सफलको हेलिकोप्टर


सफल चकचक गरिरहन्थे । पढाइमा त्यति ध्यान दिँदैनथे । त्यसैले उनको पढाइ कमजोर थियो । झोलामा खेलाँना हेलिकप्टर हालेर स्कुल लैजान्थे । एकदिन उनले कक्षा चलिरहेका बेलामा हेलिकप्टर उडाइदिँदै भने, ‘हेरहेर, उड्यो है मेरो हेलिकप्टर । तिमीहरूको टाउकामा ठोक्किएला ।’ उनको हेलिकप्टर उपेन्द्रसरको अगाडि गएर खस्यो । उपेन्द्रसरको कन्सिरीका रौँ ताते । सरले सफललाई ढाडमा दुई थप्पड हान्नुभयो । सफल रुँदै लम्पसार परे । उनले रगत छादे । त्यो देखेर उपेन्द्रसरलाई डर लाग्यो । एउटा साथी साथ लगाएर सफललाई घर पठाइदिनुभयो ।
बेलुका सफल झन् बिरामी परे । ऐया ऐया भन्दै बर्बराएर बेसुरका कुरा गर्न थाले, ‘आयो आयो ऊ उपेन्द्रसर आयो । अब त्यसले मलाई ढाडमा हान्छ ।’ सफलको बुबा आत्तिनुभयो । उनका दिदीहरू पनि आत्तिए । राति झन् सफलको होसै हरायो ।
भोलिपल्ट बुबाले उनलाई काठमाडौं लैजानुभयो । सफल कान्ति बाल अस्पतालमा भर्ना भए । केही ठीक भएपछि सफललाई बुबाले घर ल्याउनुभयो । घर आएपछि उनी झन् बिरामी भए । जतिबेला पनि ‘उपेन्द्रसरले मलाई कुट्यो । आयो–आयो सर आयो’ भन्दै डराउन थाले । त्यति मात्र हो र † खाने कुरा केही नखाने, ट्वाइलेट जाँदा पनि ढल्ने हुन थाले । भाइको त्यस्तो अवस्था देखी उनका दिदीहरू समीक्षा, शशिकला पनि रुन थाले । आमा मन थामेर बस्नुभयो तर भित्रभित्र रोइरहनुभएको थियो । अस्पतालको उपचारले सफलको बिमार निको नभएपछि बुबाले भूतप्रेत मन्छाउन देवीदेउतालाई भाकल गर्न थाल्नुभयो । बेलुका जान्ने धामी ल्याएर हेराउनुभयो । धामीले अष्टकाली बुझाउनुपर्छ भनेर गयो ।
सफलका अंकल अलि टाढा व्यापार गरेर बस्नुहुन्थ्यो । उहाँ सफललाई हेर्न आउनुभयो । सफल बर्बराउँदै सुतिरहेका थिए । अंकलले प्यारो गरी सोध्नुभयो, ‘सफल, तिमीलाई के भयो † उठेर हेर त, को आएको छ ।’ तर, सफल उठ्दै उठेनन् । आºनै सुरमा कराइ मात्र रहे । त्यो देखेपछि अंकलले सफलको बुबालाई अलि पर बोलाएर भन्नुभयो, ‘सफललाई आत्तिने रोग लागेको हो । धामीझाँक्री लगाएर सफलको बिमार निको हुँदैन । छिट्टै मानसिक रोगको डाक्टरलाई देखाउनुपर्छ । यस्तो बिरामीलाई गाली गर्ने, मन दुख्ने कुरा गर्नुहुँदैन । उसले मागेको, उसको मन रमाउने कुरा दिनुपर्छ । बिरामीको अगाडि ‘तँ बिरामी छस्’ पनि भन्नुहुँदैन ।’
