ओसामा बिन लादेनले सेप्टेम्बर ११ मा आतंकवादी आक्रमण गरेपछि अमेरिकीहरू सन् २००१ यता सेप्टेम्बर महिनालाई अलच्छिना मान्छन् भन्ने होइन रहेछ । सन् २०११ को सेप्टेम्बर १७ पछि न्युयोर्कको जुकोट्टीपार्कमा ९९ प्रतिशत अमेरिकीको आवाज बुलन्द गर्दै केही हजार प्रदर्शनकारीले ‘बालस्ट्रिट कब्जा’ आन्दोलन सुरु गरेर यसको पुष्टि गरे । अब लादेनको भूत केवल धन्न सेठहरूको ‘टी पार्टी’ सँग मात्र बच्न पुगेको छ । विश्वमा यस्ता आन्दोलन थुपै्र हुन्छन् तर ती सबैको यति धेरै चर्चा परिचर्चा हुँदैन जति बालस्ट्रिट कब्जा आन्दोलनको भएको छ । जब कि यो आन्दोलनमा एकजनाको पनि मृत्यु भएको छैन । एक हजारलाई पनि गिरफ्तार गरिएको छैन । एउटा मात्रै कार जलेको सुनिएको छ । योभन्दा त विश्वका धनी राष्ट्रका नेता ‘जी सेभेन’को बैठकका बेला निकै नै हिंसक प्रदर्शन हुने गरेकै हुन् ।
वालस्ट्रिट भन्ने न्युयोर्कको त्यो ठाउँ हो, जहाँ पुँजीवादी बहुराष्ट्रिय कम्पनीका सेयरको किनबेच हुन्छ । यो ठाउँ पुँजीवादी सट्टेबाजहरूको अखडा हो भने वर्तमान साम्राज्यवादको प्रतीक पनि । यही प्रतीक भएकै कारण आन्दोलनकारीले पनि प्रतीकात्मकरूपमै पुँजीवादको घाँटी आठयाउने नारा अघिसारे ताकि यसले विश्वका पुँजीवादविरोधीहरू एकजुट हुन सकून् । यद्यपि, बालस्ट्रिट कब्जा आन्दोलन वास्तविकरूपमा कब्जा गर्ने कार्यनीतिक उद्देश्यको नभएर यो केवल विरोध प्रदर्शन र सत्याग्रह आन्दोलन मात्र थियो । साँच्चै बालस्ट्रिट कब्जा गर्ने आन्दोलन सुरु भएको थियो भने त अहिलेसम्म विश्वमै घनघोर युद्ध नै सुरु भइसकेको पनि हुने थियो । किनभने, पुँजीवादीहरू आफ्नो व्यापार—व्यवसायका लागि जस्तोसुकै युद्ध लडेर भए पनि जतिसुकै मान्छे मार्नुपरे पनि पछि हट्दैनन् भन्ने कुरा त प्रथम र द्वितीय विश्वयुद्धमा करोडौँको ज्यान लिएबाटै प्रस्टै भएको छ । पुँजीवादका प्रखर विरोधी एवं त्यसको विकल्पमा मानवलाई नयाँवाद प्रस्तुत गर्ने माक्र्स र लेनिनले पुँजीवादको प्रकृतिको व्याख्या गर्दै भनेका थिए— यो आफ्नै कारणले हरेक दश वर्षमा या निश्चित अवधिमा यस्तो संकटमा फस्छ कि जनतालाई युद्ध र विपत्तिसिवाय यसले केही दिन सक्तैन अनि आफ्नै गर्भबाट आफ्नै विनाश गर्ने तत्त्व समाजवादको जन्म दिन्छ । माक्र्स र लेनिनले भनेजस्तै रेगन र थ्याचरको शासन कालसँगै आइएम एफ र विश्व बैंकको माध्यमबाट राजनीतिमा एक ध्रुवीय र अर्थनीतिमा विश्वव्यापीकरणको स्थितिमा आजको पुँजीवाद प्रवेश गरेको छ । त्यही प्रवेशसँगै यो कसै गरे पनि उम्कन र पार पाउन नसक्ने संकटमा पनि फस्दै गएको छ । त्यो संकट सर्वप्रथम परिवर्तनको सँघारमा पुगेको अफगानिस्तानमा तत्कालीन सोभियत सामाजिक सम्राज्यवादले कि अमेरिकी साम्राज्यवादले प्रभाव जमाउने भन्ने कुरामा प्रकट भयो । सोभियत संघको पतनसँगै अफगानिस्तानमा उसको हार त भयो तर अमेरिकाले सोभियत प्रभाव घटाउन खडा गरेको तालिबान र अलकायदारूपी भस्मासुरले