एक अर्ब २४ करोड ठगी

काठमाडौं, ७ असार । सरकारले वैदेशिक रोजगार व्यवसाय मर्यादित र ठगीमुक्त बन्दै गएको बताइरहँदा आव ०६८/६९ मा मात्र एक अर्ब २४ करोड रुपियाँ बराबरको ठगीको उजुरी परेको छ । रोजगारीका लागि विदेश पठाउने भन्दै संस्थागत तथा व्यक्तिगत रूपमा झुटा कागजात बनाउने, अलपत्र पार्ने तथा रकम लिएर फरार भएको भन्दै सो आवमा एक अर्ब २३ करोड ५५ लाख ४९ हजार चार सय ६३ रुपियाँ बिगो दाबीसहित दुई हजार एक सय ९७ वटा ठगीका उजुरी वैदेशिक रोजगार विभागमा परेका हुन् ।
सरकारले यो व्यवसायलाई मर्यादित बनाउँदै लगेको तथा कानुनविपरीत काम गर्नेलाई कारबाही भइरहेको जनाए पनि एक वर्षमै एक अर्बभन्दा बढी रकम ठगी भइरहेको छ । बर्सेनि विदेशिने संख्यासँगै ठगीका घटना र उजुरी बढ्दै गएकाले सरकारी सुशासन र कारबाही प्रभावकारी नभएको सरकारी अधिकारी स्विकर्छन् ।
वैदेशिक रोजगार विभागका अनुसार सो आवमा रोजगारीमा पठाउनै भन्दै सबैभन्दा बढी व्यक्तिगत ठगी भएको छ । विभागका अनुसार सोही आर्थिक वर्षमा मात्र एक हजार तीन सय ७० वटा व्यक्तिगत ठगीका उजुरी विभागमा परेका छन् । ती उजुरीमा एक अर्ब एक करोड ६२ लाख ८२ हजार चार सय ३१ रुपियाँ बराबरको रकम ठगी भएको भन्दै विभागमा बिगो दाबी भएको छ । त्यस्तै, यो अवधिमा संस्थागत रूपमा विदेश पठाउने भन्दै २१ करोड ९२ लाख ६७ हजार ३२ रुपियाँ ठगी भएको भन्दै विगो दाबीसहित आठ सय दुईवटा उजुरी परेको विभागले जनाएको छ ।
विभागका अनुसार आव ०६८/६९ को असारमा मात्र वैदेशिक रोजगारीका नाममा व्यक्तिगत रूपमा १७ करोड २४ लाख नौ हजार चार सय २८ रुपियाँ ठगी भएको भन्दै एक सय ९७ वटा उजुरी परेका छन् । संस्थागत रूपमा भने सो महिना एक करोड ४१ लाख ९७ हजार एक सय रुपियाँ ठगी भएको छ । सो बिगो दाबीसहित असामा ७७ वटा उजुरी विभागमा परेका छन् ।
वर्षमै एक अर्ब २४ करोड बराबरको ठगी भइरहेको भए पनि फरफारक र अदालतमा उजुरी दर्ता संख्या भने न्यून छ । यसले समेत ठगीका घटाना बढ्दै गएको वैदेशिक रोजगार व्यवसायीको भनाइ छ । सो आवमा व्यक्तिगत ठगीको उजुरीमा दाबी भएको रकममध्ये चार करोड २१ लाख तीन हजार चार सय रुपियाँ फरफारक भएको छ भने संस्थागत उजुरीमा दाबी भएको रमकमध्ये २० करोड १९ लाख ४५ हजार सात सय ४४ रुपियाँ फरफारक भएको विभागले जनाएको छ ।
यस्तै, एक हजार तीन सयभन्दा बढी व्यक्तिगत उजुरी परेको सो आवमा अदालतमा भने एक सय ८८ वटा मुद्दा दायर भएका छन । ती मुद्धामा ३४ करोड ३५ लाख ५८ हजार पाँच सय ५० रुपियाँ बिगो दाबी भएको छ । संस्थागत ठगीका पनि आठवटा मुद्दा सो आवमा अदालतमा दायर भएको विभागको भनाइ छ । ती उजुरीमा ११ करोड ७९ लाख ७५ हजार एक सय ४४ रुपियाँ बिगो दाबी भएको विभागले जनाएको छ । तर, सो आवमा जम्मा तीन लाख ८४ हजार दुई सय १० जना रोजगारीका लागि विदेश गएका छन् । यो संख्या अघिल्लो आव ०६७/६८ को भन्दा ८ दशमलव ३७ प्रतिशत मात्र बढी भए पनि ठगीका घटना र उजुरीको संख्या भने बढेको हो ।
विभागले अहिले संस्थागत रूपमा भन्दा पनि व्यक्तिगत ठगी बढेकाले नियन्त्रणका प्रयास गरिरहेको विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईको भनाइ छ । उनले अहिले व्यक्तिगत रूपमा बिदेसिनेलाई कडाइ गरेको तथा सम्बन्धित मुलुकमा रहेका दूतावासको प्रमाणीकरणसमेत पेस गर्ने व्यवस्था गरेको जनाए । तर, सो आवमा पनि व्यक्तिगत रूपमा विदेश जनेको संख्या अघिल्लो आवभन्दा ७ दशमलव ८१ प्रतिशतले बढेको छ ।
विभागका अनुसार आव ०६८/६९ मा एक लाख १९ हजार आठ सय ७९ जना व्यक्तिगत रूपमा बिदेसिएका छन् । अघिल्लो आवमा एक लाख ११ हजार एक सय ९६ जना व्यक्तिगत रूपमा विदेश गएका थिए ।

प्रतिक्रिया