्रालयबाट बनेको योग एवं प्राकृतिक चिकित्सा समितिको अध्यक्ष बने उनी । त्यही बेला उनकै पहलमा प्राकृतिक चिकित्साले राष्ट्रिय चिकित्साको रूपमा मान्यता पायो ।
कुनै बेला परम्परागत र गुरुकुलीय शिक्षामा रहेको प्राकृतिक चिकित्सा यतिखेर विश्वविद्यालयसम्म आइपुगेको छ । एलोप्याथी चिकित्साबाट निको नभएका र्कयौँ रोगीहरूको उपचार प्राकृतिक चिकित्साबाट सम्भव बनेको छ । नेपालका विभिन्न स्थानमा प्राकृतिक स्वास्थ्य संस्थाअन्र्तगतका पाँचवटा जति अस्पताल छन् । राजधानीको भीमसेनगोलामा रहेको अस्पताल आफ्नै जग्गामा बनेको छ । न्यून शुल्कमा बिरामीको सेवा पुर्‍याउने उनको चाहना रे । धेरै खर्च गरेर ठूला अस्पतालमा उपचार गराइए पनि निको नभएका रोगहरू प्राकृतिक चिकित्साबाट निको हुँदा बिरामी र तिनका आफन्तमा देखिने खुसीमा असीम आनन्द अनुभूत गर्छन् उनी । भन्छन्, ‘रोग निको भएपछि अस्पताललाई भनेर कति बिरामीले सय रुपियाँदेखि १ लाख रुपियाँसम्म चन्दा दिएका छन् ।’
अस्पताल, डाक्टर र बिरामीका बेडहरू बढेकोमा स्वास्थ्यको स्तर सप्रिएको भन्न नमिल्ने तर्क छ उनको । ‘जब अस्पतालमा बिरामीको चाप घट्छ तब मात्र स्वास्थ्यको स्तर सकारात्मक ठहरिन्छ,’ उनको भनाइ । नेपालीहरूमा स्वास्थ्य समस्या आउनुका प्रमुख तीन कारण दिन्छन् उनी । भोजन, व्यायाम र तनाब व्यवस्थापन हुन नसक्दा मानिस रोगी हुने उनको तर्क । संसारबाटै लगभग सरुवा रोग उन्मूलन भइसके पनि नसर्ने रोग नै संसारका लागि चुनौती रहेको अवस्थाप्रति उनको चिन्ता छ । खानेकुरा नै अस्वस्थ र विषादीजन्य रहेकाले रोगीको संख्या बढ्दो रहेको उनको भनाइ छ । भन्छन् , ‘एउटा पम्पमा मिसावट छ भनेर पेट्रोल हाल्नलाई केही पम्प चहारेर मानिस मोटरसाइकल जोगाउँछ तर सफा खनेकुरा पाइन्छ भनेर मानिस होटल चहार्दैन, शरीरलाई भन्दा बढी माया मोटरसाइकललाई गर्छ मानिस ।’
अध्यात्म, समाजसेवाबाहेक वाङ्मयमा पनि हरिप्रसादको उपस्थिति चहकिलो छ । उनका दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् जो संसारलाई फराकिलो दृष्टिकोणबाट चियाउन पर्याप्त छन् । उनका कैयौँ संकल्प छन्, जो समाज कल्याण गर्न सर्मथ छन् । प्राकृतिक चिकित्साका लागि उनी शिविर लिएर नेपालका दुर्गम गाउँतिर पुगेका छन्, छामेका छन् नेपाली मुटु । गाउँको यात्राले उनमा अलौकिक भावना जागृत गराउँछ । सोच्छन्– मान्छेहरू किन सधैँ अन्धकार र अज्ञानतामा बाँचेका ? शिरमा लगाएको हिउँ परेको सेतो टोपी छाम्दै भन्छन्– योग र प्राकृतिक चिकित्साले नै मानिसलाई जीवनको शान्तिमार्गमा डोहोर्‍याउँछ । स्वधर्मले नै मानव शान्ति र विश्व कल्याण गर्छ ।

प्रतिक्रिया