अमेरिकाकै टाउकामा हात राख्न थालेपछि साम्राज्यवादको नाइके अमेरिका झन् विरोधाभासमा फस्दै गयो । अलकायदाको आतंकवादी हमलाबाट ट्विन टावर ढलेपछि अमेरिकी सेठहरूको लोकतान्त्रिक मखुन्डो पूरै फालियो र अफगानिस्तान र इराकमा साम्राज्यवादी हमला गरियो । युगोस्लाभियालाई टुक्राटुक्रा पारियो । पुँजीवादी प्रकृतिअनुसार नै हमलापछि ऊ आर्थिक संकटमा पर्दै गयो तर सेठहरूका रुढीवादी, युद्धवादी खेमाले राष्ट्र संकटमा परे परोस् तर युद्धबाट आफूहरूलाई भइरहेको पदीय, आर्थिक र शक्तिकेन्द्र हत्याउन पाएको फाइदा नटुटोस् भन्ने खतरनाक दृष्टिकोण राख्न थालेपछि अमेरिकामा अन्तरविरोध चर्कियो । परिणामस्वरूप उनीहरूले डुब्न लागेकालाई त्यान्द्रोको सहारा भनेझैँ बराक ओबामालाई समाधानका रूपमा अघि सारे । बिचरा † बाराक ओबामा साम्राज्यवादी देशको नेता भएर साम्राज्यवादको अहित हुने र जनताको हित हुने काम कसरी गर्न सक्थे, देउता भए पनि गर्न नसक्ने काम । किनभने, जनता नमारी साम्राज्यवादको हित हँुदैन, साम्राज्यवादको अन्त्य नभई जनताका लागि जीविका त के, राहत पनि हँुदैन । यो स्थितिमा ओबामा एक्लै देवता नै भए पनि जनताको पक्षमा केही गर्न सक्तैनथे र गरेनन् पनि । यसमा उनको व्यक्तिगत नियतको यहाँ चर्चा गर्नु पनि बेकार छ ।
अमेरिका सन् २००६/७ तिर चरम संकटको अवस्थातर्फ बढिरहेको थियो भने युरोपमा यो संकट २००९/१० देखि सुरु भयो । युरोपका आयरल्यान्ड, स्पेन, पोर्चुगल, ग्रिस, इटली पनि संकटको मुखमा पर्दै गए । लाखौँ, करोडौँ जनता संकटको मारमा पर्न थाले । मानिसहरूले बुझे कि तिनको भोटबाट कुर्सीमा पुगेका सरकारका मानिसले बैंकलाई चाहिँ बचाए तर जनतालाई चाहिँ बेचे । अमेरिकाको मात्रै कुरा गर्ने हो भने पनि त्यहाँका २५ करोड जनतामध्ये केवल चार सयजनाको हातमा ६० प्रतिशत सम्पत्ति थुप्रिएको छ जबकि बाँकी सबैको भागमा केवल ४० प्रतिशत छ, त्यो पनि कहाँ समानुपातिक छ र ? यो सब स्थितिको जिम्मेवार साम्राज्यवाद नै हो । अर्थात् रुढीवादी अर्बपतिहरू, तिनका चाकरीमा लागेर पालिएका नेताहरू र अर्बौं–अर्ब सम्पत्तिका भोकाहरू यसका जिम्मेवार छन् । १४ करोड अमेरिकी बेरोजगार बनेका छन् । यो स्थितिमा स्वाभाविकरूपमा एक प्रतिशतविरुद्ध ९९ प्रतिशत जनता आन्दोलित हुने नै भए । फेरि विश्वपुँजीवादको नाइके अमेरिका भएकाले अमेरिकी नीति र अर्थतन्त्रको प्रभाव विश्वव्यापीरूपमा पर्नु स्वाभाविकै हो । यसैले अमेरिकी गतिविधिबाट विश्वभरिकै मानिस पीडित बन्न पुगेपछि विश्वभरिका मानिसको मनमा एउटै भावना समानरूपमा जाग्यो– ९९ प्रतिशतविरुद्ध एक प्रतिशत एकजुट हुनै पर्छ । यही भावनाकै आधारमा पोहोर १७ सेप्टेम्बरका दिनदेखि अमेरिकाको सट्टाबजारको प्रमुख अखडा बालस्ट्रिटअगाडि गएर एउटा सानो समूहले सडकमै सुतेर सत्याग्रह स्वरूपको आन्दोलन सुरु गर्यो र आन्दोलनको नाम दियो– बालस्ट्रिट कब्जा । बस, त्यो आन्दोलनले डढेलोको रूप लियो । त्यही स्वरूपमा विश्वका ८० भन्दा बढी देशका नौ सय ५० भन्दा बढी सहरमा एक महिना नपुग्दै आन्दोलन भए । मानिसहरू खासगरी विश्व बैंकले अघि सारेको अस्टेरिटी मिजर्स अर्थात् सार्वजनिक सुविधा कटौती योजनाको विरोधमा आक्रोशित थिए ।
