अराजनीतिक भाँडभैलो

एकीकृत नेकपा (माओवादी) को विस्तारित बैठकमा जेजस्ता घटना भए त्यसले आमजनतामा नकारात्मक सन्देश दिएको छ । १० वर्ष लामो सशस्त्र संघर्ष गरेको र पाँच वर्षअघि मात्र शान्तिप्रक्रियामा आएको एउटा सशक्त कम्युनिस्ट पार्टीमा यति छिटै यति धेरै विकृति र विसंगति भित्रिएको छ भन्ने कसैले सोचेकै थिएन । तर, अहिले सशक्त फलामे अनुशासनमा रहेको, सुदृढ संगठन भएको, निष्पक्ष, पारदर्शी र निष्कलंक ठानिएको एमाओवादी खोक्रो र आडम्बरले युक्त थियो र छ भन्ने प्रमाणित भएको छ । यो एमाओवादीका लागि मात्र होइन, राष्ट्र र जनताका लागि पनि दुर्भाग्य हो र धोका हो । किनकि यस पर्टीले राम्रा र मीठा नाराहरू अगाडि सारेको थियो । र, जनताको एउटा ठूलो समूह तिनै नाराका पछि लागेका थिए । तर, एमाओवादीले ती सबै नीति, रणनीति र नाराहरू आफ्नो कमजोर अवस्था ढाकछोप गर्नका लागि मात्र अघि सारेको थियो भन्ने अहिले प्रस्ट भएको छ । वास्तवमा जनतालाई धेरै लामो समयसम्म ढाँट्न र खोक्रोपन लुकाउन एमाओवादीले सकेन । यसका कार्यकर्ता र पूर्वलडाकुले नै यथार्थ बाहिर ल्याए र पार्टीको वास्तविक रूप जनताका सामु प्रस्तुत गरिदिए । मुलुकको संकटपूर्व अवस्थामा सशक्त हुनुपर्ने पार्टी झन् पछि झन् कमजोर र असफल बन्दै गएको देखियो । यसले सम्पूर्ण क्षेत्रलाई निराश तुल्याएको छ । एमाओवादी सबैखाले आन्तरिक समस्याबाट मुक्त हुनुपर्छ । दलहरू सुदृढ भए मात्र जाटिल समस्या पनि समाधान गर्न सहज हुने हुँदा एमाओवादीका नेताहरूले गम्भीरतापूर्वक सोच्न जरुरी छ ।
एक महिनाअघि मात्र विभाजित हुन पुगेको एमाओवादीको विस्तारित बैठकले त्यो विभाजनको ऐतिहासिक पीडामा मलम लगाउँदै कार्यकर्तामा उत्साह थप्ने ठानिएको थियो । तर, भयो त्यसको ठीक उल्टो । आफ्नै नेता र कमान्डरद्वारा शोषण, दमन र उत्पीडनमा परेका कार्यकर्ताले आवाज उठाए, नारा लगाए र न्यायको भीख मागे । उनीहरूले आफ्नै पार्टीमा मौलाएको सामन्तवादी तत्त्व, फस्टाएको शोषक शक्ति र दमनकारीको उछितो काढ्न खोजे । नेताहरूसँग ती न्याय माग्ने कार्यकर्तालाई दिन सक्ने केही बाँकी नरहेको देखियो । न पारदर्शी हुन सक्ने अवस्था छ न त राष्ट्र, राष्ट्रियता र जनताको भलो हुने काम गर्न सक्ने अवस्था नै छ । यसले माओवादी नेताहरूलाई बडो कठिन मोडमा पुर्‍याएर दोबाटोमा उभ्याएको छ । जहाँबाट अब लक्ष्यमा पुग्न अथवा लक्ष्य छुट्याएर अगाडि बढ्न गाह्रो देखिन्छ । विस्तारित बैठकमा सहभागी कार्यकर्ता एकअर्काप्रति घृणा र तिरस्कारको पोको बोकेर जिल्ला फर्किंदै छन् । गुट, सहगुट र उपगुटको अन्त्य होइन, गुटप्रति बफादार भएको सन्देश लिएर र एउटा कुनै गुटको दह्रो बिल्ला भिरेर उनीहरूले जिल्लामा आफ्नो पकड जमाउन खोज्नेछन् । जहाँ आपसको झगडाले सर्वसाधारणलाई समेत नराम्रो असर पुर्‍याउन सक्छ । यसप्रति गुटका नेताहरू बेलैमा सचेत हुनुपर्छ ।
एउटा सशक्त, दह्रो र ठूलो कम्युनिस्ट पार्टी एक महिनाअघि टुक्रियो । टुक्रिएर गएको पार्टीमा केही जडसूत्रवादी मात्र गएको भनेर संस्थापन पक्षले आफ्ना कार्यकर्तालाई घोकाउँदै थियो । तर, फेरि पनि माउ पार्टीमा अरू दुईवटा विचार समूह जिउँदै रहेको प्रस्टियो । यसले एमाओवादीनिकट भविष्यमै तीन टुक्रा हुन सक्ने प्रमाण दिएको छ । विस्तारित बैठकको अस्वस्थ वातावरणले छक्क पार्ने गरी कार्यकर्ता र नेतालाई विभाजन गरेको छ । विचार, व्यवहार र आचरणमा आमूल परिवर्तन आएपछि अहिले एमाओवादी असफल र कमजोर बन्दै गएको हो । सहयोद्धाहरूबीचमै हानाहान र मारामार हुने अवस्था आएको छ । विचार सिद्धान्तका लागि होइन, एमाओवादीमा अहिले सत्ता, शक्ति र सम्पत्तिका लागि झगडा भएको हो । एमाओवादीमा माथिदेखि तलसम्म विचलन आएको छ । अनुशासन तोडिएको छ र अराजक परिपाटी भित्रिएको छ । यो पार्टी आफ्नो सिद्धान्तबाट विचलित भएपछि कमजोर बन्दै गएको छ, जसले मुलुकले भोगिरहेको समस्या समाधानमा समेत बाधा पुर्‍याउनेछ । यसर्थ, एमाओवादी नेता, कार्यकर्ताले संयमतापूर्वक आफ्ना गल्ती, कम्जोरी सुधारेर अगाडि बढ्नुपर्छ ।

प्रतिक्रिया