काठमाडौं, ११ साउन । वैदेशिक रोजगारीका लागि चार वर्षमा साढे १२ लाख मानिस बिदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०६५/६६ देखि आव ०६८/०६९ सम्म १२ लाख ५३ हजार चार सय ४० जना रोजगारीका लागि विदेश गएका हुन् ।
विभागका अनुसार रोजगारीका लागि बिदेसिनेमा पुरुषको संख्या अत्यधिक छ । सो अवधिमा १२ लाख एक हजार चार सय १६ पुरुष र ५२ हजार २४ जना महिला रोजगारीको सिसिलामा विदेश गएका छन् । स्वदेशमा प्रशस्त रोजगारीको अवसर नभएकाले विगत चार वर्षदेखि वैदेशिक रोजगारीमा जानेको संख्या अत्यधिक बढेको विभागले जनाएको छ ।
मुलुकमा ठूला उद्योगधन्दा नखुल्ने तथा सञ्चालनमा रहेका कतिपय उद्योगसमेत बन्द भएकाले बेरोजगारीको समस्या बढ्दै जानु तथा प्रत्येक वर्ष करिब चार लाख श्रम शक्ति थपिनुले वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको हो । विभागका अनुसार विगत चार वर्षयता प्रत्येक वर्ष रोजगारीमा जोनको संख्या थपिंदै गएको छ ।
आव ०६५/०६६ मा दुई लाख ११ हजार तीन सय ७१ पुरुष र आठ हजार पाँच सय ९४ महिला गरी दुई लाख १९ हजार नौ सय ६५ जना रोजगारीका लागि विदेश गएकामा आव ०६६/०६७ मा भने दुई लाख ८४ हजार ३८ पुरुष र १० हजार ५६ महिला गरी दुई लाख ९४ हजार ९४ जना रोजगारीमा गएका छन् ।
यस्तै, आव ०६७/०६८ मा तीन लाख ४४ हजार तीन सय पुरुष र १० हजार चार सय १६ महिला गरी तीन लाख ५४ हजार सात सय १६ विदेश गएकामा गत आव ०६८/०६९ मा भने तीन लाख ६१ हजार सात सय सात पुरुष र २३ हजार नौ सय ५८ महिलासहित तीन लाख ८४ हजार ६ सय ६५ जना रोजगारीका लागि विदेश गएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले मुलुकभित्र प्रशस्त रोजगारीको अवसर नहुने तथा बर्सेनि ठूलो संख्यामा श्रम शक्ति थपिनुले वैदेशिक रोजगारीमा जानेको संख्या विगत चार वर्षमा अत्यधिक भएको जनाए । उनका अनुसार चार वर्षयता रोजगारीमा गएका केही मानिस स्वदेश फर्किए पनि अझै बढीजसो रोजगारीमै रहेका छन् ।
वैदेशिक रोजगार व्यवसायीसमेत मुलुकमा औद्योगिक विकास र स्थायी सरकार नभएकाले बिदेसिनेको संख्या बढ्दै गएको बताउँछन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघकी सचिव सुवर्णा श्रेष्ठ पछिल्लो चार वर्षयता बिदेसिने संख्या बढ्नुमा मुलुकको अस्थिर राजनीति र बढ्दो बेरोजगारी नै कारण रहेको बताउँछिन् । अस्थिर सरकारका कारण औद्योगिक वातावरण नहुनुले यो अवधिमा शैक्षिक जनशक्तिसमेत बिदेसिन थालेको उनको भनाइ छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएकै कारण पछिल्ला वर्ष शैक्षिक जनशक्ति ठूलो संख्यामा बिदेसिन बाध्य भएको विश्लेषकहरू बताउँछन् ।
प्रतिक्रिया