मुखर्जीद्वारा शपथग्रहण

नयाँदिल्ली, ११ साउन । भारतका पूर्वअर्थमन्त्री प्रणव मुखर्जीले एक भव्य समारोहबीच बुधबार भारतको राष्ट्रपति पदको शपथग्रहण गरेका छन् । शपथ ग्रहणपछि उनले गरिबी समस्या डरलाग्दो बनेको उल्लेख गर्दै समाधानका लागि आह्वान गरेका छन् ।
राष्ट्रपति मुखर्जीले भारतले हासिल गरेको आर्थिक उन्नतिका बीच पछि परेका करोडौँ गरिब जनताको बाधा हटाउने विषयलाई प्राथमिकता दिन आग्रह गरे । ७६ वर्षीय मुखर्जी शपथग्रहण समारोहमा घोडचडी समूहका साथ आइपुगेका थिए । उनलाई भारतीय सेनाले तोप पड्काएर सम्मान प्रदान गरेको थियो । २१ तोपको सलामी प्राप्त गरेपछि मुखर्जीले सांसदहरूलाई सम्बोधन गरेका थिए । आधुनिक भारतको शब्दकोशबाट
गरिबी भन्ने शब्द मेटाउन उनले सांसदहरूसँग आग्रह गरे । साथै, उनले समानताका लागि प्रयास गर्न पनि आग्रह गरे ।
‘भोको हुनुभन्दा बढी ठूलो ग्लानि र दुव्र्यवहार अर्को हुन सक्दैन । चुहिएर तल झर्ने सिद्धान्त (ट्रिकल डाउन थियरी) ले गरिब जनताको वैध आकांक्षालाई सम्बोधन गर्न सक्दैन । तल्लो तहमा रहेकालाई हामीले माथि ल्याउनै पर्छ,’ उनले भने । उनले भ्रष्टाचारले मुलुकको प्रगतिको मनस्थितिलाई दबाउने भएकाले भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा उनले जोड दिए ।
मुखर्जी भारतीय कांग्रेस पार्टीका तर्फबाट राष्ट्रपति पदमा उम्मेदवार बनेका थिए । राष्ट्रिय तथा राज्यस्तरीय सांसदहरूमध्ये ६९ प्रतिशत मत प्राप्त गरी उनी विजयी भएका हुन् । भारतको संविधानअनुसार प्रधानमन्त्रीले कार्यकारी प्रमुखको अधिकार प्रयोग गर्छन् । तर, राष्ट्रपतिले केही विधेयक पुनर्विचारका लागि फिर्ता पठाउन सक्छन् र सरकार गठनका प्रक्रियामा निर्देशकको भूमिका निर्वाह गर्न सक्छन् । (एएफपी)

प्रतिक्रिया