काठमाडौं, ९ साउन । निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनको मुख्य सुरुङ साँघुरिँदै जानुमा ‘टेल्कोनाइज’ समस्या देखिएको विशेषज्ञ टोलीले प्रारम्भिक प्रतिवेदन दिएको छ ।
निर्माण सम्पन्न भएको सुरुङको ५५० मिटर क्षेत्र साघुरिँदै गएपछि एक साताअघि आयोजनामा विशेषज्ञ टोली पठाइएको थियो । मुख्य सुरुङमा रक प्रेसरले स्विजिङ समस्या देखिएपछि टोलीले समस्या गम्भीर रहेको बताएको आयोजना प्रमुख गोपालबाबु भट्टराईले जानकारी दिए । ‘विशेषज्ञ टोलीले आयोजनामा गम्भीर र विशेष समस्या देखिएको बताएको छ,’ उनले भने, ‘सुरुङ साँघुरो बन्दै जान थालेपछि अब पुन: डिजाइन गरेर निर्माण अगाडी बढाउनुपर्छ ।’ उनका अनुसार, यही समस्याको कारणले आयोजनाको निर्माण ढिलाइ हुने भएको हो ।
विशेषज्ञ डा. मनोज वर्मनको नेतृत्वमा पुगेको टोलीले सुरुङमा पुगेर समस्या पहिचान गरेको थियो । टोलीमा नेपाली विज्ञसमेत सहभागी थिए । प्राधिकरणका अनुसार, करिब सुरुङको साँघुरिने क्रम १.६ मिटरसम्म पुगेको छ । प्राधिकरणलाई प्रारम्भिक प्रतिवेदन मात्र दिएको विशेषज्ञ टोलीले एक साताभित्र विस्तृत प्रतिवेदन दिने प्राधिकरण उत्पादन तथा निर्माण विभागका महाप्रबन्धक रामचन्द्र पाण्डेले जानकारी दिए । ‘हिमालय क्षेत्रमा यस्तो टेल्कोनाइज समस्या देखिने रहेछ,’ उनले भने ।
प्राधिकरणका अनुसार विशेषज्ञ टोलीले विस्तृत प्रतिवेदन दिएर त्यसको पुन:डिजाइनका साथै समाधानका उपाय दिएपछि त्यसको आधारमा डिजाइन गरिने छ । प्राधिकरण सञ्चालक समितिबाट पुन:डिजाइनलगायत गर्ने पारित भएपछि त्यसको एक महिनापछिदेखि काम सुरु गरिने प्राधिकरणले जनाएको छ । समस्याका कारण आयोजना निर्माणमा करिब चार महिना ढिलाइ हुने महाप्रबन्धक पाण्डेले बताए । निर्माण सम्पन्न भएको सुरुङको ढलान गरी फिनिसिङ गर्ने क्रममा खुम्चिएको पत्ता लागेको थियो ।
सुरुङ निर्माणपछि फिनिसिङ गर्ने क्रममा सुरुङ खुम्चदै गएपछि प्राधिकरणको हालैको सञ्चालक बैठकले १६ हजार चार सय ६ युरो अर्थात् नेपाली रुपियाँ एक लाख १२ हजार तीन सय ५० दिने निर्णय गरेको थियो ।
सन् २००७ देखि निर्माण सुरु गरिएको सात किलोमिटर लामो सुरुङको गत वैशाख अन्तिम साता ब्रेक थ्रु भएको थियो । गत फेब्रुअरीमा सध्याउने लक्ष्य राखिएको सो सुरुङ कमजोर भौगोलिक अवस्था, कडा चट्टानको कारणले माथिबाट खस्ने, दायाँबायाँ भासिने लगायतका कारणले निर्माणमा ढिलाइ भएको थियो ।
