गुमनामीको गर्तबाट चर्चाको चुचुरोसम्म

दारा सिंह (मृत्यु) : २८ असार (१२ जुलाई) बिहीबार
राजेश खन्ना (मृत्यु) : ३ साउन (१८ जुलाई) बुधबार
हो, यही सत्य हो । एक साताको फरकमा भारतीय सिने नगरी बलिउडमा दुईजना अलग धारका व्यक्तित्व मास छर्न गए । उनीहरूको सुस्वास्थ्यका लागि प्रसशंक र फिल्मनगरीका अनेक मानिसले ईश्वरको पुकारा गरे तर अन्तत: कसैको केही लागेन । अनि परिणाम ? बलिउडका प्रथम ‘ही–म्यान’ दारा सिंह र रोमान्टिक औ प्रथम सुपरस्टार राजेश खन्नाले बुधबार ३ साउन (१८ जुलाई) मा सधैंका लागि आँखा चिम्ले ।
राजेश खन्नाको मृत्यु ठूलो समाचार बन्यो । आखिर नबनोस् पनि किन ? उनी हिन्दी सिने उद्योगका वास्तविक रुपमा पहिला सुपरस्टार हुन् । उनका बारेमा सन् ७० को दशकमा एउटै कुरा भनिन्थ्यो– उपर आका, नीचे काका । उनलाई सबैले माया गरेर ‘काका’ भन्थे । यसको अर्थ एउटै मात्र थियो – भगवानपछि यदि कोही छ भने त्यो हो राजेश खन्ना ।
यति मात्र होइन, राजेश खन्नाले कतिपय फिल्ममा गरेका अभिनयले गर्दा खासगरी केटीहरू उनका अनमोल दीवाना बनेका थिए । अनेक केटीहरूले उनलाई आफ्नो रगतले लेखिएका प्रेमपत्रहरू पठाउने गर्थे । अझ भनिन्छ, ती केटीहरूले उनको तस्बिर आफ्ना सामुन्ने राखेर उनीसितै विवाह गरेका थिए । यति मात्र होइन, उनी जतिखेर फिल्मको शुटिङका लागि निस्कन्थे र उनको कार शुटिङस्थलबाहिर पार्क हुन्थ्यो, केटीहरूलेले उनको कारमा चुम्बन गर्दागर्दै कारभरि लिपिस्टकको रंग पोतिएको हुन्थ्यो ।
बलिउडका फिल्म समीक्षक भन्छन्, ‘राजेश खन्ना, खासमा भन्ने हो भने, ‘उनी
भारतीय सिनेजगतका प्रथम सुपरस्टार हुन् । उनको मनमोहक मुस्कान र सम्मोहक हेराइ आफैमा एउटा किलर इफेक्ट हो ।’३ साउन (१२ जुलाई) बुधबार
दर्जनौं रोमान्टिक हिट सिनेमाहरूले गर्दा राजेश युवतीहरू माझ अत्यन्तै लोकप्रिय थिए । उनले आराधनामा गरेको ‘ड्यासिङ’ विमानचालक र ‘आनन्द’मा क्यान्सर रोगीको रुपमा गरेको भूमिका बलिउड सिने इतिहासकै सर्वाधिक स्मरणीय भूमिका मानिन्छन् । ती फिल्मका कतिपय संवाद भारतीय पप संस्कृतिको अभिन्न हिस्सामा परिणत भएका छन् ।
राजेश खन्नाले फिल्म ‘आनन्द’ मा भनेका संवाद :
१. बाबु मोशाय †
जिन्दगी और मौत ऊपरवाले के हाथ में है जहाँपनाह, जिसे न आप बदल सकते हैं और ना मैं । हम सब तो रंगमन्च की कठपुतलियाँ हैं, जिसकी डोर उपर वाले के हाथ बँधी है । कब, कौन, कैसे उठेगा, ये कोई नहीं जानता…… हा…हा…हा…हा…।
(जीवन र मृत्यु ईश्वरको हातमा छ, यसलाई न तपाईं फेर्न सक्नु हुन्छ, न म । हामी सबैजना त नाटकका कठपुतली हौं जसको धागो माथि ईश्वरको हातमा छ । कतिबेला, को, कसरी यो संसारबाट माथि अनन्तातिर जान्छ, कसैलाई थाहा छैन.. हा…हा…हा…।)
२. मौत तो एक कविता है… ।
‘मृत्यु त एउटा कविता हो….’
