तीन दिनदेखि पाँचथर बन्द

पाँचथर, १० साउन । नेकपा–माओवादीले तीन दिनदेखि गरेको बन्दका कारण पाँचथरको जनजीवन कष्टकर बन्दै गएको छ । बन्दका कारण मेचीराजमार्गमा चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् भने बजार, पसल, कलकारखाना पनि ठप्प छन् ।

बन्दका कारण ताप्लेजुङबाट झापा र फिदिमबाट विभिन्न ठाउँका लागि छुटेका लामो तथा छोटा दूरीका सवारीसाधन ७ साउनबाट मेची राजमार्गका विभिन्न सडक खण्डमा रोकिएका छन् । बन्दका कारण यात्रुबीच बाटौमै अलपत्र परेका छन् । बिर्तामोडबाट घर फर्किने क्रममा पाँचथर, इलामको सिमाना राँके बजारमा तीन दिनदेखि यात्रु रोकिएर बसेका छन् । यातायात नचल्दा दैनिक उपभोग्य वस्तु अभाव हुन थालेपछि जनजीवन थप कष्टप्रद बन्दै गएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष शुभराज थापाले बताए ।
माओवादीले आफ्ना कार्यकर्ता याङनाम–६, का २५ वर्षीय गजेन्द्र जबेगूलाई कांग्रेस कार्यकर्ताले हत्या गरेको विरोधमा अनिश्चितकालीन बन्द गरेको हो । दोषीलाई कारबाही, मृतकलाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्तिको माग गर्दै बन्द गरिएको हो । बन्द खुलाउने विषयमा जिल्ला प्रसाशन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा माओवादीले माग सम्बोधन नभएसम्म पछि नहट्ने बताएपछि बन्द लम्बिएको हो ।
मृतक जबेगूलाई २ साउनमा राँके बजारबाट घर फर्कने क्रममा बाटोमा आक्रमण गरी सख्त घाइते बनाएका थिए । घाइते जबेगूको विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा उपचारका क्रममा ६ साउनमा निधन भएको हो । मृतकका परिवारले हत्यामा संलग्न भएको आरोपमा आइतबार स्थानीय १३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितमध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया