मूल्यवृद्धि ‘डबल डिजिट’ मा


काठमाडैां, ११ साउन । आर्थिक वर्ष ०६८/६९ को जेठ मसान्तसम्म मूल्यवृद्धि ९ दशमलव ९ प्रतिशतमा पुगेको छ । नेपाल राष्ट्र बंैकद्वारा बुधबार सार्वजनिक नौमहिने प्रतिवेदनमा सो कुरा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्यवृद्धि ८ दशमलव ८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ र गैर–खाद्य तथा सेवा समूह दुवैको मूल्य सूचकांकमा ९.९ प्रतिशतले वृद्धि भएको
छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य सूचकांक १४.३ प्रतिशतले र गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक ४.३ प्रतिशतले वृद्धि भएको थियो । चालू आवको वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.७ प्रतिशत रहेकामा जेठ महिनामा बन्दहडतालका कारणबाट आपूर्तिमा व्यवधान आएको र नेपाली मुद्राको विनिमयदरमा तीव्र ह्रास आएको कारण आयातित वस्तुको मूल्य बढ्न गई उपभोक्ता मुद्रास्फीतिमा थप चाप पर्न गएको राष्ट्र बंैकले दाबी गरेको छ । त्यसैले चालु आवको ११ महिनासम्मको औसत मुद्रास्फीतिदर अघिल्ला महिनाका तुलनामा केही वृद्धि भई ८.० प्रतिशत पुगेको छ ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा सबैभन्दा बढी पहाडमा १०.३ प्रतिशत, तराईमा १०.१ र काठमाडौं उपत्यकामा ९.४ प्रतिशतले मूल्य सूचकांकमा वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो क्षेत्रमा यस्तो मूल्य सूचकांकको वृद्धिदर क्रमश: ९.९ प्रतिशत, ६.९ प्रतिशत र १०.५ प्रतिशत रहेको थियो ।
त्यसैगरी समीक्षा अवधिमा थोक मूल्य सूचकांकको वार्षिक विन्दुगत वृद्धिदर ९.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ८.९ प्रतिशत रहेको थियो । थोक मूल्यअन्तर्गत आयातीत वस्तु, कृषिजन्य वस्तु तथा स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकांक क्रमश: ११.९ प्रतिशत, ८.७ प्रतिशत र ६.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी वस्तुको थोकमूल्य सूचकांक क्रमश: ९.७ प्रतिशत, ७.६ प्रतिशत तथा ११.७ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा कृषिजन्य वस्तुमध्ये नगदेबालीको थोक मूल्य सूचकांकमा २८.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सूचकांकमा १.३ प्रतिशतले ह्रास भएको थियो । त्यसैगरी फलफूल तथा तरकारी र पशुजन्य उत्पादनको वार्षिक विन्दुगत थोक मूल्य सूचकांक क्रमश: २०.८ र १०.५ प्रतिशतले वृद्धि भएको छ ।
मुद्राप्रदाय
आर्थिक वर्ष ०६८/६९ को एघार महिनासम्म विस्तृत मुद्राप्रदाय १७.९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ८.५ प्रतिशतले मात्र वृद्धि भएको थियो । वार्षिक विन्दुगत आधारमा २०६९ जेठ मसान्तसम्म विस्तृत मुद्राप्रदाय २२.१ प्रतिशतले वृद्धि भएको छ । वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्तिमा उच्च वृद्धि भएको हुँदा विस्तृत मुद्रा प्रदायमा वृद्धि भएको
हो । आव ०६८/६९ को ११ महिनासम्म संकुचित मुद्राप्रदाय अघिल्लो वर्षको सोही अवधिमा ०.७ प्रतिशतले बढेको तुलनामा १०.६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा ०६९ जेठ मसान्तसम्म यस्तो मुद्राप्रदाय १५.६ प्रतिशतले वृद्धि भएको छ ।
बजेट घाटा
आर्थिक वर्ष ०६८/६९ को एघार महिनासम्म नगद प्रवाहमा आधारित सरकारी बजेट ११ अर्ब ४४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सरकारी बजेट आठ अर्ब ४२ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा स्रोत परिचालनका तुलनामा कुल सरकारी खर्च न्यून रहेको कारण सरकारी बजेट बचतमा रहेको हो ।
वैदेशिक व्यापार
जेठ मसान्तसम्म कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.३ प्रतिशतले वृद्धि भई ६७ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात ४.९ प्रतिशतले वृद्धि भई रु. ५७ अर्ब ७८ करोड पुगेको थियो । मासिक रूपमा हेर्दा चालु आवको जेठ महिनामा कुल वस्तु निर्यात वैशाख महिनाको तुलनामा ११.८ प्रतिशतले वृद्धि भएको छ ।
कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात समीक्षा अवधिमा १६.७ प्रतिशतले वृद्धि भएको छ । यस्तो निर्यात अघिल्लो वर्षको सोही अवधिमा ७.५ प्रतिशतले बढेको थियो । त्यस्तै, अन्य मुलुकतर्फको निर्यात समीक्षा अवधिमा १५.६ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको ३.३ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ४.९ प्रतिशतले वृद्धि भई अमेरिकी डलर २७ करोड ५१ लाख पुगेको छ । भारततर्फ मुख्यतया: लत्ताकपडा, अलैंची, पोलिस्टर धागो, तामाको तार र जिआई पाइपलगायत निर्यात बढेको कारण त्यसतर्फको निर्यातमा वृद्धि हुन गएको हो भने अन्य मुलुकतर्फ विशेषगरी ऊनी गलैंचा, पस्मिना, तयारी पोसाक, छाला र नेपाली कागज र सोका सामानको निर्यातमा वृद्धि भएको छ । समीक्षा अवधिमा कुल वस्तु आयात १६.८ प्रतिशतले बढेर रु. ४१९ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६.० प्रतिशतले वृद्धि भई रु. ३५९ अर्ब ३३ करोड पुगेको थियो । मासिक रूपमा हेर्दा जेठ महिनामा कुल वस्तु आयात वैशाख महिनाको तुलनामा १५.३ प्रतिशतले घटेको छ । कुल वस्तु आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको एघार महिनासम्ममा २२.८ प्रतिशतले वृद्धि भएकोमा समीक्षा अवधिमा १३.६ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिसम्ममा १६.८ प्रतिशतले घटेकामा समीक्षा अवधिमा २३.१ प्रतिशतले वृद्धि भएको छ ।
शोधनान्तर स्थिति
गत आवको ११ महिनामा समग्र शोधनान्तर स्थिति हालसम्मकै उच्च ११३ अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड ५६ लाख रुपियाँले शोधनान्तर घाटामा रहेको थियो । आव ०६८/६९ को एघार महिनासम्ममा चालु खाता ६१ अर्ब ५६ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १४ अर्ब ६९ करोड रुपियाँले घाटामा रहेको थियो । खासगरी विप्रेषण आयमा भएको उल्लेख्य वृद्धि एवं सेवा खातामा भएको उल्लेख्य सुधारका कारण चालु खातामा उत्साहजनक बचत भएको हो । अमेरिकी डलरमा समीक्षा अवधिमा शोधनान्तर बचत एक अर्ब ४१ करोड आठ लाख डलर पुगेको छ भने चालु खाता बचत ७४ करोड ७९ लाख डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर घाटा एक लाख डलर तथा चालु खाता घाटा २० करोड १३ लाख डलर रहेको थियो ।

प्रतिक्रिया