भारतमा राष्ट्रपतीय निर्वाचन

नयाँदिल्ली, ५ साउन । भारतमा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको छ । भारतीय केन्द्रीय संसद् र विधानसभाका सदस्यहरूले राष्ट्रपतीय पदका लागि बिहीबार मतदान गरेका छन् ।
निर्वाचनको प्रारम्भिक नतिजाले सत्तारुढ संयुक्त प्रगतिशील गठबन्धन (युपिए) का उम्मेदवार प्रणव मुखर्जीलाई राष्ट्रपतिमा विजयी गराउने निश्चितप्राय: रहेको देखाएको छ । मतदान प्रक्रिया सम्पन्न भए पनि मतगणनाको अन्तिम परिणाम आगामी आइतबार सार्वजनिक गरिने कार्यक्रम रहेको भारतीय अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति पदका लागि सत्तारुढ कांग्रेस आईका वरिष्ठ नेता मुखर्जीसँग भारतीय लोकसभाका पूर्वसभामुख पिए संघमाले प्रतिस्पर्धा गरेका छन् । तर, मुखर्जीले साठी प्रतिशतभन्दा बढी मत ल्याउने निश्चित रहेको भारतका विभिन्न सञ्चारमाध्यमहरूको अनुमान छ । अर्का उमेदवार संघमाले भने करिब ३५ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ ।
प्रजातान्त्रिक तवरले राष्ट्रपति चुनिने भए पनि निर्वाचनमा जनताले प्रत्यक्ष मत  हाल्न भने व्यवस्था छैन । उनीहरूको सट्टा उनीहरूले चुनेर पठाएका प्रतिनिधिले मतदान गर्ने गरेका छन् । राष्ट्रपतीय निर्वाचन गराउने निर्वाचन मण्डलमा संसद्का दुवै सदन र राज्यका विधानसभाका निर्वाचित सदस्यको संलग्नता हुन्छ । केन्द्र शासित दुई प्रदेश दिल्ली र पोन्डिचरीका विधायकले पनि निर्वाचनमा भाग लिने व्यवस्था छ । अनुपातिक प्रतिनिधित्व प्रणालीका आधारमा एकल हस्तान्तरणीय मतमार्फत निर्वाचन भएको छ । निर्वाचनमा अपनाइने समानुपातिक प्रतिनिधि प्रणालीको विधिको हिसाबले हरेक भोटको आºनै मूल्य हुन्छ । संसद्को भोटको मूल्य एउटै हुन्छ । तर, विधायकको भोटको मूल्य भने उनीहरू चुनिएको राज्यको जनसंख्यामा निर्भर रहन्छ । त्यसैले यसपटकको निर्वाचनमा बढी जनसंख्या भएका राज्यका नेता मुलायम सिंह यादव, शरद पवार, ममता बनर्जी, नीतिश कुमार आदिको भूमिका महत्त्वपूर्ण रहेको विश्लेषण गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया