राष्ट्रपतिमा मुखर्जी विजयी

नयाँदिल्ली, ८ साउन । भारतमा गत शुक्रबार भएको राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल भारतीय कांग्रेसका वरिष्ठ नेता प्रणव मुखर्जी विजयी भएका छन् । राष्ट्रपति निर्वाचनका अर्का प्रत्यासी पिए संगमालाई हराउँदै उनी भारतको १३औँ राष्ट्रपति बनेका हुन् ।
विगत चार दशकदेखि राजनीतिमा सक्रिय मुखर्जीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिनुअघि डा. मनमोहन सिंह नेतृत्वको वर्तमान सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । यसअघि उनले विदेश मन्त्रालयलगायत विभिन्न महत्त्वपूर्ण ओहदामा बसेर राष्ट्रसेवा गरिसकेका छन् । राष्ट्रपतिका रूपमा मुखर्जीले २५ जुलाईमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ । वर्तमान राष्ट्रपति प्रतिभा पाटिलको कार्यकाल २४ जुलाईमा समाप्त हुँदै छ । राष्ट्रपति निर्वाचनमा विजयी भएको सार्वजनिक भएसँगै मुखर्जी निवासमा उनलाई बधाई दिन जानेको ताँती लाग्न सुरु भएको छ । प्रधानमन्त्री डा. सिंहले पत्नी गुरुशरण कौरसहित मुखर्जी निवास पुगेर बधाई दिएका छन् । कांग्रेस अध्यक्ष सोनिया गान्धीले पनि छोरो राहुल गान्धीसँग मुखर्जी निवास पुगेर बधाई ज्ञापन गरेकी छन् ।
राष्ट्रपति निर्वाचनमा संसद्का दुवै सदनका सदस्यसहित विधानसभा सदस्यले पनि मतदान गर्ने प्रावधान छ । यसपटकको निर्वाचनमा कुल चार हजार आठ सय ९६ मतदातामध्ये सात सय ७६ सांसद् र चार हजार एक सय २० विधायकले मतदान गर्ने व्यवस्था मिलाइएको थियो । बुधबार भएको निर्वाचनमा ९५ प्रतिशत मत खसेको थियो । मतगणना नियमावलीअनुसार संसद् भवनको मतपेटिका पहिले खोलिएको थियो । समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादवसहित १५ सांसदको मत विभिन्न कारण देखाउँदै खारेज गरिएको थियो । बाँकी सात सय ४८ मतमध्ये पाँच सय २७ मत मुखर्जीलाई प्राप्त भएको थियो । उनका प्रतिद्वन्द्वी संगमाले भने दुई सय ६ मत मात्र प्राप्त गरेका थिए । त्यसपछि विभिन्न राज्यका मतपेटिका खोलिँदा मुखर्जीका पक्षमा अत्यधिक मत खसेको पाइएको थियो । समाचार तयार पार्दासम्म मतगणना प्रक्रिया नसकिएकाले मुखर्जीले कुल कति मत ल्याए भन्ने थाहा हुन सकेको छैन । ७६ वर्षीय मुखर्जीले कुल मतदाताको आधाभन्दा बढी मत प्राप्त गरेको देखिएपछि भारतको समाचार एजेन्सी पिटिआईले उनी विजयी भएको समाचार प्रकाशित गरेको थियो । उनका प्रतिद्वन्द्वी संगमालाई प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टीले समर्थन गरेको थियो ।
भारतमा संसद् अवरुद्ध हुने क्रम बढेकाले र आर्थिक समस्या उत्पन्न हुन थालेकाले मुखर्जीले पूर्ववर्ती राष्ट्रप्रमुखहरूभन्दा बढी सक्रिय भूमिका खेल्नसक्ने सम्भावना रहेको धारणा केही विश्लेषकले राखेका छन् । अब मुखर्जी उपनिवेशकालीन समयमा बेलायती भइसराय लागेर तयार पारिएका तीन सय ४० कोठाको प्रासादमा सर्नेछन् । (एजेन्सी)

को हुन् प्रडउ मुखर्जी ?
ब्रिटिस भारतको बंगाल प्रान्तमा सन् १९३५ मा जन्मिएका मुखर्जी बंगाली मूलबाट भारतको राष्ट्रपति बन्ने पहिला व्यक्ति हुन् । घरेलु, विदेश तथा अर्थनीतिका ज्ञाता मुखर्जीले इतिहास र राजनीति शास्त्रमा एमएसम्म अध्ययन गरेका छन् । उनलाई वल्भरहाम्टन विश्वविद्यालयले मानार्थ विद्यावारिधिबाट विभूषित गरेको छ । त्यसैगरी, असम विश्वविद्यालयले उनलाई मानर्थ डि.लिट उपाधि प्रदान गरेको छ । शिक्षण र पत्रकारिता पेसाबाट आफ्नो ‘करियर’ सुरु गरेका मुखर्जीले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको विश्वासपात्र बनेर राजनीति सुरु गरेका थिए । राजनीतिप्रति मुखर्जीको लगन र आस्थाबाट प्रभावित भई गान्धीले उनलाई भारतीय कांग्रेस पार्टीको सदस्य बनाएकी थिइन् । साथै, गान्धीले मुखर्जीलाई सन् १९६९ मा भारतको राज्यसभा सदस्यमा मनोनीत गरेकी थिइन् । त्यसयता उनी सन् १९६९, १९७५, १९८१, १९९३ र १९९९ मा राज्यसभा सदस्यमा पुन: निर्वाचित भइसकेका छन् ।
सन् १९७३ मा इन्दिरा गान्धी प्रधानमन्त्री भएका बेला मुखर्जीले भारतका उद्योग विकास मन्त्रालयमा सहायक राज्यमन्त्रीको पद सम्हाल्ने मौका पाएका थिए । गान्धीले मुलुकमा संकटकाल लगाएर विपक्षी दललाई आक्रोशित बनाएको बेला मुखर्जीले गान्धीको ज्यादै निकट रहेर काम गरेका थिए । त्यतिबेला मुखर्जीलाई विधि, विधान र संविधानको मार्यादा नाघेर काम गरेको आरोप लगाइएको थियो । सन् १९७८ मा उनी भारतको राज्यसभामा कांग्रेसको सहायक नेता बनेका थिए । सन् १९८० मा उनी राज्यसभामा दलका नेता बनेका थिए । उनले सन् १९८२ देखि १९८४ सम्म भारतको वित्तमन्त्रीका रूपमा काम पनि गरे । कांग्रेस नेतृत्वको सरकार गठन हुँदा उनले क्याबिनेटमा उच्च हैसियत पाउँदै आएका थिए । प्रधानमन्त्री नभएका कतिपय समयमा उनले क्याबिनेट बैठकको अध्यक्षतासमेत गर्ने मौका पाएका थिए । वित्तमन्त्री हुनुपूर्व मुखर्जीले रक्षा मन्त्रालय, विदेश मन्त्रालयलगायत महत्त्वपूर्ण मन्त्रालयमा जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया