‘हाइवे सर्वाधिक चर्चित अनि आलोचित चलचित्र हो’

प्राय: सधौ समाचार अनि अक्षरहरूसाग खेलिरहने पत्रकार रवीन्द्र मिश्रले पछिल्लोचोटि चलचित्र अभिनयको स्वाद पनि चाखे, हाइवेमार्फत् । बिबिसीमा कार्यरत मिश्र अभिनित हाइवे यतिखेर देशभर प्रदर्शन भइरहेछ । हेर्नेहरूले चलचित्रबारे मिश्रित प्रतिक्रिया दिइरहेका छन् । उच्च अपेक्षा लिएर गएका दर्शकहरू निरास देखिएका छन् । पत्रकार मिश्र भने आफ्नो अभिनयमोह र हाइवेबारे यसो भन्छन् : 

स्कुल पढ्दैदेखि अभिनय गर्थें । अभिनयको मोह पछिसम्म पनि कायमै रह्यो । राम्रो चलचित्र पाए खेल्ने सोचमा थिएँ । साथी केदार शर्मा (कवि, पत्रकार तथा चलचित्र निर्माता) सँग एकपल्ट रामेछाप भ्रमणमा जाने मौका मिल्यो । सोही सिलसिलामा कुरा चल्दा उनलाई चलचित्रमा अभिनय गर्ने आफ्नो इच्छा सुनाएको थिएँ । त्यहाँबाट फर्केको एक हप्तापछि केदारजीले भन्नुभयो, ‘तपाईंले चलचित्रमा अभिनय गर्ने अति नै रुचि देखाउनुभएको थियो, हामी निर्माण गर्दै छौँ, साँच्चै खेल्ने हो त ?’ त्यसपछि उहाँ, चलचित्रका निर्देशक दीपक रौनियार, कास्टिङ निर्देशक आशा मगराती र म बसेर कथा, विषयवस्तुबारे छलफल गर्‍यौँ । मलाई सब कुरा चित्त बुझ्यो । कथा प्लट भने अलि धेरै थिए । मैले गर्ने भूमिका रोचक र जटिल थियो, मलाई मन पर्‍यो ।
चलचित्रमा पहिलोचोटि अभिनय गरे पनि मलाई कुनै अप्ठ्यारो महसुस भएन । पहिलो सट नै ओके भए पनि निर्देशकले सेफ्टी भन्दै दुई/तीन टेक त लिँदा रहेछन् नै । मेरा लागि रेडियोमा बोलेजतिको सजिलो त थिएन अभिनय तर त्यस्तो कुनै कठिनाइ पनि लागेन । हाइवेमा अभिनय गर्नु मेरो रहर र चाहना दुवै थियो । तर, महत्त्वाकांक्षा बोकेर अभिनय गरेको चलचित्र यस्तो परेछ कि चर्चा त यसको निकै भयो नै, आलोचना पनि यसको जति अरू चलचित्र कुनैको भएको छैन होला नेपालमा ।