दक्षिण कोरियाको सहयोगमा निर्माणाधीन उक्त आयोजना ३० मेघावाट क्षमताको छ । दार्चुलाको शिखर गाविस–४ मा बन्न लागेको चमेलिया जलविद्युत् आयोजना राजधानी काठमाडौंबाट ९५० किलोमिटर टाढा छ । सन् २००७ मा सुरु भएको आयोजना सन् २०१३ अगष्टमा सिध्याउने लक्ष्य छ । सुरुङमा साँघुरिने समस्या तथा विगतमा सुदूर पश्चिम लगायतका समस्याको कारण तोकिएको समयमा आयोजना निर्माण सम्पन्न हुने र करिब चार महिना ढिलाइ हुने देखिएको छ ।
विश्व बैंकको प्रतिवेदन गलत
काठमाडौं : सरकारद्वारा गठित कार्यदलले विश्व बैंकद्वारा तयार पारिएको ‘गंगा स्ट्राटेजिक बेसिन एसिसमेन्ट स्टडी’ प्रतिवेदन गलत भएको निष्कर्ष निकालेको छ ।
गंगा बेसिनअन्तर्गत २३ वटा उच्च बाँध निर्माण गर्ने गरी सार्वजनिक गरिएका प्रतिवेदन नेपालको हितविपरीत रहेको निष्कर्ष सिँचाइ सचिव बिन्दा हाडाको संयोजकत्वमा बनेको कार्यदलले निकालेको हो । दुई महिनाअघि बैंकले सार्वजनिक गरेको प्रतिवेदन गलत भएको भन्दै जल तथा ऊर्जा आयोगले अर्थ मन्त्रालयलाई पत्र पठाएपछि अर्थको अनुरोधमा राष्ट्रिय योजना आयोगले कार्यदल गठन गरेको थियो ।
कार्यदलले प्रतिवेदन नेपालको हितअनुकूल नरहेकाले त्यसको खण्डन तथा प्रचारप्रसार नगर्न भन्दै प्रतिवेदन आयोगलाई बुझाइएको कार्यदलका सदस्यसचिव शिशिर कोइरालाले जानकारी दिए । गंगा बेसिनअन्तर्गत नेपाल र भारतका गरी करिब १० हजार स्क्वायर मिटर क्षेत्र भए पनि नेपालको एक हजार स्क्वायर मिटरभित्रको क्षेत्र मात्र अध्ययन गरी बैंकले नेपाललाई गंगा बेसिनबाट सिञ्चाई र बाढी नियन्त्रणका लागि फाइदा नहुने तथा विद्युत्मा मात्र फाइदा हुने भन्दै प्रतिवेदन सार्वजनिक गरेको थियो । बाँधहरूबाट सिँचाइ र बाढी नियन्त्रणका लागि फाइदा हुने भन्दै नेपालले नेगोसियसन गरिरहेका बेला बंैकले उक्त प्रतिवेदन दिएपछि बनेको कार्यदलले यसबाट सिँचाइ र बाढी नियन्त्रणमा दुवैमा फाइदा हुने निष्कर्षसमेत निकालेको छ । कार्यदलले प्रतिवेदनमा प्राविधिक रूपमा समेत नेपालको हित नभएको भनेर भ्रम फैल्याउन खोजिएको उल्लेख छ ।
विश्व बंैकले सिँचाइ तथा जलविद्युत्सँग जोडिएका नेपाल, भारत र बंगलादेसका सरकारी निकायमा उक्त प्रतिवेदन प्रचारप्रसारका लागि दिएको थियो । प्रतिवेदन पाएपछि त्यसबारे छानविनका लागि आयोगले कार्यदल बनाएको हो ।
जलस्रोत विज्ञले बैंकले नीति निर्माता र राजनीति नेतालाई देखाउने लालीपपको रूपमा प्रतिवेदन ल्याएको टिप्पणी गरेका छन् । बैंकको प्रतिवेदनमा उच्च बाँधमार्फत एक खर्ब ४५ अर्ब क्युबिक मिटरसम्म पानीको भण्डारण गर्न सकिने र त्यसबाट २५ हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने उल्लेख छ ।
प्रतिक्रिया