भैरहवा, ७ साउन । राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक सहमति जुटाउन नसकेको बताएका छन् । उनले राजनीतिक निकास दिन प्रधानमन्त्रीले दलहरूलाई सहमतिको बाटोमा ल्याउन नसकेको बताए ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत रुपन्देहीको तामनगरमा निर्माण गरिएको कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी (केनिट) को शनिबार उद्घाटन गर्दै राष्ट्रपति डा. यादवले संविधानसभाले ९० प्रतिशत काम सक्दा पनि नयाँ संविधान दिन नसकेकामा चार दलको कमजोरी रहेको बताए ।
उनले राजनीतिक दल र सरकारको भूलको कारण संविधानसभा विघटन भएको उल्लेख गर्दै अन्तरिम संविधानमा स्पष्ट नहुँदा हिँड्न कदम चाल्न अप्ठ्यारो भएको बताए । उनले सरकारलाई अध्यादेशमार्फत धेरै काम नगर्न पनि आग्रह गरे ।
राष्ट्रपति यादवले बर्सेनि चार लाख युवा श्रमबजारको खोजीमा बिदेसिने गरेको बताउँदै टेक्निकल इन्स्टिच्युटको स्थापनाले दक्ष र सीपयुक्त जनशक्ति निर्माण हुने आशा व्यक्त गरे ।
कार्यक्रममा शिक्षामन्त्री दीनानाथ शर्माले प्राविधिक र व्यावसायिक शिक्षाको आवश्यकता भएको उल्लेख गर्दै सरकारले सोहीअनुरूप कार्ययोजना बनाउँदै गएको उल्लेख गरे । उनले विद्यालय शिक्षा मात्र पाएका गरिब तथा पिछडिएका विद्यार्थीको पनि पहुँचमा प्राविधिक शिक्षा पुर्याउनुपर्ने बताए ।
कार्यक्रममा कोइकाका अध्यक्ष पार्क डेउन तथा राजदूत किम इल्दुले नेपालसँगको सम्बन्धमा प्राविधिक शिक्षालयले थप टेवा पुर्याउने उल्लेख गरे । नेपालका १५ हजार नेपाली कोरियाको विकासमा काम गरिरहेको बताउँदै उनले नेपाल र कोरियाबीचको सम्बन्ध सुमधुर बनाइराख्नुपर्ने बताए । कार्यक्रममा सिटिइभिटीका उपाध्यक्ष गोपाल खनाल, सदस्य–सचिव डा. जयबहादुर टण्डनलगायतले बोलेका थिए ।
कोरियन शिक्षालय उद्घाटन
भैरहवा : गणतन्त्र कोरियाको सहयोगमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत रुपन्देहीको बुटवल–१४ तामनगरमा कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी (केनिट) सञ्चालनमा आएको छ ।
१५ माघ ०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको इन्स्टिच्युट निर्माणका लागि ४७ करोड रुपियाँ खर्च भएको सिटिइभिटीका सदस्य–सचिव डा. जयबहादुर टण्डनले बताए । टेक्नोलोजीमा मुख्य भवन, इलेक्ट्रिकल तथा इलोक्ट्रोनिक विभाग, अटोमोबाइल, मेकानिकल, छात्र/छात्रा होस्टेल, मल्टिपल हललगायत ११ भवन रहेको सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक डा. रमेशकुमार पौडेलले जानकारी दिए ।
टेक्नोलोजीमा इलेक्ट्रिक्स इलेक्ट्रोनिक, अटो मोबाइल र मेकानिकल विषयमा डिप्लोसम्म अध्ययन गराइनेछ । प्रत्येक विधामा प्रत्येक वर्ष ३० जनालाई अध्यापन गराइने इन्स्टिच्युटमा एसएलसी पास गरेका विद्यार्थीले भर्ना हुन पाउने व्यवस्था छ । यस वर्ष अध्ययनका लागि आठ सयभन्दा बढीले फारम भरेका छन् । (सौस)
प्रतिक्रिया