“हमामद्वारा एएफसी–खाता मनोमानी सञ्चालन”

अबुधाबी, ७ साउन । घुसखोरीको आरोपमा निलम्बनमा रहेका एसियाली फुटबल महासंघ (एएफसी) अध्यक्ष मोहम्मद बिन हमामले संस्थाको खाताबाट व्यक्तिगत रूपमा आºना परिवार र विभिन्न देश तथा संस्थाका फुटबल अधिकारीलाई लाखौँ डलर बाँडेको खुलासा भएको छ । अमेरिकी समाचार समिति एसोसिएटेड प्रेस (एपी) ले एएफसीको गोप्य रूपमा प्राप्त लेखा परीक्षण प्रतिवेदनका आधारमा यस्तो समाचार शनिबार सार्वजनिक गरेको हो । लेखा परीक्षण प्रतिवेदनको एक प्रति गोप्य रूपमा एपीलाई प्राप्त भएको हो ।
विश्व फुटबल महासंघ (फिफा) को निर्वाचनमा भोट किन्ने प्रयास गरेको आरोपमा प्राप्त आजीवन प्रतिबन्धको सजायविरुद्ध ‘कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस’ (सिएएस) मा गरेको अपिल यही साता जितेका हमामलाई एएफसीको बैंक खाताबाट पैसा झिकेर निजी प्रयोजनमा खर्च गरेको (अपचलन) अभियोगमा केही दिनअघि मात्र ३० दिनका लागि निलम्बन गरिएको छ ।
६३ वर्षीय कतारी नागरिक हमामले गरेको अपचलन बाहिर ल्याएको उक्त लेखा परीक्षण ‘इन्टरनेसनल अकाउन्टिङ फर्म फर प्राइस वाटरहाउस कुपर्स’ले गत १३ जुलाईमा गरेको थियो । एपीले उक्त लेखा परीक्षणबारे सोझै जानकारी राख्ने दुई व्यक्तिसँग कुरा गरेर समाचारको पुष्टि भएको जनाएको छ । ‘यसमा व्यापक आर्थिक अनियमितता भएको छ जसले हमामलाई फाइदा पुर्‍याएको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ । हमामले एएफसीका व्यापारिक अधिकार (कमर्सियल राइट्स)बाट व्यक्तिगत रूपमा लाखाँै डलर लिएको पनि बताइएको छ ।
छोराको हनिमुनदेखि दाँतको काम, कपाल काट्न हुँदै परिवारका सदस्यलाई पनि एएफसीको बैंक खाताबाट सोझै रकम दिएको उल्लेख छ । आफू र परिवारका लागि उक्त खाताबाट करिब सात लाख डलर झिकेर खर्च गरिएको छ । यसमा श्रीमतीका लागि एक लाख डलर, आºनै लागि खरिद गरिएको बुल्गारी घडीका लागि १० हजार डलर र छोरीको ‘कस्मेटिक डेन्टिस्ट्री’का लागि पाँच हजार डलर झिकिएको छ । एसिया, अफ्रिका र क्यारेबियन क्षेत्रका फुटबल अधिकारीलाई पनि सो बैंक खाताबाट पैसा झिकेर व्यक्तिगत रूपमा दिइएको छ । यसमा क्यारेबियन क्षेत्रका प्रभावशाली फुटबल व्यक्तित्व ज्याक वार्नरलाई २ लाख ५० हजार डलर दिएको उल्लेख छ ।
‘हमामले बैंक खाता प्रयोग गरी गरेको खर्चसहित अन्य केही पक्षलाई हेर्दा एएफसीको प्रशासकीय पक्ष कमजोर देखिएको छ । ‘एक्सटर्नल अडिटर’ले खाता प्रयोग गर्न बन्द गर भन्दा पनि हमामले खाता प्रयोग गरिरहेको देखिएको छ । यसरी हेर्दा हाम्रो प्रतिवेदनले एएफसीको बैंक खाता हमामको निजी खाताजस्तो पाइयो, यसकारण कि बैंकको रकम आºनै रकमसरह हमामले प्रयोग गरेको फेला परेको छ,’ लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा लेखा परीक्षकले विभिन्न देशमा हमामको व्यक्तिगत बैंक खाता हुँदाहँुदै उनले किन एएफसीको खाता प्रयोग गरी निजी कारोबार सञ्चालन गरे भनी प्रश्न गरिएको छ ।
यस विषयमा हमामले कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । तर, उनका अमेरिकी वकिलले यसलाई अन्तर्राष्ट्रिय फुटबलमा फर्कनबाट रोक्न हमामविरुद्ध फिफाद्वारा रचिएको षड्यन्त्र भनेका छन् । गत वर्ष हमामले फिफा अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेपछि तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटर र उनीबीच सम्बन्ध चिसो बनेको छ । यसबीचमा क्यारेबियन राष्ट्रको भ्रमणका क्रममा निर्वाचनका लागि भोट खरिद गरेको भनी आरोप खेपेका हमाम सोही मुद्दामा फिफा अध्यक्षमा लड्न नपाउँदै अन्तर्राष्ट्रिय फुटबलबाट आजीवन प्रतिबन्धित हुनुपर्‍यो ।
विज्ञापन आह्वान नगरी कमर्सियल अधिकारका रूपमा वल्र्ड स्पोटर््स ग्रुपसँग भएको सम्झौताका क्रममा हमामले व्यक्तिगत रूपमा १४ मिलियन डलर लिएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, कतारी नागरिकको स्वामित्वमा रहेको अल–जजिरा स्याटेलाइट नेटवर्कलगायत केही संस्थालाई हमामले विज्ञापन नगरी छनोट गरेर कमर्सियल अधिकार दिएका छन् ।
विभिन्न देशका फुटबल संघ अध्यक्ष र तिनका आफन्तलाई पनि हमामले पैसा बाँडेको पाइएको छ । प्रतिवेदनअनुसार एएफसीका उपाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाका छोरा गौरवलाई एक लाख डलर, फिलिपिन्सका फुटबल अधिकारी जोसे मेरी मार्टिनेजलाई ६० हजार डलर र इस्ट टिमोरका फुटबल अधिकारी फ्रान्सिस्को काल्बुआदी लेलाई ५० डलर बाँडेका छन् । मार्टिनेजको उपचारका क्रममा लागेको ११ हजार २ सय २६ डलर हमामले व्यहोरेको भेटिएको छ । प्रतिवेदनअनुसार हमामले बंगलादेशी फुटबल संघका प्रवक्तालाई २५ हजार डलर दिएको र उक्त फुटबल संघका महासचिवको क्यान्सर उपचारका क्रममा २० हजार डलर खर्चिएका थिए । हमामले ब्लाटरका लागि १४ वटा टिसर्ट सिलाउन २ हजार डलर र काफ अध्यक्षलाई सुट सिलाउन ५ हजार डलर खर्च गरेका थिए ।
एएफसीका कार्यवाहक अध्यक्ष झेङ जिलोङले हमामको विषयमा आएका सबै मुद्दाको निक्र्योल हुनुपर्ने बताएका छन् । ‘हमामका विषयमा नयाँ घटनाक्रम जे–जे देखा परेका छन्, यसले एएफसीमा अनैतिक र अनियमिततालाई ठाउँ छैन भन्ने देखाउँछ,’ बिहीबार एएफसीको कार्यसमिति बैठकमा जिलोङले भनेका थिए । एपी 

प्रतिक्रिया