अध्ययनका बलमा गुरुलाई प्रसन्न बनाएर कठिन परीक्षा उत्तीर्ण गर्ने चलन थियो गुरुकुल युगमा । गुरुले पढाउन नमानेपछि उनैको मूर्तिलाई गुरु थापेर ज्ञान हासिल गर्ने अनि आफूलाई पढाउँदै नपढाएका गुरुलाई दक्षिणास्वरूप आफ्नो औँला काटेर दिने एकलव्यको दृष्टान्त पनि जीवितै छ । तर, जमाना अब उस्तो छैन । परीक्षाप्रणाली निकै फेरिइसकेको छ । सिसिटिभीको पहरेदारीभित्र रहेर ‘फेयर’ परीक्षा दिने प्रणालीमा मानिस आइपुगेको छ । वर्षभरि पढेको ज्ञानलाई तीन–चार घन्टाको अवधिमा केही पृष्ठमा उतार्ने कलाले नै सो व्यक्तिको ज्ञान मापन गर्ने अवस्था बनेको छ ।
गाउँदेखि सहरसम्मका कलेज विद्यार्थीमा परीक्षाको ‘भूत’ ले नि:सर्त ‘फ्री इन्ट्री’ मारिरहेको छ । पढाइमा कति जम्नेभन्दा पनि परीक्षामा कति जमाउने भन्ने मनोविज्ञानमा भेटिन्छन् प्राय: विद्यार्थी । अस्तव्यस्त शैक्षिक प्रणालीबीच जन्मिएको भद्रगोल परीक्षा प्रणालीबाट असल र सफल विद्यार्थी निस्केलान् कि असल मार्कसिट ? यही प्रश्नको भुमरीभित्र पनि यन्त्रवत् परीक्षा तयारीमा लागिरहेका भेटिन्छन् विद्यार्थी । जसलाई ‘परीक्षाको भूत’ले त सताइरहेको छ नै, भविष्यको चिन्ताले पनि उस्तै अँचेटिरहेको छ ।
बनेपास्थित सिद्धार्थ कलेजकी २२ वर्षीया शान्ता सापकोटालाई परीक्षाको फर्म खुल्दादेखि नै एक किसिमको डरले समाउँछ । अनि ‘लौ, अब त एक्जामको तयारी गर्नुपर्यो नि, ढिला भइसकेछ’ भन्दै पढ्न कस्सिन्छिन् । त्यसो त विद्यार्थीलाई भर्ना हुनासाथ परीक्षा दिनुपर्छ भन्ने ज्ञान त हुन्छ नै । शान्ता भन्छिन्, ‘एक्जामको फर्म नै खुलिसकेपछि त थप एक्साइटमेन्ट भइहाल्छ ।’
मदन भण्डारी मेमोरियल कलेजमा स्नातक प्रथम वर्षकी छात्रा १८ वर्षीया संघर्ष पन्तलाई पनि परीक्षा भनेपछि औधी डर लागिहाल्छ रे † परीक्षाको सूचना पाउनासाथ तयारीलाई तीव्रता दिइहाल्छिन् उनी पनि । ‘१५ गतेदेखि एक्जाम सुरु हुन्छ, हाम्रो त अझै कोर्स पनि सक्केको छैन, गाह्रै छ नि,’ संघर्षले भनिन् ।
परीक्षा तयारी गर्ने तरिका पनि आ–आफ्नै छन् विद्यार्थीका । कोही नोट पढ्छन्, कोही कोर्स बुक त कोही गाइड या गेस पेपर । पाटन संयुक्त क्याम्पसमा स्नातक तेस्रो वर्षमा पढिरहेका २४ वर्षीय दीपक घिमिरे भन्छन्– ‘म त गेस पेपर नै पढ्ने हो, किताब पढेर के साध्ये ?’ आफूले लेखेका नोट नै दोहोर्याएर पढ्दा रहेछन् शान्ता र संघर्षचाहिँ । शान्ता कम्बाइन स्टडी पनि गर्छिन् रे । तर, संघर्षलाई कम्बाइन स्टडीमाथि विश्वास लाग्दो रहेनछ । ‘पहिला एक–दुईपटक ट्राई गरिएको पनि हो तर कम्बाइनमा पढ्नेभन्दा पनि गफिने काम बढी भयो, अनि त एक्लै पढ्नै बिन्दास लाग्छ,’ उनले भनिन् ।
