काठमाडौं, १० साउन । लन्डन ओलम्पिक–०१२ मा सहभागी हुन नेपालका प्रथम ओलम्पियनमध्येका एक भूपेन्द्र सिलवाललाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले मंगलबार बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समीक्षालयमा आयोजित एक कार्यक्रमबीच राखेप सदस्यसचिव युवराज लामा, खेलाडी संघका अध्यक्ष दीपक विष्ट, महासचिव दीपक श्रेष्ठलगायतका पदाधिकारीले सिलवाललाई खेलाडी संघको लोगो अंकित खादा ओढाएर बिदाइ गरे । उक्त अवसरमा सदस्यसचिव लामाले संघको तर्फबाट सिलवाललाई ट्रयाकसुट र जुत्ता पनि हस्तान्तरण गरे ।
ओलम्पियन सिलवालले राष्ट्रका लागि रगत र पसिना बगाउने खेलाडीले दु:ख नपाउन् भन्नका खातिर सम्बन्धित निकायले ध्यान पुर्याउन आवश्यक रहेको बताए । खेलाडी संघका अध्यक्ष विष्टले जिन्दगी नै खेलकुदमा समर्पित गर्ने खेलाडीलाई सम्मान गर्ने परम्पराको सुरुआत हुनपर्ने धारणा व्यक्त गरे ।
खेलाडी संघका महासचिव श्रेष्ठले ओलम्पिकमा आफ्ना परिवारका मान्छेलाई लाने प्रथाको अन्त्य गरी अग्रज खेलाडीलाई लगेर उहाँलाई सम्मान गर्नुपर्ने विचार व्यक्त गरे ।
सन् १९६४ मा जापानको टोकियोमा भएको ओलम्पिकमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो । त्यसबेला सिलवाल पनि खेलाडी टोलीमध्येका एक सदस्य थिए ।
सिलवाल बुधबार लन्डन प्रस्थान गर्दैछन् । उनी एनआरएन युकेको सहयोगमा लन्डन ओलम्पिकमा सहभागी हुन लागेका हुन् ।
प्रतिक्रिया