मेरो अभिनयबारे मिश्रित प्रतिक्रिया आइरहेका छन् । यसमा मेरो जुन प्रकृतिको भूमिका थियो, सम्पादनको क्रममा धेरै सिन काटिएका छन् । सम्पादनका क्रममा यस्तो हुनु स्वाभाविकै हो । तर पनि मेरो जस्तो भूमिकामा चरित्रको विकास भावनात्मक प्रवाह र तनाबको विकासक्रमका झलकहरू काटिँदा र तनाबका चरमोत्कर्ष मात्र झ्वाट्ट–झ्वाट्ट देखिँदा कतिपय दर्शकलाई चित्त बुझेनछ । दर्शकका दृष्टिबाट यो पनि स्वाभाविकै हो । कतिपय ठाउँमा दोहोरो संवादलाई काटेर एकल संवादका रूपमा प्रस्तुत गरिएछ । एकल संवाद र दोहोरो संवादका तरिका निश्चय पनि फरक हुन्छन् । यिनै कारणले पछि हेर्दा मलाई पनि आफ्नो भूमिका कताकता नमिलेजस्तो अप्ठ्यारो महसुस भयो । तर, निर्देशकले गर्न खोजेको यो प्रयोगलाई मैले अत्यन्तै सकारात्मकै रूपमा लिएको छु ।
मन पराउनेले त पराएकै छन्, नपराउनेले चाहिँ पैसा नै फिर्ता माग्नेसमेत स्थिति देखियो । प्रयोगवादी चलचित्रमा कहिलकाहीँ यस्तो हुन्छ नै । मलाई चाहिँ यस्तो चलचित्रमा अभिनय गर्न पाउदा निकै खुसी लागेको छ । निर्देशकलाई सम्मान गर्छ, प्रशंसा गर्छु र भन्छु, यो नेपालको इतिहासमै एकदमै नौलो चलचित्र हो । हाइवे पुरानो ढर्राको चलचित्र होइन । वैकल्पिक धारको नितान्त प्रयोगात्मक अनि समसामयिक विषयसँग जोडियको चलचित्र हो । निर्देशकले देखाएको आँट यसको सबैभन्दा सकारात्मक पक्ष हो । किनकि नेपालको परिप्रेक्ष्यमा यो सिनेमा बनाउनु अत्यन्त चुनौतीपूर्ण थियो, पूर्ण रूपमा नयाँ ढंगबाट सोचिएको छ । निर्देशकको सिर्जनात्मक सोचको प्रशंसा गर्नैपर्छ । हरेक पक्षमा प्रतीकात्मकतालाई प्रयोग गरिएको छ, जुन बुझ्न अलि गाह्रोचाहिँ छ । त्यसो भन्दैमा चलचित्रमा नकारात्मक पक्ष छँदै छैनन् भन्ने पनि होइन ।
हुन त म चलचित्रको ज्ञाता होइन, सबैखाले कलामा रुचि भएको व्यक्ति मात्र हुँ । त्यसैले मेरो मूल्यांकन गलत पनि हुन सक्ला । तैपनि ९० मिनेटको चलचित्रमा यति धेरै कथा बन्नु हुन्नथ्यो कि जस्तो लाग्छ । यति छोटो अवधिमा एउटा कथालाइ पूर्ण र प्रभावकारी रूपमा विकास गरेर टुंग्याउन गाह्रै हुन्छ । हाइवेमा त झन् कति कथाका कति धेरै पाटा छन्छन् † यदि ती सबै पाटालाई समावेश गर्ने हो भने यसको अवधि कम्तीमा दुई घन्टाको हुनुपथ्र्यो । यसको सम्पादन पक्ष मलाई कमजोर लागेको छ तर यो मेरो बुझाइ आफैंमा कमजोर पनि हुन सक्छ ।
१९४० को द बाइसाइकल थिफ, १९९० को दशकमा बनेको टाइटानिक र नेपालीमा बनेका कागबेनी र लुट मलाई मन परेका चलचित्र हुन् । चलचित्रमा अभिनय गर्ने रहर अझै हटेको छैन, फेरि पनि गर्छु होला । अफर आएका पनि छन् तर चित्त बुझ्दो नभएर गरिनँ । मलाई पात्रको भूमिका गहिरो र अर्थपूर्ण भएको मन पर्छ ।
नेपाली चलचित्र उद्योग प्रारम्भिक अवस्थामै छ । यहाँ हाइवे, लुट, कागबेनी, नुमाफुङ, मुकुन्डोजस्ता चलचित्र बनाउने निर्देशक थुप्रै जन्मिए मात्र चलचित्रक्षेत्रको उन्नति हुन्छ । निर्देशकमा साहित्य, कला, संगीत, समाज, मानव मनोविज्ञान र प्रविधि सबैको ज्ञान हुनु जरुरी छ । त्यसैले चलचित्रलाई म डाइनामिक आर्ट भन्न रुचाउँछु ।
अन्त्यमा, फेरि हाइवेको कुरा गर्नुपर्दा नेपाली चलचित्रको ५० बर्से इतिहासमा अहिलेसम्मकै धेरै आलोचित र चर्चित यो चलचित्र उत्कृष्ट अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा पुग्न सफल भयो, जुन पहिले कहिल्यै भएको थिएन । यसले चलचित्रक्षेत्रमा गजबको तरंग पैदा गरेको छ । यो नेपाली चलचित्र क्षेत्रका लागि अत्यन्त सकारात्मक कुरा हो ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया