मोहन साहनी समूहका ‘साहनी’ पक्राउ

काठमाडौं, ८ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मोहन साहनी समूहका सञ्चालक मोहन साहनीलाई पक्राउ गरेको छ । नेपाल बैंकलाई गैरकानुनी हानिनोक्सानी पुर्‍याई बैंकका कर्मचारी र अन्य कर्जावाललाई फाइदा हुनेगरी कर्जा लिएर अख्तियारका दुरूपयोग गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले निजलाई गत १३ कार्तिक ०६२ मा १० करोड ५० लाख ५१ हजार आठ सय ७१ रुपियाँ जरिबाना तोकेको थियो ।

बाँके नेपालगञ्जमा स्थायी घर भई धुम्बाराही काठमाडौं बस्ने साहनी फरार अवस्थामा रहेका थिए । निजलाई आइतबार त्रिपुरेश्वर एरियामा लुकीछिपी बसेका अवस्थामा ब्युरोले पक्राउ गरेको हो । निज साहनीलाई आइतबारै काठमाडौं जिल्ला अदालत पेस गरिएको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।
मोहन साहनीका साहनी सप्लायर्स, सरोज उड इन्डस्ट्रिज, सरोज फर्निचर्स, क्रान्ति खाद्य उद्योग, एवान एन्ड सप्लायर्स, फेयरडिल इन्टरनेसनल प्रालि, उमामहेश्वर हार्डवेयर, वेस्ट वे सेन्टर, एसेल इन्टरनेसनल प्रालि, टी एन्ड टी इन्डस्ट्रिज, साइबाबा विधा गार्मेन्टस, गोरखकाली गार्मेन्टस इन्डस्ट्रिज, बौद्ध रिकन्डिसन इन्टरप्राइजेज, युनिभर्सल एपिरल्स प्रालि, कञ्चन ट्रेड कन्सर्नलगायतका कम्पनीहरू सञ्चालनमा रहेका छन् ।
साहनीले नेपाल बैंकबाट सम्बन्धित फर्मको नाममा हाइपोथिकेसन (हाइपो), ओभर ड्राफ्ट (ओडी), पूर्व निर्यात कर्जा, ट्रस्ट रिसिप्ट कर्जा (टिआर), एडभान्स अन क्रेडिट (एओसी), प्रतीतपत्र (एलसी), धितो कर्जा लिँदा बैंकलाई हानी पुर्‍याई कर्जावालालाई गैरकानुनी लाभ पुर्‍याएको आरोप लगाइएको छ ।

प्रतिक्रिया