यस्ता अनेक कुरा राजेश खन्नाबारे चर्चामा आए र गए । तर उनी आफ्नो ठाउँमा अडिग भएर बसे । उनले केही गलत गरेको भए उनी मिडियाबाट लुक्न खोज्थे, भाग्न खोज्थे, मुख लुकाउन खोज्थे । तर यथार्थमा त्यस्तो केही भएन । राजेश यी सबैभन्दा फरक थिए । उनको एउटा ‘क्लास’ थियो, जसबाट उनी कहिल्यै तलमाथि भएनन् ।
राजेश खन्ना । खासमा पहिले उनको यो नाउँ थिएन । उनको न्वारनको नाम जतिन थियो तर पछि जतिखेर उनले बलिउडमा पस्ने निर्णय गरे, उनका काकाले उनको नाम परिवर्तन गरी राजेश खन्ना राखीदिए । उनको जन्म  २९ डिसेम्बर १९४२ मा पन्जाबको अमृतसरमा भयो । यो त्यही वर्ष थियो जतिबेला महात्मा गान्धीले ‘अंग्रेजहरू, भारत छोड’ को नारा लगाइरहेका थिए । उनका आमाबाबुबारे यकिन थाहा छैन किनभने उनलाई धर्मआमाबाबुले पाले ।
राजेश खन्ना एउटा त्यस्तो व्यक्तिको नाम हो जो गुमनामीको गर्तबाट अचानक माथि उज्यालोमा आयो र त्यसपछि सधैं त्यहाँभन्दा माथि माथि मात्र उडिरह्यो । सन् १९६५ को कुरा हो । युनाइटेड प्रोड्युसर्स र फिल्म फेयरले यंयुक्त रुपमा एउटा कार्यक्रम गरे – ट्यालेन्ट हन्ट कार्यक्रम । करिब दस हजार प्रतियोगी यसमा सहभागी थिए । सबैलाई पराजित गर्दै राजेश ‘द मोस्ट ट्यालेन्टेड’ व्यक्ति ठहरिए । लगत्तै अर्को वर्ष उनले हिन्दी सिनेमा ‘आखिरी खत’ मा नायकको भूमिका पाए । पुन: अर्को वर्ष उनलाई ‘राज’, र त्यसपछि ‘बहारो के सपने’, ‘औरत’, ‘डोली’ र ‘इत्तफाक’ आदि फिलिममा काम गर्ने अवसर जुर्‍यो । यी फिल्मले उनलाई खासै चर्चा र प्रसिद्धी दिएनन् ।
अनि आयो वर्ष सन् १९६९ । यो वर्ष उनले एउटा फिल्म पाए – आराधना । खासमा यो फिल्मको कथाभन्दा पनि यसको संगीत र गीतले यो फिल्म ‘सुपरडुपर’ हिट भयो । लगत्तै अरु चारवटा फिल्म आए– दो रास्ते, कटी पतंग, सच्चा झूठा र आनन्द । उनले सच्चा झूठा फिल्मका लागि फिल्म फेयर अवार्ड पाए । त्यसपछि पनि उनले विभिन्न फिल्महरू क्रमश: आनन्द (१९७१), हाथी मेरे साथीे (१९७१), बावर्ची (१९७२), अमर प्रेम (१९७२), नमक हराम (१९७३), प्रेम नगर (१९७४), महबूबा (१९७६), अमृत (१९८६) आदि हिट फिल्ममा काम गरे । यी वर्षहरू, खासगरी १९६९ देखि ०७६ सम्म, काका आफ्ना फिल्महरूमा लगातार छाइरहे– एउटा रोमान्टिक नायक र चुलबुले पात्रका रुपमा । तर जतिखेर सन् १९७१ मा आनन्द फिल्म रिलिज भयो, त्यसपछि क्रमश: दृश्यहरू फेरिंदै जान थाले ।
‘आनन्द’ फिल्मका लागि राजेशले सर्वश्रेष्ठ अभिनेता र अमिताभले सर्वश्रेष्ठ सहअभिनेताको पुरस्कार पाएका थिए । तर यसपछि उनीहरू दुईजना राजेश र अमिताभ केवल एकपटक फिल्म ‘नमकहराम’ मा देखा परे । अनि त्यसपछि उनीहरू कहिल्यै एकसाथ देखा परेनन् ।
बस्, समस्या यहीं छ ।