त्रिविअन्तर्गतको शान्ति, द्वन्द्व र विकास विषयमा स्नातकोत्तर गरिरहेका २३ वर्षीय सुमन पराजुली सेकेन्ड सेमेस्टरको परीक्षा दिने चटारोमा छन् । उनको परीक्षा तयारी पनि छुट्टै खालको छ । पढिरहेका बेला पृष्ठभूमिमा सुमधुर संगीत नभए पढेको दिमागमै छिर्दो रहेनछ सुमनलाई । बरु, एकान्तले चाहिँ डिस्टर्ब गर्छ भन्छन्, ‘विषय मिल्ने साथीसँग गफ गर्दै पढ्न रमाइलो, रटान दिएर पढ्न सकिन्न ।’ उनलाई परीक्षाकै भूतले नसताए पनि परीक्षाहलमा कसरी समयको व्यवस्थापन गर्ने भन्ने तनाब चैँ हुँदो रहेछ । ‘हाम्रो पढाइलाई सीमित घन्टामा उतार्नुपर्ने हुन्छ, लेख्नुपर्ने कुरा धेरै हुन्छ, कुन लेख्ने कुन नलेख्ने, टेन्सनै हुन्छ नि,’ सुमनले गुनासो गरे ।
परीक्षा हलभित्रका निश्चित मर्यादा र नियमका बीच पनि अनेक अवरोध झेलिरहेका हुन्छन् परीक्षार्थी विद्यार्थीहरू । कसैले खसुक्क चिट चोरिरहेको हुन्छ त कसैले कोट्याएर ‘ए यस्को यान्सर भन्न’ भनेर सोधिरहेको हुन्छ । संघर्ष भन्छिन्, ‘आफैँले लेख्न भ्याइरहेको होइन्न, साथीलाई सिकाउँदा तनाब नै हुन्छ ।’ सुमन थप्छन्, ‘अलिकति हेल्प गर्नाले उसलाई ठूलो महत्त्व भइरहेको हुन्छ तर आफूले एकसुरमा लेखिरहेका बेला डिस्टर्ब त भइहाल्छ ।’ आफूले एकपटक चिट चोरको र त्यो बेला खुब डर लागेको सम्झन्छन् दीपक । ‘तर एकदम बाठो बनेर चिट चोरेकाले परीक्षकले पक्रन सकेनन्,’ दीपकले हाँस्दै भने ।
परीक्षा सकेपछि महिनौँसम्म रिजल्ट कुर्नु विद्यार्थीको नियति नै बनेको छ । कुर्नुपर्दाको पट्यार त छ नै, सँगसँगै के हुने होला भन्ने डरले पनि सताइरहेको हुन्छ । शान्तालाई परीक्षा आइरहेको बेलामा भन्दा पनि रिजल्ट कुर्दाको समयमा धेरै डर लाग्छ रे । सुमन भने परीक्षा अवधिभरमा लिइरहेको ‘स्ट्रेस’लाई परीक्षा सकिनासाथ बिसाउन साथीसँग रमाइलो गर्दा रहेछन् । वर्तमान परीक्षा प्रणाली र विश्वविद्यालयको अस्तव्यस्त शैक्षिक क्यालेन्डरप्रति यी विद्यार्थी पनि असन्तुष्ट छन् । कस्तो छ त उनीहरूको धारणा ? संघर्ष भनिहाल्छिन्– ‘वाहियात ।’ अनि सुमन थप्छन्, ‘बकवास’ ।
परीक्षालाई विद्यार्थीले ‘भूत’का रूपमा लिनुपर्नामा शैक्षिक प्रणालीले पारेको मनोवैज्ञानिक प्रभावले पनि काम गरेको हुन सक्छ । विद्यार्थीकै धारणाअनुसार शैक्षिक प्रणाली नै भरपर्दाे नहुँदा परीक्षा सधैँभरि त्रासद पक्ष बनेर आइपुग्छ । मार्कसिट मात्र असल आउँदैमा विद्यार्थी पनि असल नै आउँछ भन्ने धारणाप्रति आमविद्यार्थी चर्को मतभेद राख्छन् । त्यसैले उनीहरू माग गर्छन्, वैज्ञानिक शैक्षिक अनि परीक्षा प्रणालीको ।
प्रतिक्रिया