न्युयोर्कको एउटा गल्लीबाट सुरु भएको यो आन्दोलनले आखिर यत्रो तहल्का किन मच्चायो ? जब कि अस्टेरिटी मिजर्सका विरुद्ध ग्रिसवासीले चलाएको आन्दोलनको समर्थन गर्नुको बदला बालस्ट्रिट कब्जा नामको यो सत्याग्रहको यत्रो विधि चर्चा गरिएको होला जब कि ग्रिसका जनताले चलाएको आन्दोलन योभन्दा धेरै आक्रामकसमेत हो । त्यस्तै, स्पेनमा पनि बालस्ट्रिट कब्जाभन्दा कडा आन्दोलन विश्व बैंकको नीतिविरुद्ध चालिएको थियो जसलाई एटा नामको उग्रवादी संगठनको हौवा पिटाएर बन्द गराइयो । यी प्रश्नको खोजी गर्दै जाँदा बालस्ट्रिट कब्जा आन्दोलनको सफलताको रहस्यसमेत खुल्दै जान्छ । यो आन्दोलनको स्वरूपलाई अमेरिकाका पूर्वउपराष्ट्रपति अल गोरले लोकतन्त्रवादीहरूको रुवाइ भनेर बडो सटिक परिभाषा दिएका हुन् भन्ने मलाई लाग्दछ । यो आन्दोलन पुँजीवादी हेडक्वार्टरमा सुरु भयो, त्यसकारण भावनात्मक रूपले यसमा सबैको आँखा पर्यो । मानिस सोच्छन्, मानिसलाई दु:ख दिने हेडक्वार्टरलाई नै ध्वस्त पार्न पाए सधैँको यो टन्टा नै खत्तम । दोस्रो, यसको नारामा जुन कब्जा शब्द थियो, त्यो जनताको इच्छाअनुरूपको थियो । भलै कब्जा गर्न नसकियोस्, सपना देखेर रुन त पाइन्छ नि † तेस्रो ठूलो कारण भनेको संयुक्त राजनीतिक चासो मिल्नु हो । हामी नेपालीलाई समेत अनुभवसिद्ध ज्ञान के छ भने कुनै पनि आन्दोलनको सफलता र असफलता त्यसको संयुक्त स्वरूपमा भर पर्दछ । भारतमा भ्रष्टाचारविरोधी अन्ना हजारेको लोकपाल विधेयक आन्दोलनले किन यत्रो नाम कमायो ? किनभने, त्यो आन्दोलनमा सबै कार्यमूलक, दबाबमूलक र सचेतनामूलक गैरसरकारी संस्था र विपक्षी राजनीतिक पार्टीसमेत एक भएका थिए ।
आन्दोलनमा युरोप र अमेरिकाका सबै प्रकारका गैरसरकारी संस्था, सोसलिस्ट आन्दोलनका मानिस, सोसल डेमोक्रेट तथा डेमोक्रेटहरूको पनि साथ रह्यो । आन्दोलनले सही नेतृत्व पाएन भने प्रगतिको सट्टा देश खुमेनीको इरान पनि बन्दछ । अहिलेको लिबियाजस्तो उपनिवेश पनि बन्न सक्तछ । अथवा, नेपालजस्तो अन्योल र असुरक्षाको भुमरीमा फस्न पनि सक्छ । आन्दोलनलाई सही दिशा दिन सही पार्टीले नेतृत्व दिएको हुनुपर्दछ । यो कब्जा आन्दोलनमा कुनै खास नेतृत्व थिएन । यसैले यसको फाइदा माथि उल्लेखित साथ दिनेमध्ये कसै न कसैले उठाइरहेका छन् । फाइदा उठाउनेहरूले अफ्रिका र पश्चिम एसियाको कलर रिभोल्युसन या वसन्त विद्रोहबाट पनि फाइदै लिए । वर्षौंदेखि पश्चिमाहरूका आँखाका कसिँगर बनेका गद्दाफीलाई मार्न यही आन्दोलनको प्रयोग गरियो भने कब्जा आन्दोलनलाई पनि अब अमेरिकी चुनाव जित्ने माध्यमका रूपमा प्रयोग गरिँदै छ भन्ने धेरैले अनुमान लगाइसकेकै छन् ।
प्रतिक्रिया