उडुस र उपियाँले सतायो कैदीबन्दीलाई

धनकुटा, १० साउन । क्षमताभन्दा बढी कैदीबन्दी रहेको जिल्ला कारागार धनकुटाका कैदीबन्दीले उडुस र उपियाँका कारण सुत्न नपाएको बताएका छन् । उडुस र उपियाँले सताएपछि रातभर जाग्राम बस्नुपरेको र कारागार व्यवस्थापन पक्षले उडुस र उपियाँ मार्ने विषादीसमेत नदिएको आरोप लगाएका छन् ।

जिल्ला अदालतको पुरानो भवनमा रहेको कारागार भवन जीर्ण बनेको छ । कारागारभित्र चिसो र ओसिलो भएपछि उडुस, उपियाँ र लामखुट्टे बढी मात्रामा लाग्ने गरेको कारागारका चौकीदार दीपक तामाङले बताए ।
२५ जना क्षमता रहेको ‘घ’ श्रेणीको कारागारमा ४० पुरुष, तीन महिला र १ आश्रित बालकसहित ४४ कैदी तथा थुनुवा छन् । सरकारले दैनिकरूपमा दिँदै आएको सिदा र सुविधाबापतको खर्च समयमा कारागार व्यवस्थापन विभागले निकासा नदिँदा केही समयअघि कैदीबन्दी भोकै पनि बसेका थिए । ‘कारागारभित्र पिउने पानीको पनि अभाव छ,’ चौकीदार तामाङले भने, ‘पानीको अभावमा कैदीबन्दी चिउरा खाएर रात गुजारिरहेका छन् ।’
कारागारका जेलर नरेन्द्र आचार्य भर्खरै सरुवा भएर गएको र दरबन्दीअनुसार कर्मचारी नआएकाले कारागारको प्रशासनिक कार्यमा समेत समस्या आएको सहलेखापाल रञ्जित शाहले स्वीकार गरे । उनले कारागारभित्र पिउने पानीको अभाव रहेकाले कैदीबन्दीका लागि बाहिरबाट पानी किनेर ट्यांकरमा बोकाएर ल्याई उपलब्ध गराइएको बताए ।
क्षमताभन्दा बढी कैदीबन्दी भएपछि सुत्ने कोठाको अभाव हुँदा पालोपालो गरी सुत्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले बताए । उनीहरूले पत्रपत्रिका, पाठयपुस्तक, टेलिभिजन पनि अभाव रहेको बताए । कारागार व्यवस्थापनले किनेको टेलिभिजन पुरानो भएर बिग्रिएपछि कैदीबन्दीले पैसा संकलन गरेर टेलिभिजन किनेर हेर्ने गरिएको नाइके निरज राईले बताए ।

प्रतिक्रिया