बुबाले सोध्नुभयो, ‘त्यस्ता डाक्टरहरू कहाँ भेटिन्छन् ? कुन अस्पताल लाँदा ठीक होला त †’ अंकलले भन्नुभयो, ‘प्राय: सबै ठूला अस्पतालहरूमा मानसिक रोगको उपचार गर्ने डाक्टर हुन्छन् । मानसिक रोग भन्नाले बौलाउने रोग मात्र हो भनेर बुझ्नुहुँदैन । डराउनु, रिस उठ्नु, झर्कनु, एकोहोरो हुनु पनि मानसिक रोग हो । सरले पिट्दा सफल आत्तियो । उसको दिमागमा असर पर्‍यो । त्यसलाई निको पार्न मनोरोग विशेषज्ञले दिएको औषधिको साथै घरायसी उपचार पनि गर्नुपर्छ ।’
बुबाले सोध्नुभयो, ‘त्यस्तो घरायसी उपचारचाहिँ के हो नि †’ अंकलले जवाफ दिनुभयो, ‘बिरामीको मनोबल बढ्ने कुरा गरिदिने, उसलाई मन पर्ने खेलौना, पुस्तक आदि दिने गर्नुपर्छ । तर, एकपटक मानसिक रोग विशेषज्ञलाई चाहिँ देखाउनै पर्छ । डाक्टरको सल्लाहअनुसार गर्नुपर्छ । तपाईं आत्तिनु पर्दैन । सफलको रोग छिट्टै निको हुन्छ । अस्पताल लगिहाल्नुपर्छ ।’ अंकलका कुराले सफलको बुबाको मन अलि हलुको भयो ।
भोलिपल्टै सफललाई बुबाले काठमाडौं लानुभयो । शिक्षण अस्पताल मानसिक रोग उपचार कक्षमा पुर्‍याउनुभयो । डाक्टरले सफललाई सोधे, ‘तिम्रो नाम के हो बाबु ?’
सफलले भने, ‘मेरो नाम सफल हो ।’ डाक्टरले भने, ‘आहा † कति राम्रो नाम रहेछ तिम्रो । तिमीलाई केही भएको छैन बाबु, किन त्यसै आत्तिएको । सरले तिमीलाई पिटेको हो ? म त्यो सरलाई गाली गरिदिन्छु है † तिमीलाई केही पनि हुँदैन । अनि तिमीलाई के पढ्न मन पर्छ ?’ सफलले भन्यो, ‘मलाई कथा मन पर्छ ।’ डाक्टरले भने, ‘ल, म तिमीलाई कथाको किताब दिन्छु । पढ है त † तिम्रो घरनजिक लाइब्रेरी पनि होला । त्यहाँ गएर कथा, कविताका अरू किताब पढ ।’ सफलले ‘हुन्छ’ भने । सफलले सोचे, ‘कस्ता असल डाक्टर रहेछन् । उपेन्द्रसर पनि यस्तै असल भएदेखि ।’ डाक्टरले बुबासँग सफलको बिमारका बारेमा निकैबेर कुराकानी गरे । तर, केही औषधि लेखिदिएनन् ।
सफल घर आएपछि अंकल फेरि उनलाई भेट्न आउनुभयो । सफललाई अंकलले बालकथा, कविताका थुप्रै किताब ल्याइदिनुभएको थियो । सफल ती किताबहरू पढ्न थाले । उनको बिमार बिस्तारै घट्दै गयो । उनको ध्यान कथा, कविताका किताबतिर गयो । उनी स्कुल पनि जान थाले । सफललाई केही भइहाल्छ कि भनेर उपेन्द्रसर डराउनुभएको थियो । सफललाई देख्नेबित्तिकै भन्नुभयो, ‘सफल, म अब तिमीलाई कहिल्यै पनि पिट्दिनँ, तिमी पनि कक्षामा हेलिकप्टर नउडाऊ है त †’ सफलले भने, ‘हुन्छ सर ।’
अहिले सफल पूरै निको भइसकेका छन् । कक्षामा हेलिकप्टर उडाउन, चकचक गर्न छाडेका छन् । स्कुलमा पढाउनेबाहेक अरू किताब पढ्दा उनको पढाइ पनि राम्रो भएको छ ।

प्रतिक्रिया