घरेलु टिमलाई हराउँदै कैलाली सेमिफाइनलमा

चन्द्रनिगाहपुर, ८ साउन । १४औँ एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आइतबार भएको पहिलो क्वार्टरफाइनलमा नीरा सुनुवारको दुई गोलको मद्दतले कैलालीले रौतहटलाई २–१ ले पराजित गर्‍यो ।
खेलको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको कैलाली घरेलु टोली रौतहटविरुद्ध प्राय: समय हाबी भएको थियो । नीराले सातौँ मिनेटमा आफ्नो टोलीलाई अग्रता दिलाएकी थिइन् । ६२औँ मिनेटमा नीराले गोल गरी टोलीको अग्रता दोब्बर बनाइन् । यसपछि कैलाली जिततर्फ अग्रसर भएको थियो । ८३औँ मिनेटमा मेनुका थापाले रौतहटका लागि गोल गरी घरेलु टोलीको आशा कायम राखे पनि त्यसपछि खेलमा थप गोल भएन ।
कैलालीकी कप्तान नीरा बोहराले जितपछि रौतहटभन्दा आफ्नो टोलीले राम्रो प्रदर्शन गरेको बताइन् । ‘रौतहटभन्दा राम्रो प्रदर्शन गरेकाले नै जित सुनिश्चित भएको हो,’ उनको भनाइ थियो । घरेलु टोलीलाई हराउँदा आत्मविश्वास बढेको गोलकर्ता नीराले अनुभव सुनाइन् । उनले बुधबार हुने सेमिफाइनलमा पनि कैलालीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरिन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी नीराले मोफसलमा बसेर पनि यस स्थानमा पुग्न सकेकोमा खुसी व्यक्त गरिन् ।
खेलाडी सुनुवारका अनुसार मोफसलमा बस्ने खेलाडीलाई राज्यले समयमा ध्यान दिएर रोजगारीको अवसर प्रदान गरेमा महिला फुटबलको भविष्य राम्रो छ । राज्यको अलावा विभिन्न क्लबहरूले मोफसलका टिमहरूसँग सम्झौता गरी महिलाहरूको हौसला र उत्साह बढाउनुपर्ने धारणा उनको छ । सोमबार रौतहटको चन्द्रनिगाहपुरमा विभागीय टिम सशस्त्र प्रहरी र झापाबीच क्वार्टरफाइनल भिडन्त हुनेछ ।

बाँके क्वार्टरफाइनलमा
बारामा जारी प्रतियोगिताका खेलमा आइतबार विजयी हुँदै बाके क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बाराको सिमरामा भएको खेलमा रूपन्देहीलाई ६–० ले पाखा लगाउँदै बाकेले अन्तिम आठमा स्थान पक्का गरेको हो । बाँकेका लागि भद्रकला विक र सुमित्रा लामिछानेले समान दुई/दुई गोल गरे । त्यस्तै कप्तान नानु खत्री र लक्ष्मी थापाले पनि समान एक–एक गोल गरे ।
मध्यान्तरअघिसम्म चार गोल गरेको बाँकेले मध्यान्तरपछि दुई गोल थपेको थियो । खेल सुरु भएको ११औँ मिनेटमा भद्रकलाले गोल गरेर बाँकेलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । १९औँ मिनेटमा सुमित्राले गोल गरेर बाँकेको अग्रता दोब्बर बनाइन् । २९औँ मिनेटमा थप गोल गर्दै बाँकेलाई ३–० को स्थितिमा पुर्‍याएकी थिइन् । कप्तान नानुले फ्रि–किकमार्फत ३९औँ मिनेटमा गोल गरी बाँकेलाई मध्यान्तरअघि चार गोल अन्तरले अग्रता दिलाएकी हुन् ।
लक्ष्मीले खेलको ७५औँ मिनेटमा गोल थपेकी थिइन् । बाँकेकी डिफेन्डर हरिमाया चौधरीले लक्ष्मीलाई लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै सुमित्राले ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । मध्यान्तरअघि भद्राकलाले वन भर्सेस वनको स्थितिमा अवसर खेर फालेपछि ह्याट्रिक गर्नबाट चुकचुकाउनुपरेको थियो । लक्ष्मीको पासमा डि–बक्सबाहिरबाट लगेको बलमा भद्रकलाले गरेको फितलो प्रहार रूपन्देहीकी गोलकिपर जितु थापामागरले सजिलै नियन्त्रणमा लिएकी थिइन् । मध्यान्तरअघि गोल फर्काउन रूपन्देहीका खेलाडीले गरेको प्रयास बाँकेका डिफेन्डरले उत्कृष्ट बचाउ गरेपछि सफल हुन पाएन । रूपन्देहीकी पुष्पा थापा, कीर्ति दोङ, गंगा पौडेल र सरस्वती चौधरीका आधा दर्जन आक्रमण बाँकेका डिफेन्डरले बिफल तुल्याएका थिए ।
सेमिफाइनल प्रवेशका लागि सोमबार सिमरामा पछिल्लो संस्करणको उपविजेता नेपाल पुलिस क्लब र घरेलु टोली बाराबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया