मध्यभोटेकोसीले ‘र्‍याफ्टिङ सेन्टर’ बनाउने

सिन्धुपाल्चोक, ११ साउन । पर्यटन कि जलविद्युत् भन्ने विवाद चर्किरहेका बेला मध्यभोटेकोसी जलविद्युत् आयोजनाले हाइड्रो पावरसँगै अन्तर्राष्ट्रियस्तरको र्‍याºिटङ सेन्टर बनाउने भएको छ । पर्यटनको बदलामा जलविद्युत् नहुने भएकाले पर्यटन र जलविद्युत् सँगसँगै लैजाने भन्दै आयोजना अन्तर्राष्ट्रिय स्तरको र्‍याºिटङ सेन्टर बनाउने तयारीमा जुटेको हो ।
देशकै ठूला जलविद्युत् आयोजनाअन्तर्गत एक सय दुई मेगावाट क्षमताको यो आयोजनाले हाल सीमित रहेको जल पर्यटनलाई विस्तार  गरी अन्तर्राष्ट्रियस्तरको बनाउने पनि बताएको छ । गाती गाविसको जम्बुमा निर्माण गरिने विद्युत् गृहबाट निस्केको पानीलाई सदुपयोग गरी र्‍याºिटङ सेन्टर बनाउने योजना रहेको आयोजनाका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । र्‍याºिटङका साथसाथै वातावरणीय पर्यटनको विकास गर्ने याजना भएको पनि उनले बताए । ‘र्‍याºिटङसँगै ट्रेकिङ रुट निर्माण गरेर वातावरणीय पर्यटनको पनि विकास गर्ने हाम्रो योजना छ,’ उनले भने, ‘पर्यटकलाई धेरै दिनसम्म राख्न विद्युत् पाठशालाको पनि व्यवस्था गर्छौं ।’
पर्यटन र जलविद्युत् एकअर्काका परिपूरक भएको तर्क गर्दै घिसिङले भने, ‘पर्यटन र जलविद्युत् सँगसँगै अगाडि बढ्ने कुरा हो, कि जलविद्युत् कि पर्यटन भन्ने नै होइन ।’ जल पर्यटनका लागि विश्वकै दश उत्कृष्ट नदीअन्तर्गतको भोटेकोसी नदीमा विद्युत् गृह सञ्चालन गर्दा पर्यटनमा निकै ठूलो असर पार्ने पर्यटन व्यवसायीले तर्क गरिरहेका बेला आयोजनाले यस्ता योजना ल्याएपछि आयोजनाको काम अगाडि बढाउन सहज हुने अनुमान गरिएको छ ।
‘देशले यस्तो ऊर्जासंकट खेपिरहेको अवस्थामा जलविद्युत्को बदला पर्यटन हुनै सक्दैन ।’ जलविद्युत् छाडेर पर्यटनको विकासमा लाग्दा समग्र देशको विकास धेरै पछाडि धकेलिने तर्क गर्दै घिसिङले भने, ‘वर्षको करोडौँ कमाउन छाडेर एक दुईवटा डुंगा चलाएर केही नहुने भएकाले जलविद्युत् र पर्यटन सँगसँगै हुन जरुरी छ ।
चिलिमे पावर कम्पनीले भोटेकोसी नदीमा निर्माण गर्न लागेको यो आयोजनाले अहिले अध्ययनको प्रक्रिया सकेर परीक्षण सुरुङ निर्माण गर्न लागेको छ । जग्गा अधिग्रहण र ठेक्कापट्टाको काम सकेर छ महिनापछि निर्माणको काम सुरु गर्ने पनि घिसिङले बताए ।

प्रतिक्रिया