समीक्षकहरू भन्छन्, खासगरी फिल्म आनन्दपछि अमिताभ निकै सशक्त रुपमा देखा पर्न थाले । राजेश खन्नाले आफू आउनुअघिका स्टारहरू बलराज साहनी, पृथ्वीराज कपूर, दिलिप कुमार, राजकपूर, देव आनन्द आदिलाई पाखा लगाइसकेका थिए । बलिउडमा उनको एकछत्र राज थियो तर अमिताभले आनन्द र त्यसपछि जन्जीर, दीवार र अभिमान आदि फिल्म मार्फत सफलताका नयाँ कीर्तिमान कायम गर्न थाले । राजेश खन्नाले लगातार पन्ध्र फिल्म सुपरहिट दिएर एउटा कीर्तिमान कायम गरेका थिए, तर अमिताभको स्थापित सत्ता र असन्तुष्टिविरुद्ध ‘एङग्री यङ्म्यान’ को भूमिका क्रमश: स्थापित हुँदै जान थाल्यो । राजेश खन्नाको ‘स्टेरियोटाइप’ रोमान्टिक इमेज काय रहिरहन सकेन । परिणाम के भयो भने राजेश खन्ना शीर्षबाट एकपछि अर्को गर्दै खस्किन थाले र अमिताभ एकपछि अर्को माथि उक्लिन थाले ।
बलिउडका स्थापित पत्रकारहरू यहींनिर अड्किन्छन् र भन्छन्, राजेश खन्नालाई आफू यसरी सुपरस्टारडमबाट एक्कासी तल खस्कँदै गएको कुरा मान्य हुन सकेन । फलत: उनी रक्सीको कुलतमा लागे र अन्तत: त्यसैले उनलाई संसारबाट उठायो । उनलाई पछिल्लोपटक अप्रिलमा अस्पताल भर्ना गरिएको थियो– कमजोरी र थकानको समस्या बताएर । त्यसपछि उनी फेरि कहिले अस्पताल र कहिले घर गर्दै बसे र अन्तत: मुम्बईको कार्टर रोडस्थित निजी निवास ‘आर्शीवाद’ बंगलामा उनले अन्तिम सांस लिए । उनी ती नायक थिए जसले तीनपटक (क्रमश: सच्चा झूठा, आनन्द र आविष्कारका लागि) फिल्म फेयर अवार्ड पाए भने अन्य चौध फिल्मका लागि उनी त्यो पुरस्कारका लागि मनोनीत भएका थिए ।
तर अमिताभको उदय र राजेश खन्नाको पतन एकसाथ भएको जस्तो देखिन्छ । त्यहीकारण पनि बताइन्छ, उनीहरूले आनन्द र नमकहराम फिल्मपछि फेरि कहिल्यै एउटै फिल्ममा सँगै काम गरेनन् ।
भनिन्छ, राजेश खन्नालाई आफ्नो ‘स्टारडम’ खोसिएको अत्यन्तै ठूलो पीडा थियो । उनीभन्दा पहिले दिलिप कुमार, मनोज कुमार, राजेन्द्र कुमार, देवानन्द, राजकपूर आदि नायक भए पनि कोही पनि उनका अगाडि टिक्न सकेको थिएन तर अमिताभको विद्रोही छवि अचानक आम जनमानसमा अत्यन्तै लोकसिप्रय भएर आयो । अनि त क्रमश: राजेश खन्नाका फिल्म पनि एकपछि अर्को फ्लप हुँदै जान थाले ।
यही पीरले उनी रक्सीमा डुब्न थाले । उनले सन् १९७३ मा डिम्पल कपाडियासित विवाह गरे र दुई छोरीका बाबु पनि बने । भनिन्छ, अनेक युवतीले यो खबरपछि आत्महत्याको प्रयास गरेका थिए । तर उनी दस वर्ष सँगै रहेर अलग बस्न थाले । यो बीचमा उनले अन्जु महेन्द्रु र टीना मुनिम नाम भएका अभिनेत्रीसित अस्थायी प्रेम सम्बन्ध पनि गाँसे । तर अन्तिम समयमा उनलाई केवल डिम्पलले मात्र पूर्ण तन मन धन सबैले साथ दिइन् । अभिनेता ज्वाईं अक्षयकुमारले उनलाई हार्दिक सहयोग गरे र उस्तै मायालु साथ दिए ।
तर फेरि पनि यथार्थ यही हो– अब राजेश खन्ना हामीबीच छैनन् । उनी अन्नतातिर महाप्रस्थान गरे । सम्झनामा छन् त केवल उनका विशिष्ट व्यवहार, खास शैलीमा बोल्ने संवाद, खास किसिमको नृत्य शैली र हाउभाउ । उनी यिनै कुरामा आफ्ना ‘फ्यानहरू’बीच बाँचिरहने छन् । र, वातावरणमा गुन्जिरहने छन् उनका गीतहरू :
ओ  मेरे दिल के चैन
चैन आए मेरे दिल को दुआ किजिए….।

प्रतिक्रिया